थोराङ्लामा लेक लागेर एक पदयात्रीको मृत्यु
मनाङको मनाङ ङिस्याङ गाउँपालिका-८ स्थित थोराङ्ला पार गर्ने क्रममा एक पदयात्रीको लेक लागेर मृत्यु भएको छ।
धादिङको गंगाजमुना गाउँपालिका-५, फूलखर्कका हरि अधिकारीको बुधबार थोराङ्ला पार गर्ने क्रममा ज्यान गएको मनाङका प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले बताए। अन्नपूर्ण पदमार्ग अन्तर्गतको पाँच हजार ४१६ मिटर उचाइमा अवस्थित थोराङ्ला पार गर्ने क्रममा अधिकारीलाई लेक लागेको थियो।
प्रमुख जिल्ला अधिकारी लामिछानेका अनुसार उनी पदयात्राका क्रममा बिरामी परेका थिए। थोराङ्लामा मृत्यु भएका अधिकारीको शव हेलिकोप्टर मार्फत काठमाडौं पठाइएको उनले बताए।