उपेन्द्र यादव : सदैव पार्टी केन्द्रमा
गैरसरकारी संस्थादेखि राजनीतिक दल बनेयताको साढे दुई दशकको अवधिमा उपेन्द्र यादव आबद्ध तथा उनले नेतृत्व गरेको पार्टीको संख्या पाँच पुगिसकेको छ।
व्यवस्था परिवर्तनका लागि २०६२/६३ सालमा भएको जनआन्दोलनमा उपेन्द्र यादव खासै परिचित नाम थिएन। आन्दोलनपछि अन्तरिम संविधान निर्माण भएसँगै मधेशमा विरोध शुरू भयो। त्यसको नेतृत्व गरेका थिए, यादवले।
उनी मधेश आन्दोलनबाट चर्चामा मात्रै आएनन्, राजनीतिमा पनि उदाए। उनको नेतृत्वमा रहेको गैरसरकारी संस्था मधेशी जनअधिकार फोरमले आन्दोलनको शुरूआत गर्यो। २०५४ सालमा स्थापना गरिएको फोरमलाई पनि आन्दोलनले मधेशमा यति लोकप्रिय बनायो कि अध्यक्ष यादवले त्यसैलाई राजनीतिक दलमा परिणत गरे।
मधेश आन्दोलनकै आलोकमा यादव गैससकर्मीबाट एकाएक नेताका रूपमा स्थापित भए। मधेशी जनअधिकार फोरम गैससबाट राजनीतिक दलका रूपमा निर्वाचन आयोगमा दर्ता भयो।
लगत्तै २०६४ सालमा भएको संविधानसभा निर्वाचनमा फोरम पनि सहभागी भयो। निर्वाचनमा उसले अनपेक्षित नतीजा निकाल्यो। संविधानसभामा ५२ सीट जितेर चौथो ठूलो दलका रूपमा स्थापित भयो। यादव मधेशबाट राष्ट्रिय राजनीतिमा दखल दिने नेताका रूपमा उदाए।
त्यसपछि भने सत्ताको खिचातानी शुरू भयो। पार्टी विभाजनको क्रम चल्यो। तथापि यादवले अध्यक्षबाट विमुख हुनु परेन। जसले नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठाए, उनीहरूलाई यादवले पार्टीभित्र कमजोर बनाएर आफ्नो नेतृत्व स्विकार्न बाध्य बनाए। सहन नसक्ने नेता नयाँ पार्टी गठन गर्दै अलग भए।
पछिल्लो पटक २०७५ सालमा आएर जनता समाजवादी पार्टी मधेशको बलियो दलका रूपमा उभिएको थियो। नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष बाबुराम भट्टराई, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर लगायत नेता पनि उनीसँगै थिए। तर उनीहरूबीचको सहकार्य धेरै दिन चल्न सकेन। यादवसँग छुट्टिएर ठाकुरले लोसपा बनाए भने भट्टराईले नेसपा।
त्यस्तै, पछिल्लो पटक अशोक राई पनि अलग भएका छन्। राईले जसपा गठन गरेका छन्। राईको नेतृत्वमा प्रभावशाली नेताहरू अलग भएपछि यस पटक पनि यादवलाई टक्कर दिने कोही भएन। उनी निर्विरोध रूपमा फेरि अध्यक्ष निर्वाचित भएका छन्।
यादवको राजनीतिक यात्रा भने २०३२ सालतिरै शुरू भएको हो। त्यति वेला झापा आन्दोलनको उभारले छोपेको थियो। उनी पुष्पलाल समूहको अनेरास्ववियुमा क्रियाशील थिए। त्यति वेला राजनीतिमा लाग्न उत्प्रेरित गर्ने तत्त्व भने गरीब र विपन्न वर्गलाई उठाउनुपर्छ भन्ने चेतना थियो।
यादवले २०३५ सालमा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठबाट पार्टीको सदस्यता लिए। त्यसपछि पनि उनले विद्यार्थी राजनीति छाडेनन्। अखिल प्रतिबन्धित रहेको त्यो समयमा भूमिगत रूपमा काम गरेका थिए।
विद्यार्थी राजनीति हुँदै यादव २०३७ सालको जनमत संग्रहमा सक्रिय भए। तर जनमत संग्रहसँगै अखिल विभाजित भयो। उनी प्रगतिशील विद्यार्थी युनियनतिर लागे। दुई कार्यकाल उपाध्यक्ष पनि भए।
२०४६ सालमा नेपाली कांग्रेसको आह्वानमा भएको सत्याग्रहमा यादव पनि सामेल भएका थिए। काठमाडौंमा उनी गिरफ्तार भए। केन्द्रीय कारागारमा उनको संगत प्रदीप गिरी, दमननाथ ढुंगाना, मार्सलजुलुम शाक्य, गोपालप्रसाद भट्टराई लगायत कांग्रेस नेताहरूसँग भयो।
पछि पुष्पलाल समूहका अध्यक्ष सहाना प्रधान र मनमोहन अधिकारीको पार्टी मिलेर नेकपा (मार्क्सवादी) बन्यो। जेलबाट छुटेका उनी मार्क्सवादीको कोशी अञ्चल कमिटीमा बसेर काम गर्न थाले। त्यसको इन्चार्ज भरतमोहन अधिकारी थिए।
२०४६ सालको आन्दोलनमा यादव विराटनगरबाट गिरफ्तार भए। उनलाई धनकुटा लगियो। प्रजातन्त्र पुनःस्थापनापछि मात्रै उनी छुटेका थिए।
जनआन्दोलनपछि नेकपा (माले) र मार्क्सवादीबीच एकता भयो र नेकपा (एमाले) बन्यो। उनी एमालेमै संलग्न भए। २०४८ सालको निर्वाचनमा एमालेले सुनसरी-४ बाट उनलाई उम्मेदवार बनायो, तर पराजित भए। त्यसपछि उनलाई एमालेले सुनसरी र मोरङको जिम्मेवारी सुम्पियो।
राजनीतिमा सक्रिय रहँदारहँदै उनी गैरसरकारी संस्थातिर लागे। २०५४ सालमा मधेशी जनअधिकार फोरम नेपाल गठन गरेर मधेशी जनताको अधिकारको कुरा गर्न थाले। त्यति वेला गैससको अध्यक्ष रहेका यादव २७ वर्षदेखि लगातार नेतृत्वमा छन्। अहिले महाधिवेशनबाट पनि फेरि अध्यक्ष बनेका छन्।