देशका अधिकांश वडामा छैन दमकल, चिकित्सक र पुस्तकालय सुविधा
देशका अधिकांश वडामा दमकल, चिकित्सक, पुस्तकालय जस्ता सुविधा नपुगेको तथ्यांकले देखाएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय जनगणना, २०७८ अन्तर्गतको नयाँ प्रतिवेदनले समाज कल्याणसँग सम्बन्धित सुविधाहरू देशका अधिकांश वडामा कमजोर स्थितिमा रहेको देखाएको छ। प्रतिवेदनका अनुसार देशका २२ प्रतिशत वडामा मात्रै पाँच किलोमिटर दूरीभित्र दमकल सुविधा उपलब्ध छ। दमकल सुविधा नहुँदा हिउँदमा देशका कैयौं बस्तीमा लाग्ने आगो निभाउन कठिन हुने गरेको छ।
त्यस्तै, देशका २६.७ प्रतिशत वडामा मात्रै आधा घण्टाभित्र एमबीबीएस सरह अध्ययन गरेका चिकित्सक उपलब्ध छन्। यसले अधिकांश वडामा दक्ष चिकित्सकको सुविधा नरहेको संकेत गर्छ।
त्यसैगरी, देशका वडामध्ये १९.६ प्रतिशतमा मात्रै आधा घण्टाभित्र पुस्तकालय सुविधा उपलब्ध छ। यद्यपि २२ प्रतिशत वडामा आधा घण्टाको दूरीमा ब्यांक तथा वित्तीय संस्थाको सुविधा छ। प्रतिवेदनले ३२.५ प्रतिशत वडामा मात्रै आधा घण्टाको दूरीमा बाल उद्यान, खेल मैदान र पार्क रहेको उल्लेख गरेको छ।
जनगणनाको नयाँ प्रतिवेदनले ३०.५ प्रतिशत वडामा मात्रै हाटबजारको सुविधा रहेको, २२.६ प्रतिशत वडामा मात्रै कृषि उपजको संकलन केन्द्र रहेको देखाएको छ। यद्यपि ७३.७ प्रतिशत वडामा सहकारी संस्था रहेको देखिएको छ।
देशभरिका ६९.४ प्रतिशत वडामा वर्षैभरि सञ्चालन हुने सडक छ। ६६.६ प्रतिशत वडामा आधा घण्टाको दूरीभित्र सार्वजनिक यातायातको पहुँच उपलब्ध छ भने ५४.४ प्रतिशत वडामा कालोपत्रे सडक रहेको पनि प्रतिवेदनले उल्लेख गरेको छ।
प्रतिवेदनका अनुसार नेपालका ६९ प्रतिशत वडा कार्यालयको आफ्नै भवन छ।