पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-२, खेजिनिममा गए राति पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ।
फक्ताङलुङ-२ का वडाध्यक्ष भूपेन्द्र चौलागाईंका अनुसार पहिरोमा पुरिएर खेजिनिमका ६९ वर्षीय रामबहादुर लिम्बू, उनकी श्रीमती जसमाय र छोरीहरू नौ वर्षीया गंगा र जमुनाको मृत्यु भएको हो।
यस्तै, पहिरोमा पुरिएरै दुई जना घाइते भएका छन्। ४० वर्षीया युगेन लिम्बू र उनकी तीन वर्षीया छोरी घाइते भएका छन्।
बुधबार रातिदेखिको अविरल वर्षासँगै आएको बाढीले फक्ताङलुङ गाउँपालिका क्षेत्रमा ६ वटा पुल बगाएको छ। पुल बगेपछि यातायातका साधन सञ्चालनमा समस्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।