हङकङबाट इच्छा विपरीत फर्काइँदै छन् नेपाली युवा
पाँच नेपाली युवामध्ये एक जना जबर्जस्ती नेपाल फर्काइँदै छन् जसमध्ये युवतीको संख्या बढी छ।
हङकङमा बसोबास गरिरहेका पाँच नेपाली युवामध्ये एक जनालाई तिनका अभिभावकले जबर्जस्ती नेपाल फर्काइरहेको एक गैरसरकारी संस्थाको अध्ययनले जनाएको छ। यस्तो अभ्यासले अल्पसंख्यक जनजाति समुदायका विद्यार्थीको संख्या चिन्ताजनक रूपमा घटिरहेकोमा उक्त संस्थाले चासो जनाएको छ।
हङकङ शहरमा अल्पसंख्यक जनजाति समुदायको समान अधिकार र सम्मिलनमा काम गरिरहेको गैरसरकारी संस्था ‘हङकङ युनिसन’ ले गत अप्रिल र मे महीनामा २६८ जना नेपाली युवाबीच एक अध्ययन गरेको थियो। उक्त अध्ययनका क्रममा ५० जना युवालाई तिनका अभिभावकले नेपाल फर्किन बाध्य पारेको युनिसनका कार्यकारी निर्देशक जोन त्सेले बताए। सर्वेक्षणमा सहभागी गराइएका युवाको औसत उमेर २२ छ।
“यो समस्याको आकार दिक्कलाग्दो छ, पाँचमध्ये एक जना त्यसरी फर्काइँदै छन् जुन सानो संख्या होइन,” त्सले भने।
सर्वेक्षणमा सहभागीमध्ये ४० प्रतिशतले पारिवारिक समस्या र आर्थिक कठिनाइका कारण नेपाल फर्किन बाध्य पारिएको जानकारी दिएको त्सेले बताए। खासगरी सन्तानको शिक्षामा लाग्ने खर्च जुटाउन अभिभावकलाई सकस परिरहेको छ।
त्सेका अनुसार धेरैजसो नेपाली युवती चाहिं तिनको प्रेमसम्बन्धका कारण फर्काइएका छन्। “करीब १५ प्रतिशतजसो नेपाली युवतीलाई नेपालमै बिहे गर्न जबर्जस्ती गरिएको छ,” उनले थपे।
त्सले एक जना १८ वर्षीय किशोरीलाई प्रेमसम्बन्धकै कारण नेपाल फर्काइएको घटना सुनाए। “वर्षौंसम्म आफ्ना अभिभावकलाई कर गरेपछि मात्रै उनी हङकङ फर्किन पाइन्, हामीले कुरा गर्दा उनी २४ वर्षकी विश्वविद्यालयकी विद्यार्थी थिइन्,” उनले भने, “आफूलाई नेपाल पठाइएकोमा उनी एकदमै दु:खी थिइन्। उनको पढाइ केही वर्ष ढिलो पनि भयो।”
हङकङमै जन्मिएकी २६ वर्षीया नेपाली युवती एलिजा लिम्बूका अनुसार केही अभिभावकलाई आफ्ना छोरीहरूले विद्यार्थी जीवनमै प्रेमसम्बन्ध शुरू गरेको चित्त बुझ्दैन। “नेपाली समुदाय नजिक नजिक बस्ने भएकाले युवायुवती सँगै हिंडेको देखे कुरा काट्न शुरू भइहाल्छ,” उनले भनिन्, “जसले तिनका अभिभावकलाई आक्रोशित बनाउँछ अनि उनीहरू छोरीलाई नेपाल पठाउन लाग्छन्।”
त्सेका अनुसार नेपाली युवालाई नेपाल फर्काउने अर्को मुख्य कारण लागूऔषध सेवन पनि हो। सर्वेक्षणमा सहभागी बनाइएका युवामध्ये १२.६ प्रतिशतले अर्थात् १०० मा करीब १३ जनाले लागूऔषध सेवन गर्ने गरेको स्विकारेका थिए।
त्यस्तै, ७० प्रतिशतले हङकङका नेपालीमाझ लागूऔषध ठूलो समस्या भएको स्विकारेका थिए। सर्वेक्षणमा सहभागी गराइएकामध्ये लागूऔषध सेवन गर्ने सबैभन्दा कम उमेरका १२ वर्षका किशोर रहेको फेला परेको बताउँदै त्सेले औसतमा १७ प्रतिशतले पहिलो पटक लागूऔषध सेवन गर्ने गरेको बताए।
त्सेका अनुसार हङकङका नेपाली विद्यार्थीले बीचैमा कलेज छोड्ने दर ७.१ प्रतिशत छ, जबकि सिंगो शहरका विद्यार्थीको दर जम्मा ०.४ प्रतिशत छ। यो असमानता डरलाग्दो भएको उनले व्याख्या गरे।
धेरै युवा नेपाल फर्काइँदा असन्तुष्ट भए पनि केही भने आफ्ना अभिभावकले त्यहाँ गरेको दुःख बुझ्न पाउँदा खुशी पनि भएको उनले बताए। साथै, उनले हङकङ सरकारले कठिनाइबाट गुज्रिरहेका नेपाली परिवारलाई अल्पकालीन आर्थिक सहयोग दिए महँगो शिक्षाका कारण आफ्ना सन्तान नेपाल पठाउन रोकिने पनि सुझाए।
“तर आफ्ना सन्तानको जीवनको छनोटप्रति असहमति भएकै कारण फर्काउनबाट रोक्न दीर्घकालीन मूल्य प्रणालीमै परिवर्तन ल्याउन जरूरी छ,” उनले भने, “नेपाली युवाले पनि आफ्ना अभिभावकसँग असहमति जनाउन सक्ने गरी आफूलाई सक्षम बनाउन सिक्नुपर्छ र सचेतना अभियानको पनि आवश्यकता छ।”
सन् २०२१ को तथ्यांक अनुसार करीब २९ हजार ७०० नेपाली हङकङमा बसोबास गरिरहेछन्। फिलिपेली, इन्डोनेशियाली र भारतीयपछि नेपाली समुदाय चौथो ठूलो अल्पसंख्यक जातीय समुदाय हो। उक्त तथ्यांक अनुसार नेपाली समुदायमा २४ वर्षभन्दा कम उमेर समूहका करीब ३१.६ प्रतिशत छन्।
(हङकङ फ्री प्रेसमा पहिलो पटक प्रकाशित यो समाचार ग्लोबल प्रेसबाट अनुवाद गरिएको हो।)