किशोरीलाई आत्मनिर्भर बनाउन लगानी र नीतिगत सुधार गर्नुपर्छ : मन्त्री चौधरी
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले किशोरीलाई आत्मनिर्भर बनाउन लगानी र नीतिगत सुधार गर्नुपर्नेमा जोड दिएकी छन्।
बुधबार नवलपुरको देवचुली नगरपालिका-१० स्थित जागृति बाल तथा युवा सरोकार नेपालद्वारा निर्माण गरिएको बालिका सिकाइ तथा स्रोत केन्द्रको अवलोकनपछि किशोरकिशोरीसँगको छलफलमा मन्त्री चौधरीले नीतिगत सुधारका लागि सरकार प्रतिबद्ध रहेको बताइन्। “बालबालिकाको संरक्षण, शिक्षा, स्वास्थ्यमा लगानी तथा उनीहरूको सुरक्षाका निम्ति लगानी गर्न राज्य प्रतिबद्ध छ,” मन्त्री चौधरीले भनिन्, “त्यसका निम्ति हामीले काम पनि गर्दै आएका छौं। तर मन्त्रालयगत बजेटको सीमितताका कारण आशा अनुरूप काम गर्न सकेका छैनौं।
छोरीलाई शिक्षासँगै जीवनोपयोगी शिक्षा दिनुपर्ने उनको भनाइ थियो। खासगरी आत्मनिर्भर बनाउन सीप सिकाउनुपर्नेमा उनले जोड दिइन्। “हामीले यो बजेटमा प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम ल्याएका छौं। त्यो विशेषगरी छोरीहरूलाई आर्थिक रूपमा सबल बनाउनका निम्ति ल्याइएको कार्यक्रम हो,” चौधरीले भनिन्।
कार्यक्रममा किशोरीले मन्त्री चौधरीसँग किशोरीको अधिकार र सरोकारवालाको भूमिकाबारे संवाद गरेका थिए। संवादका क्रममा रेजिना घर्ती मगरले तीनै तहका सरकारले बालबालिकालाई प्राथमिकता दिनुपर्ने र लगानीको सुनिश्चितताका लागि पहल गर्नुपर्ने बताइन्।
सहभागीले विद्यालयमा नर्स कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरिनुपर्ने, किशोरीका लागि आवश्यक सेनेटरी प्याड गुणस्तरीय र निजी विद्यालयमा पनि उपलब्ध गराउनुपर्ने, स्थानीय तहमा मानसिक स्वास्थ्यका लागि मनोपरामर्शकर्ताको व्यवस्थापन गरिनुपर्ने माग गरे। उनीहरूले स्थानीय तहमा किशोरीका लागि छुट्टै डेस्कको स्थापना गरिनुपर्ने, गरीब र सीमान्तीकृत बालबालिकालाई राज्यले निःशुल्क शिक्षा र स्वास्थ्यका लागि काम गरिनुपर्ने, सबै बालबालिकालाई पुग्ने गरी दिवा खाजाको व्यवस्था गर्न पनि मन्त्री चौधरीसँग आग्रह गरेका थिए।