ब्यांक कर्जाको ब्याज सस्तियो, तरकारीको मूल्य एक चौथाइ वृद्धि
ब्यांकको कर्जा सस्तो भएको तथ्यांकले देखाएको छ भने तरकारीको मूल्य एक चौथाइले बढेको छ।
एक वर्षको अवधिमा वाणिज्य ब्यांकको कर्जाको ब्याजदर २.१ बिन्दुले घटेको छ। गत वैशाख महीनामा वाणिज्य ब्यांकले दिएको कर्जाको औसत ब्याजदर १०.३४ प्रतिशतमा ओर्लिएको नेपाल राष्ट्र ब्यांकले जनाएको छ।
२०८० वैशाखमा वाणिज्य ब्यांकहरूको कर्जाको औसत ब्याजदर १२.६५ प्रतिशत थियो। गत वर्ष ब्याजदर चर्को भएको कारण व्यवसायीले विरोध जनाएका थिए।
नेपाल राष्ट्र ब्यांकले प्रकाशित गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनका अनुसार वैशाखमा विकास ब्यांकहरूको ऋणको औसत ब्याजदर ११.८९ प्रतिशत र वित्त कम्पनीहरूको १३.११ प्रतिशत छ।
पछिल्लो एक वर्षको अवधिमा ब्यांक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा दुई खर्ब २५ अर्ब २४ करोड रुपैयाँले बढेको छ। यो ४.७ प्रतिशतको वृद्धि हो। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा एक खर्ब ५३ अर्ब १७ करोड रुपैयाँ (३.३ प्रतिशत)ले मात्रै बढेको थियो। अघिल्ला वर्षमा वार्षिक कर्जाको वृद्धिदर सरदरमा २० प्रतिशत हुने गरेको थियो। यसैकारण व्यवसायीले अहिले कर्जाको विस्तार थोरै हुन पुगेको बताउने गरेका छन्।
आर्थिक वर्ष २०८०/८१ को १० महीनामा प्रवाह भएको कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ०.४ प्रतिशतले मात्रै बढेको छ। त्यस्तै, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ८.१ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ९.८ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १२.० प्रतिशतले बढेको छ। थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ३.१ प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ५.० प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा ५.६ प्रतिशतले बढेको तथ्यांक छ।
राष्ट्र ब्यांकका अनुसार वैशाखसम्म देशको विदेशी मुद्राको सञ्चिति १४ अर्ब ५४ करोड अमेरिकी डलर पुगेको छ। यो गत असारको तुलनामा एक चौथाइ बढी हो। यो सञ्चितिले एक वर्षभन्दा पनि बढी अवधिको वस्तु र सेवाको आयात थेग्न पर्याप्त हुन्छ।
रेमिटेन्समा लगातार वृद्धिका कारण देशको विदेशी मुद्राको सञ्चिति थपिएको हो। वैशाखमा रेमिटेन्स १९.२ प्रतिशतले बढेर ११ खर्ब ९८ अर्ब ६० करोड रुपैयाँ पुगेको छ। यस वर्षको साउनदेखि वैशाखसम्म ६ लाख १२ हजार नेपाली वैदेशिक रोजगारीका लागि गएका छन्।
रेमिटेन्सको वृद्धिले देशको विदेशसँगको कारोबारलाई जनाउने शोधनान्तर स्थिति पनि पर्याप्त बचतमा छ। यसले देशबाट बाहिरिनेभन्दा भित्रिने रकम धेरै भएको बुझाउँछ। वैशाखसम्म देशको शोधनान्तर स्थिति तीन खर्ब ९२ अर्ब रुपैयाँ बचतमा छ।
केन्द्रीय ब्यांकले बजारको उपभोक्ता मूल्यवृद्धि दर पनि तुलनात्मक न्यून रहेको जनाएको छ। वैशाखमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.४० प्रतिशत छ। यो ठीक एक वर्षअघि ७.४१ प्रतिशत थियो। वैशाखमा खाद्य तथा पेयपदार्थ समूहको मूल्यवृद्धि ६.२७ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि २.९६ प्रतिशत छ। यसले खानेकुराको मूल्यवृद्धि दर भने तुलनात्मक उच्च रहेको देखाउँछ।
यस अवधिमा तरकारीको मूल्य २३.११ प्रतिशत, दाल तथा गेडागुडीको १०.८५ प्रतिशत र मरमसलाको ८.९८ प्रतिशतले बढेको छ। त्यसैगरी, खाद्य तथा खाद्यजन्य पदार्थको ७.४२ प्रतिशत र चिनी तथा चिनीजन्य वस्तुहरूको मूल्य ७.२५ प्रतिशतले बढेको छ। यद्यपि घ्यू तथा तेलको मूल्य ७.१३ प्रतिशतले घटेको छ।