इन्स्पेक्टर विरुद्धको नाबालिका बलात्कार मुद्दा: परिवारबाटै ढाकछोप, ‘होस्टाइल’ बन्ने जोखिम
तीन वर्षदेखि बालिकालाई बलात्कार गरेको अभियोग लागेका प्रहरी निरीक्षक विदुर सिवाकोटी विरुद्धको कानूनी लडाइँमा पीडितको परिवार नै बाधक देखिएको छ।
जेठ २३ गते साँझ करीब ६ बजेको थियो, बाल अधिकारकर्मी प्रविन सिलवाललाई अपरिचित नम्बरबाट फोन आयो। फोनमा एक बालिकाले बिलौना गरिन्, “काम गर्न बसेको घरमा ममाथि बलात्कार हुँदै आएको छ। अब यो घरमा बस्न सक्दिनँ। यहाँबाट मलाई उद्धार गरिदिनुहोस्।”
बालिकाले आफूले आश्रय लिइरहेको घरका मालिकले अघिल्लो रात पनि त्यस्तो प्रयास गरेको र आफू मुश्किलले जोगिएको बताइन्। उनी थिइन्, १३ वर्षीया ‘स्वयम्भू ३२’। बालिकाका तर्फबाट पीडक विरुद्ध जाहेरी दिंदा गोपनीयताका लागि राखिएको नाम हो यो। उनलाई तीन वर्षयता यौनशोषण गर्ने व्यक्ति हुन्, नेपाल प्रहरीका बहालवाला इन्स्पेक्टर (प्रहरी निरीक्षक) विदुर सिवाकोटी। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवनमा कार्यरत उनले आफ्नो घरमा नाबालिकालाई अपराध कर्म गर्दै आएका थिए।
काठमाडौं महानगरपालिकाले नगर क्षेत्रभित्रका सामुदायिक विद्यालयमा पढ्ने श्रमिक बालबालिकामध्ये उच्च जोखिममा रहेकालाई उद्धार गर्न चलाएको अभियानका क्रममा पीडित बालिकाको भोगाइ उजागर भएको हो। सचेतना कार्यक्रम लिएर विद्यालय जाँदा महानगरका प्रतिनिधिहरूले श्रमिक बालबालिका कसैले हिंसा र दुर्व्यवहार भोगेको भए खबर गर्न भन्दै फोन नम्बर दिएर गएका थिए। यसै क्रममा तीन वर्षयता बलात्कारको शिकार हुँदै आएकी कक्षा ८ मा पढ्ने ती बालिका महानगरका बाल अधिकार समिति सदस्य सिलवालको सम्पर्कमा आएकी हुन्।
बालिकाले उद्धारको याचना गरेकै रात उनको उद्धार गरेर काठमाडौं महानगरपालिकाको समन्वयमा गैरसरकारी संस्थाको संरक्षणमा राखिएको छ। यस्तै, नाबालिका बलात्कारको आरोप लागेका सिवाकोटी जेठ २३ गते पक्राउ परिसकेका छन्। उनलाई अदालतबाट म्याद थप गराएर हिरासतमा राखी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। उनी निलम्बनमा समेत परेका छन् ।
न्यायको लडाइँमा परिवार नै बाधक
रौतहट स्थायी घर भएकी ‘स्वयम्भू ३२’ काठमाडौंको नागार्जुन नगरपालिका-१ मा रहेको सिवाकोटीको घरमा आठ वर्षदेखि बस्दै आएकी थिइन्। उनी सहित धेरै सन्तानको पालनपोषण गर्न कठिनाइ भोगिरहेको गरीब परिवारलाई सिवाकोटी परिवारले आफ्नै छोरी सरह पाल्ने र राम्रो शिक्षादीक्षा दिने भन्दै ५ वर्षकै उमेरमा २०७३ सालमा काठमाडौं ल्याएको थियो।
सिवाकोटीको घरमा उनकी श्रीमती र एक छोरा छन्। त्यो घरमा बस्न थालेको केही वर्ष त बालिकाले राम्रै व्यवहार पाइन्। उमेर बढ्दै जाँदा उनी घरेलु बालश्रमिक बन्न पुगिन्। उनलाई सरकारी विद्यालयमा भर्ना गरिएको थियो। स्कूल जानुअघि र फर्केपछिको समयमा घरको काम गर्थिन्।
बालश्रम त गरिरहेकै थिइन्, समयसँगै बालिकाको जीवनमा झनै कहालीलाग्दो अवस्था आयो। हिमालखबरसँगको कुराकानीमा उनले बताए अनुसार घर मालिक सिवाकोटीले यौनशोषण गर्न थाले। शोषणको शृंखला तीन वर्षयता चलिरह्यो।
बालिकाका अनुसार घरमा श्रीमती नभएको मौका छोपेर सिवाकोटी उनको कोठामा आउँथे। धेरै पटक ढोकाको चुकुल नखोलेर उनले आफूलाई जोगाइन्, तर सधैं यसरी जोगिन सकिनन्। ढोका नखोल्दा सिवाकोटीले पछि चर्को गाली गर्ने मात्र हैन, कुटपिट पनि गर्थे।
उनले यो दर्दनाक भोगाइ आफ्नो परिवारलाई नसुनाएकी होइनन्। तर अभिभावकले खासै चासो दिएनन्। “बाआमाले जेजस्तो भए पनि त्यहीं बस्नू भन्नुहुन्थ्यो,” उनले भनिन्।
जन्म दिने बुबाआमाले गरेको बेवास्ता र जाने कुनै ठाउँ नहुँदा उनी एकपछि अर्को शोषण खप्दै त्यही घरमा बसिरहिन्। विद्यालयमै काठमाडौं महानगरका प्रतिनिधि पुगेर हिंसा र शोषणबारे खुलेर भन्न आँट दिएपछि मात्रै उनले भोगेको बाल यौन दुराचार सार्वजनिक भयो।
‘स्वयम्भू ३२’ को सिंगो परिवार सिवाकोटी र उनको नातेदारसँग आश्रित छन्। बालिकाका बुबा, आमा र दिदी हेटौंडास्थित उनकै ससुरालीमा बस्छन्। यसले नाबालिका बलात्कारको यो गम्भीर मुद्दा कमजोर बनाउन पीडक पक्षबाट प्रत्यक्ष रूपमा दबाब र प्रभाव आउन सक्ने जोखिम देखिन्छ। सिवाकोटीलाई पक्राउ गरेको भोलि पल्ट उनी विरुद्ध जाहेरी दर्ता गर्ने वेला देखिएको घटनाक्रमले पनि त्यसको संकेत गर्छ।
काठमाडौं महानगरपालिकाका प्रतिनिधिका अनुसार जाहेरी हाल्ने दिन बालिकाका बुबाआमा पनि प्रहरी कार्यालय आएका थिए। तर उनीहरूले जाहेरी दिन मानेनन्। त्यसपछि महानगरकी एक प्रतिनिधिले ‘स्वयम्भू ३२ ग’ नामबाट सिवाकोटी विरुद्ध जबर्जस्ती करणीको जाहेरी दिइन्। “बालिकाले आफूमाथि जबर्जस्ती करणी भएको भनिरहँदा उनका बुबाआमाले कुरा सुन्नै चाहेनन्,” ‘स्वयम्भू ३२ ग’ भन्छिन्, “बालिकाका बुबा त सिवाकोटी आफ्नो भाइ जस्तो भएको र उनले यस्तो काम गर्नै नसक्ने भन्दै जंगिए। अचेलका आइमाईले केटा मान्छे फसाउने गरेको भन्दै छोरीसँग उल्टै रिसाए।”
उनका अनुसार छोरीलाई जाहेरी नदिई लैजान पाउनुपर्छ भन्दै बुबाआमाले जोडबल गरेका थिए। बालिकाको पूरै परिवार पीडकको परिवारमा आश्रित भएकाले पीडितलाई होस्टाइल बनाएर यो मुद्दा कमजोर पार्न कोशिश हुन सक्ने उनी बताउँछिन्।
बचाउमा प्रहरीको दौडधूप
जाहेरी दिने दिन सिवाकोटीसँगै कार्यरत प्रहरीहरू पनि उनको बचाउका लागि प्रहरी कार्यालय पुगेका थिए। उनीहरूले ‘सिवाकोटीले गलत काम गर्न सक्दैनन्’ भन्दै जाहेरीकर्ता पक्षसँग तर्क गरेका थिए।
महानगरका एक प्रतिनिधिका अनुसार सिवाकोटी कार्यरत काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी (प्रहरी नायब उपरीक्षक) रोशन खड्काले यस्तो केस लड्नु हुन्न भनेका थिए। “यदि यो नानीको केस बलात्कार प्रमाणित भएन भने तपाईं के गर्नुहुन्छ भनेर मलाई प्रश्न गर्नुभयो,” ती प्रतिनिधि भन्छन्।
हिमालखबरको जिज्ञासामा डीएसपी खड्काले प्रहरी निरीक्षक सिवाकोटीलाई भेट्न गएको स्विकारे। तर पीडित पक्षसँग कुरा नगरेको उनको भनाइ छ। “हामी एकै कार्यालयको एउटै पिलरमा काम गर्ने सहकर्मी हौं। सहकर्मीलाई आरोप लाग्दा आधिकारिक रूपमा होस् या व्यक्तिगत रूपमा होस् भेट्न गइन्छ, तर मैले पीडित पक्षसँग कुराकानी गरेको छैन,” उनले भने।
महानगरका प्रतिनिधिका अनुसार काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीकी डीएसपी कोपिला चुडाल पनि बर्दीमै त्यहाँ पुगेकी थिइन्। चुडालले पीडित बालिका र आरोपित सिवाकोटीकी श्रीमतीलाई एकै ठाउँ राखेर ‘तिमीलाई कसरी करणी गर्नुभयो’ भनेर पटक पटक सोधेकी थिइन्।
“महिला प्रहरीले त झन् संवेदनशील भएर बोल्नुपर्ने हो, तर उहाँले त बालिकालाई असर पर्ने गरी सोध्नुभयो,” ती प्रतिनिधि भन्छन्, “यस घटनाबारे शुरूदेखि थाहा पाउने व्यक्ति ल्याउनुस् भनेर हामीलाई पनि भनेको भन्यै गर्नुभयो।”
चुडाल आफू प्रहरी कार्यालयबाट आधिकारिक रूपमा घटनाबारे जानकारी लिन गएको बताउँछिन्। बालिकासँग आफूले नसोधेको पनि उनको भनाइ छ। “घटना कसरी उजागर भयो भनेर बुझ्न म त्यहाँ गएकी थिएँ,” उनी भन्छिन्, “महानगरका प्रतिनिधिहरूले घटनाबारे बालिकाको अगाडि नसोध्नू भन्नुभयो, तर यो त बालिकाको संवेदनशीलतामा असर पर्ने कुरै होइन।”
अभियुक्त प्रहरी भएको कारण आफूलाई उनकै मान्छे हुन् कि भन्ने कोणबाट पीडित पक्षले सोचेको चुडालको भनाइ छ।
काठमाडौं महानगरपालिकाका बाल कल्याण अधिकारी शान्ता पहाडी पीडक पक्षले पीडित पक्षलाई सहजै प्रभाव पार्न सक्ने यस्तो मुद्दामा निकै चुनौती हुने बताउँछिन्। “पीडितको परिवार नै पीडकको नातेदारसँग आश्रित भएका कारण प्रलोभनमा पार्न खोज्ने धेरै सम्भावना हुन्छ। तर बालिकाले शोषणको विरुद्ध बोलिरहेकी छन्। उनले न्याय पाउँछिन् भन्ने विश्वास छ,” उनी भन्छिन्।