नेपालसँगकाे सम्बन्ध भारतकै कारण बिग्रिएको हो
निर्वाचन परिणामका कारण मोदी कमजोर भएका छन्। तर उनको विदेश नीतिमा परिवर्तन आउँछ/आउँदैन भन्ने प्रतीक्षाको विषय हो।
भारतीय निर्वाचन परिणामले नेपाल-भारत सम्बन्धमा कस्तो प्रभाव पार्छ भन्ने विश्लेषण गर्न अलि पछाडिसम्म फर्किएर हेर्नुपर्छ। सन् २०१४ मा पहिलो पटक प्रधानमन्त्री बन्दै गर्दा नरेन्द्र मोदीले नेपाललाई प्राथमिकता दिएको देखिन्थ्यो। पहिलो पटक काठमाडौं आउँदा पनि आममानिसको भावना समेट्ने प्रयास गरेका थिए। मोदीको नेतृत्वसँगै राजनीतिक सम्बन्ध विकास हुन्छ भन्ने आशा पलाएको थियो। तर त्यो आशा एक वर्ष पनि टिकेन।
२०७२ सालमा नेपालको संविधानप्रति असहमति जनाउँदै भारतले नाकाबन्दी गरेपछि भारतीय सुरक्षा संयन्त्र, कर्मचारितन्त्र र राजनीतिक नेतृत्व एकै ठाउँमा जोडिएर काम गर्न थाले। नेपाल-भारत सम्बन्धमा दरार सिर्जना गर्ने केही नयाँ तत्त्व पनि थपिए। पहिलो हो, हिन्दूत्व। तर म यसलाई अलि फराकिलो तरीकाले हेर्छु। भारतबाट नेपालमा कल्चरल एसिमिलेशन (सांस्कृतिक सम्मिलन) ह्वात्तै बढेको छ। यो कल्चरल एसिमिलेशनलाई मोदी सरकारले राज्य अभ्यासमा समेटेको छ, जसको स्रोत ‘आरएसएस’ हो।
‘सांस्कृतिक रूपमा हामी एकै हौं’ भन्ने भाष्य निर्माण गर्न खोजिएको छ। सांस्कृतिक रूपमा शक्तिशाली भएपछि राजनीतिक विषय गौण हुन्छ। तर नेपाली नेताहरूले यो कुरा बुझिरहेका छैनन्। उनीहरू बहकिएका छन्। त्यसको एउटा उदाहरण प्रधानमन्त्री पुष्पकमल दाहाल हुन्। माओवादी विचारधाराबाट आएका उनी नै गेरुवस्त्र लगाएर पूजापाठ गर्न गए।
अर्को समस्या, संविधानबारे भारतीय अडान हो। नेपालको संविधानका सन्दर्भमा भारत ‘नोटेड’ बाट माथि उठ्न सकेको छैन (२०७२ सालमा नेपालको संविधानसभाले संविधान जारी गर्दै गर्दा नेपालस्थित भारतीय दूतावासले ‘नोटेड’, ध्यानमा राखिएको भन्दै विज्ञप्ति जारी गरेको थियो)। संयुक्त वक्तव्यमा त्यस्तो धारणा अहिले पनि देखिन्छ। कतिपय अवस्थामा नेपाललाई त्यो संविधानबाट पछाडि फर्काउन सकिन्छ कि भनेर भारतीय पक्ष लागिपरेको देखिन्छ।
भारतकै कारण नेपाल-भारत सम्बन्ध बिग्रिएको हो। नाकाबन्दी त भारतीय कंग्रेसको शासनकालमा पनि भएको थियो। तर २०४५ को नाकाबन्दीबारे थाहा नपाएका पुस्ताले थाहा पाउने गरी भारतीय जनता पार्टी (भाजपा)ले नाकाबन्दी लगायो।
लिम्पियाधुरा समेटिएको नक्शा पनि नेपालले भारतकै कारण ल्याएको थियो। नेपालले द्विपक्षीय बैठकहरूमा लिम्पियाधुरामा आफ्नो अडान राख्दै आए पनि भारतले एकतर्फी रूपमा नयाँ नक्शा ल्याएपछि नेपालले नयाँ नक्शा पारित गरेको हो।
नेपाल-भारत सम्बन्धमा प्रभाव पार्ने अर्को विषय ‘अग्निपथ’ हो जसका कारण भारतीय सेनामा नेपालीहरूको भर्ती रोकिएको छ। एउटा तप्कामा यसले नकारात्मक भावना सिर्जना गरिरहेको छ।
मोदीकै समयमा स्थापित प्रबुद्ध व्यक्तिहरूको समूह (इपीजी)को प्रतिवेदन बुझ्न नमानेर पनि तनाव सिर्जना भएको छ। नाकाबन्दीका कारण बिग्रिएको छवि सुधार्न भाजपाले इपीजीको प्रस्ताव स्वीकार गरेको थियो।
ठूला राजनीतिक विषयहरूमा कुराकानी गर्न भारतीय पक्ष तयार छैन। तर आर्थिक चासो बढाइरहेको छ। अर्कातर्फ, भारतीय सरकारी एजेन्सी र सञ्चारमाध्यमहरू ‘नेपाल चीनको पोल्टामा गयो’ भन्ने भ्रम प्रचार गरिरहेका छन्। यी सबै कारणले नेपाल-भारत सम्बन्ध जनस्तरमा बिग्रिरहेको छ, जुन डरलाग्दो संकेत हो।
भारतको राजनीति बुझ्न हामीलाई सजिलो छैन। त्यहाँको भुइँतहमा हाम्रो पहुँच छैन। खासमा हाम्रो कमजोरी राजनीतिक वर्गमा मात्र नभई बौद्धिक वर्गमा पनि छ। नेपालमा भारतविज्ञ साह्रै थोरै छन्। हामीले आफ्नो भाष्य बनाउन सकेकै छैनौं। यस्ता विषयमा सामूहिक कामको आवश्यकता छ।
नेपालको भारत नीति के हो भन्ने स्पष्ट छैन। जुनसुकै सरकार आए पनि भारतसँग झन् बढी झुक्न तयार भएको मात्रै देखिन्छ। सरकारमा एकखालको लम्पसारवाद देखिएको छ। दुई छिमेकीको तीव्र उदयसँगै स्पष्ट नीतिको आवश्यकता झनै बढेको छ।
पक्कै पनि निर्वाचन परिणामका कारण मोदी कमजोर भएका छन्। तर उनको विदेश नीतिमा परिवर्तन आउँछ/आउँदैन भन्ने प्रतीक्षाको विषय हो।
एकातिर, आन्तरिक राजनीतिमा कमजोर हुँदा बाह्य राजनीतिमा आक्रामक हुने उनको बानी छ। अर्कातिर, २०१४ मा प्रधानमन्त्री भएदेखि छिमेकीसँग उनको सम्बन्ध बिग्रिएको छ। निर्वाचन परिणामपछि बदलिएको सन्दर्भमा उनी छिमेकसँग सम्बन्ध सुधार्ने दिशामा जान सक्छन्। त्यस्तो अवस्थामा भूटान र नेपाल प्राथमिकतामा पर्न सक्छन्। तर हाम्रा राजनीतिक दलहरूमा बहकिने समस्या छ। नबहकिने हो भने राम्रो अवसर सिर्जना हुन सक्छ।
यसबीचमा हामीले बिहारको राजनीतिलाई ध्यानपूर्वक हेर्नुपर्छ। किनभने अहिलेको गठबन्धनमा बिहारका नेता नीतीश कुमारको पार्टी जेडीयू (जनता दल युनाइटेड) एउटा बलियो घटक हो। त्यस्तै, पटना र लखनउसँग पनि हामीले सम्बन्ध बढाउनुपर्छ।
नेपाली मिडियाले भने भारतका मिडिया हिंडेको बाटो गलत रहेछ भन्ने सिक्नुपर्छ। हामीले ध्यान दिनुपर्ने विषय सामाजिक सञ्जालको प्रयोग पनि हो। आरएसएसले नेपालमा समेत डरलाग्दो गरी सामाजिक सञ्जाल प्रयोग गरिरहेछ। नेपाली भाषामा प्रचार गर्न आरएसएसका ‘साइबर सेलहरू’ सक्रिय छन्। तिनले नेपालमा हिन्दूत्वको प्रचार गरिरहेछन्।
(हालै सम्पन्न भारतीय लोक सभा निर्वाचनको परिणामबारे सोमबार ललितपुरमा आयोजित कार्यक्रममा शर्माले व्यक्त गरेको विचारको सम्पादित अंश)