जसपामा चुनाव नहुने, सहमतिमै नेतृत्व टुंग्याइने
जनता समाजवादी पार्टी (जसपा), नेपालको जारी महाधिवेशनमा चुनाव नगरी सहमतिमै नयाँ नेतृत्व टुंगो लगाइने भएको छ।
जसपा, नेपालको नयाँ नेतृत्वका लागि बुधबार उम्मेदवारी दर्ताको कार्यतालिका थियो। अध्यक्षमा उपेन्द्र यादवको मात्रै उम्मेदवारी परेको थियो। उनी निर्विरोध अध्यक्ष निर्वाचित भइसकेका छन्।
सहअध्यक्ष सहित अन्य पदमा ३७२ जनाको उम्मेदवारी परेको थियो। त्यसका लागि आज मतदानको कार्यक्रम तय गरिएको थियो। तर अन्तिम समयमा चुनाव नगरी सहमतिकै आधारमा नेतृत्व चयन गर्ने निर्णय गरिएको छ।
अध्यक्ष बाहेकका पदमा सहमतिमै टुंगो लगाउने निर्णय भएको जसपा नेपालका प्रवक्ता मनीष सुमनले बताए। “अध्यक्षजीले सहमति गर्नुको विकल्प नरहेकाले सहमतिमै टीम बनाउनका लागि अनुमति माग्नुभयो। प्रतिनिधिहरूले ताली पिटेर अनुमति दिएका छन्,” सुमनले भने।
अध्यक्ष यादवको आग्रहमा सबै उम्मेदवारले उम्मेदवारी त्यागेको घोषणा गरेको प्रवक्ता सुमनले बताए। सहमतिमा नेतृत्व चयनका लागि यादवलाई नै जिम्मा दिइएको छ। “अध्यक्षजीले समावेशी टीम निर्माण गर्नुहुन्छ,” सुमनले भने।
महाधिवेशन केन्द्रीय निर्वाचन समितिका अनुसार २०१ केन्द्रीय सदस्य र २० पदाधिकारीका लागि ३७२ उम्मेदवारी परेको थियो।
यो पनि पढ्नुहोस् : उपेन्द्र यादव : सदैव पार्टी केन्द्रमा