त्रिभुवन विश्वविद्यालयले अत्याधुनिक उपकरण सहितको विज्ञान प्रयोगशाला बनाउने भएको छ।
विज्ञान प्रयोगशाला तथा अनुसन्धानका लागि सरकारले आगामी आर्थिक वर्षको बजेटमा रकम विनियोजन गरेको छ। प्रयोगशालाहरू र अनुसन्धानका लागि गरी ८० करोड रुपैयाँ विनियोजन भएको त्रिभुवन विश्वविद्यालयका रेक्टर प्राध्यापक खड्ग केसीले जानकारी दिए। १० करोड रुपैयाँ अनुसन्धानका लागि प्राप्त भएको केसीले बताए।
क्यान्सर भए/नभएको परीक्षण गर्ने प्रयोगशालाका लागि १५ करोड रुपैयाँ विनियोजन भएको रेक्टर केसीले बताए। “यो प्रयोगशाला बनिसकेपछि क्यान्सर परीक्षणका लागि भारत वा अन्य देश गइरहनु पर्दैन,” उनले भने।
कीर्तिपुरस्थित त्रिवि परिसरमै अत्याधुनिक प्रयोगशाला निर्माणका लागि ४० करोड रुपैयाँ विनियोजन भएको विज्ञान तथा प्रविधि संकायका डीन प्रा.डा. विनिल अर्यालले बताए।
डीन अर्यालका अनुसार २०७७ सालदेखि सरकारका विभिन्न निकायमा विज्ञान प्रयोगशाला निर्माणका लागि प्रस्ताव गरिएको थियो। त्रिविको प्रस्ताव प्रक्रियाकै चरणमा रहँदै आएको थियो। यस वर्ष भने सरकारले बजेट विनियोजन गरेको छ।
उनका अनुसार भौतिक विज्ञान, जैविक विज्ञान र सञ्चार विज्ञान प्रयोगशाला निर्माण हुनेछन्। बजेटमा रकम विनियोजन भएसँगै त्रिविले तीनै प्रयोगशाला निर्माणको प्रक्रिया अघि बढाएको डीन अर्यालले बताए।
तीनै प्रयोगशालामा सबै किसिमका सुविधा उपलब्ध हुनेछन्। प्रयोगशालामा राति पनि काम गर्न सकिने व्यवस्था हुनेछ। त्यस्तै, क्यान्टिन र वासको व्यवस्था पनि हुनेछ। त्रिवि लगायत अन्यत्रका अनुसन्धाता र विद्यार्थीले उक्त प्रयोगशाला प्रयोग गर्न पाउनेछन्। “देश तथा विदेशका अनुसन्धातालाई सहज रूपमा उपलब्ध गराइनेछ,” अर्यालले भने, “केन्द्रीय प्रयोगशालाका रूपमा स्थापना गर्न लागेका हौं।”
त्रिवि प्रयोगशालालाई अनुसन्धानको केन्द्र बनाउने योजना छ। यसको शुरूआत भएको उनले सुनाए। “अन्तर्राष्ट्रिय स्तरको प्रयोगशाला बनाउने योजना छ, त्यसका लागि दुई अर्ब रुपैयाँ लाग्छ,” प्रा.डा. अर्यालले भने, “शुरूआत गर्न ४० करोड विनियोजन भएको छ, अरू बिस्तारै जुटाउँदै जानेछौं।”
अहिले त्रिविले प्रयोग गरिरहेका भवनमै प्रयोगशालाको काम अघि बढाइँदै छ। बिस्तारै नयाँ भवन पनि थप्ने योजना रहेको उनले बताए। यसका लागि विभिन्न दातृ निकायमा प्रस्ताव पठाइएको उनको भनाइ छ।