विद्युत् प्राधिकरणको अत्याधुनिक ‘डेटा सेन्टर’ सञ्चालन
नेपाल विद्युत् प्राधिकरणले अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक ‘डेटा सेन्टर’ सञ्चालनमा ल्याएको छ।
प्राधिकरणले भविष्यमा व्यावसायिक कम्पनीलाई समेत सेवा उपलब्ध गराउन सक्ने गरी काठमाडौंको स्यूचाटारस्थित भार प्रेषण केन्द्रसँगै अत्याधुनिक सुविधासम्पन्न अन्तर्राष्ट्रिय स्तरको डेटा सेन्टर सञ्चालनमा ल्याएको हो। ‘प्रिफेब्रिकेटेड कन्टेनर’ प्रयोग गरी तयार गरिएको तीनतले भवनको भुइँतलामा काठमाडौं उपत्यकाको भूमिगत विद्युत् वितरण प्रणाली अनुगमन, नियमन तथा नियन्त्रण र सुरक्षा सञ्चालन कक्ष रहेका छन्। पहिलो तलामा कार्यालय तथा नेटवर्क सञ्चालन कक्ष र सबैभन्दा माथिल्लो तलामा डेटा सेन्टर छ।
डेटा सेन्टरका लागि तोकिएको ‘टियर-३’ अन्तर्राष्ट्रिय मापदण्ड पालना गरी सेन्टर निर्माण गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। प्राधिकरणले आफ्नो सेवालाई आधुनिक बनाउने उद्देश्यलाई पूरा गर्न डिजिटल एनईए कार्यक्रम अन्तर्गत निर्माण गरेको यस किसिमको नमूना ‘डेटा सेन्टर’ नेपालमै पहिलो रहेको घिसिङको भनाइ छ।
डेटा सेन्टरमा प्राधिकरणका सूचना प्रविधिसँग सम्बन्धित सर्भर लगायत सबै डेटा एकीकृत भण्डार गरी क्रमशः राखिने कार्यकारी निर्देशक घिसिङले बताए। उनले डेटा सेन्टर सञ्चालनमा आएसँगै प्राधिकरणले डेटा भण्डारणका लागि आफ्नो छुट्टै ‘प्राइभेट क्लाउड’ बनाउन लागिरहेको बताए।
डेटा सुरक्षाका लागि नवलपरासीको सुनवलस्थित नयाँ बुटवल सबस्टेशनमा विपद् रिकभरी सेन्टर निर्माण गर्ने प्रक्रिया अगाडि बढेको छ। रिकभरी सेन्टर निर्माण नहुन्जेल हाल प्राधिकरणको प्रधान कार्यालयमा रहेको पुरानो डेटा सेन्टरलाई रिकभरी सेन्टरका रूपमा सञ्चालन गरिनेछ।
सञ्चालनमा ल्याइएको नयाँ डेटा सेन्टरमा ४० वटा सूचना प्रविधि कक्ष छन्। तीमध्ये ३६ सर्भर र चार वटा नेटवर्क कक्ष प्राधिकरणले जनाएको छ। ‘टियर ३’ मापदण्डका लागि तोकिएका शर्तहरू पूरा गर्न आवश्यक ब्याकअप (सञ्चित) सहितको अविच्छिन्न विद्युत् आपूर्ति (एन प्लस वान पावर सप्लाई), चिस्यान (कुलिङ), स्वचालित अग्नि नियन्त्रण, सीसीटीभी निगरानी, सञ्चालन तथा सुरक्षाको निगरानी लगायत व्यवस्था गरिएको छ। अविच्छिन्न विद्युत् आपूर्तिका लागि बहुवैकल्पिक व्यवस्था गरिएको छ।
स्थानीय तथा मुलुकको विद्युत् प्रणालीमा समस्या आएर विद्युत् आपूर्ति बन्द भएमा डेटा सेन्टरलाई सुरक्षित रूपमा सञ्चालन गर्न एक मेगावाट क्षमताका दुई वटा जेनेरेटर तयारी अवस्थामा राखिएको कार्यकारी निर्देशक घिसिङले बताए। ३०० केभीए क्षमताका दुई थान मोड्युलर यूपीएस जडान गरिएको छ। यूपीएसको विश्वसनीयतालाई ध्यान दिएर लिथियम आयन ब्याट्री प्रयोग गरिएको भन्दै मर्मत सम्भार तथा उपकरण प्रतिस्थापन गर्दा सेन्टरलाई बन्द गर्नुनपर्ने उनको भनाइ छ।
प्राधिकरणको रत्नपार्कमा रहेको प्रधान कार्यालय र सेन्टरलाई जोड्न वैकल्पिक मार्ग सहितको अप्टिकल फाइबर जडान गरिएको छ। प्राधिकरणको प्रधान कार्यालय र डेटा सेन्टरलाई टेकु र बालाजुतर्फबाट अप्टिकल फाइबर मार्फत जोडिएको हो। डेटा सेन्टरलाई २४ घण्टा सञ्चालन गर्न कर्मचारी खटाइएको छ।
डेटा सेन्टरका अतिरिक्त सेन्टरबाट काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणालीलाई स्वचालित बनाउन निर्माणाधीन भूमिगत वितरण प्रणालीलाई अनुगमन, नियमन र नियन्त्रण गर्न सकिने पूर्वाधार तथा संरचना निर्माण गरिएको छ। यसमा उपत्यकाका सबस्टेशन तथा स्वीचिङ स्टेशनहरू जोडिने कार्यकारी निर्देशक घिसिङले जानकारी दिए।
केन्द्रबाट ११ केभीभन्दा कम ग्राहकको घरसम्म पुग्ने विद्युत् वितरण प्रणालीको व्यवस्थापन, अनुगमन र नियन्त्रण गर्न सकिनेछ। डेटा सेन्टर परिसरमा तीन वटा विद्युतीय गाडी एकै पटक चार्ज गर्न मिल्ने गरी चार्जिङ स्टेशन पनि सञ्चालनमा ल्याइएको छ।
केन्द्र निर्माणका लागि चिनियाँ कम्पनी यानताई डोङफाङ विज्डम इलेक्ट्रिक कम्पनी लिमिटेडसँग सन् २०२१ जुलाईमा ठेक्का सम्झौता भई सोही वर्षको नोभेम्बरदेखि काम शुरू भएको थियो। सरकार तथा प्राधिकरणको लगानी र एशियाली विकास ब्यांकको सहुलितपूर्ण ऋणमा निर्माण गरिएको सेन्टरको अनुमानित लागत करीब एक अर्ब ४० करोड रुपैयाँ बराबर रहेको प्राधिकरण कार्यालयले जनाएको छ। (रासस)