‘नेपाली टोलीभन्दा श्रीलंका बढी दबाबमा छ’
आईसीसी पुरुष टी-२० विश्वकप २०२४ अन्तर्गत नेपालले भोलि दोस्रो खेल खेल्दै छ।
नेपाली समय अनुसार भोलि बिहान ५:१५ मा नेपालले एक पटक टी-२० विश्वकप जितिसकेको श्रीलंकासँग खेल्दै छ। खेल अमेरिकाको फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी रंगशालामा हुँदै छ।
सिनियर क्रिकेट प्रतियोगितामा नेपाल र श्रीलंका पहिलो पटक भिड्न लागेका हुन्। नेपाल यसअघि आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्स विरुद्ध ६ विकेटले पराजित भएको थियो। श्रीलंका पनि यसअघि दक्षिण अफ्रिका विरुद्ध ६ तथा बाङ्लादेश विरुद्ध दुई विकेटले पराजित भएको थियो।
विश्वकपमा प्रत्येक समूहका शीर्ष दुई टोली मात्र अर्को चरण ‘सुपर एट’ मा पुग्छन्। त्यसैले अर्को चरण पुग्नका लागि नेपालले बाँकी खेल जित्नुपर्ने हुन्छ। श्रीलंकाले यसअघि दुवै खेल हारेकाले नेपाल विरुद्ध जित्नै पर्ने दबाब महसूस गर्नेछ।
नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले नेपाली टोलीभन्दा श्रीलंका बढी दबाबमा रहेको भन्दै यो खेल नेपालका लागि टेस्ट राष्ट्र विरुद्ध जित हासिल गर्ने पहिलो अवसर रहेको बताएका छन्। विश्वकपमा एशोसिएट राष्ट्रले पनि टेस्ट राष्ट्रलाई पराजित गरेको इतिहास रहेको बताउँदै उनले नेपाली टोलीले उच्च मनोबलका साथ श्रीलंका विरुद्ध खेल्ने बताए।
“हामीलाई लाग्छ, भोलिको खेल हामी जित्नेछौं। केही महीनायता हामीले जसरी तयारी गरेका छौं, डेढ वर्षयता जसरी क्रिकेट खेल्दै आएका छौं, मलाई लाग्छ, हाम्रो टोलीमा त्यो विश्वास छ र हामी भोलिको खेलका लागि तयार छौं,” उनले भने।
उनले श्रीलंका विरुद्ध विशेषगरी आफूहरू स्पिनरसँग बढी सजग हुनुपर्ने पनि बताए।