वर्षाका कारण नेपाल र श्रीलंकाबीचको खेल रद्द
आईसीसी पुरुष टी-२० विश्वकप अन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल वर्षाले रद्द भएको छ।
बुधबार बिहान ५:१५ बाट शुरू हुने भनिए पनि अमेरिकाको फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी रंगशाला क्षेत्रमा वर्षा नरोकिएपछि टस समेत नभई खेल रद्द भएको हो। दुवै टोलीले एक/एक अंक बाँडेका छन्।
योसँगै अंकतालिकामा तीनमध्ये तीन खेलमै जित हासिल गर्दै दक्षिण अफ्रिका शीर्षस्थानमा छ भने नेपाल दुई खेलमा एक हार र एक नतीजाविहीन भई चौथो स्थानमा छ। श्रीलंका भने तीन खेलमध्ये दुईमा हार र एक नतीजाविहीन भई पाँचौं स्थानमा छ।
विश्वकपमा प्रत्येक समूहका शीर्ष दुई टोली मात्र अर्को चरण ‘सुपर एट’ मा पुग्छन्। नेपालको समूहमा दुई खेलमा एक जित र एक हार सहित नेट रनरेटका आधारमा बाङ्लादेश दोस्रो स्थानमा छ। तेस्रो स्थानमा एक जित र एक हार सहित नेदरल्यान्ड्स छ।
नेपाल यसअघि आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्स विरुद्ध ६ विकेटले पराजित भएको थियो। श्रीलंका पनि यसअघि दक्षिण अफ्रिका विरुद्ध ६ तथा बाङ्लादेश विरुद्ध दुई विकेटले पराजित भएको थियो।
अब जारी विश्वकपमा नेपालले समूह चरण अन्तर्गत दुई खेल खेल्न बाँकी छ। नेपालले असार १ गते दक्षिण अफ्रिका विरुद्ध र असार ३ गते बाङ्लादेश विरुद्ध खेल्नेछ।