बयालपाटा अस्पतालका लागि बजेट माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र
अछामको बयालपाटा अस्पताललाई आवश्यक बजेटको व्यवस्था गर्न माग गर्दै न्याय हेल्थ नेपालको टोलीले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीलाई ज्ञापनपत्र बुझाएको छ।
न्याय हेल्थको टोलीले सोमबार मुख्यमन्त्री सोडारीलाई भेटेरै बयालपाटा अस्पतालको अवस्थाबारे जानकारी गराएको हो। सुदूरपश्चिम प्रदेश सरकारसँगको सहकार्यमा न्याय हेल्थले अस्पताल सञ्चालन गरिरहेको छ।
१६ वर्षदेखि सञ्चालन भइरहेको अस्पतालले हरेक वर्ष अछामसँगै बाजुरा, डोटी, दैलेख र कालीकोटका झन्डै एक लाख नागरिकलाई गुणस्तरीय निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ। कोभिड-१९ महामारीयता अन्तर्राष्ट्रिय सहयोग घटेपछि अस्पतालले आर्थिक कठिनाइ झेल्दै आएको छ।
गत वर्ष सुदूरपश्चिम प्रदेश सरकारले बजेट विनियोजन नगरेपछि बन्द हुने अवस्थामा पुगेको न्याय हेल्थले जनाएको छ। सुदूरपश्चिम सरकारले आर्थिक वर्ष २०७७/७८ मा सात करोड रुपैयाँ, २०७८/७९ मा आठ करोड रुपैयाँ र २०७९/८० मा नौ करोड रुपैयाँ अनुदान दिएको थियो।
यस पटक पनि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा बयालपाटा अस्पतालबारे उल्लेख नभएपछि न्याय हेल्थ नेपालको टोलीले मुख्यमन्त्री सोडारीलाई भेटेको हो। टोलीले मुख्यमन्त्रीसँगको भेटमा चालू आर्थिक वर्षमा पाउनुपर्ने नौ करोड रुपैयाँ र लागत साझेदारीका आधारमा आगामी आर्थिक वर्षका लागि १५ करोड रुपैयाँ बजेट अनुदान उपलब्ध गराउन आग्रह गरेको छ।
यसलाई बजेट वक्तव्यमा स्पष्ट रूपमा उल्लेख गर्न पनि उनीहरूले माग गरेका छन्। यससँगै अस्पताल सञ्चालन लगायतका लागि आवश्यक कानूनी व्यवस्था गरिदिन पनि आग्रह गरेका छन्।
ज्ञापनपत्रमा न्याय हेल्थ नेपालका पदाधिकारीसँगै संघ, प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधि, पूर्व जनप्रतिनिधि र राजनीतिक दलका प्रतिनिधिले हस्ताक्षर गरेका छन्।