विश्वकपमा पाकिस्तानको दोस्रो पराजय
आईसीसी पुरुष टी-२० विश्वकप अन्तर्गत गए राति सम्पन्न खेलमा पाकिस्तान भारतसँग ६ रनले पराजित भएको छ।
यसअघि आयरल्यान्डलाई आठ विकेटको फराकिलो अन्तरले पराजित गरेको भारतको जारी प्रतियोगितामा यो दोस्रो जित हो। यस्तै, सुपर ओभरमा संयुक्त राज्य अमेरिकासँग पाँच रनले हारेको पाकिस्तानको यो लगातार दोस्रो हार हो।
अमेरिकाको न्यूयोर्कस्थित नसाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा टस हारेर शुरूमा भारतले ब्याटिङ गरेको थियो। पाकिस्तानी बलरहरूले उत्कृष्ट प्रदर्शन गरेपछि भारत १९ ओभरमै ११९ रनमा अलआउट हुन पुगेको थियो। तर जवाफी ब्याटिङमा उत्रिएको पाकिस्तानले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ११३ रन मात्र बनाउन सक्यो।
भारतका लागि ऋषभ पन्तले सर्वाधिक ४२ रनको योगदान दिए। यस्तै, अक्षर पटेलले २० तथा कप्तान रोहित शर्माले १३ रन जोडेका थिए। अन्य ब्याटर चलेका थिएनन्। बलिङतर्फ पाकिस्तानका लागि नसीम शाह र हरिस रउफले समान तीन विकेट लिए भने मोहम्मद आमीरले दुई विकेट लिएका थिए। त्यस्तै, शाहिनशाह अफ्रिदीले एक विकेट हात पारेका थिए।
ब्याटिङतर्फ पाकिस्तानका लागि मोहम्मद रिजवानले सर्वाधिक ३१ रन बनाए। त्यस्तै, इमाद वासिमले १५, बाबर आजम, उस्मान खान र फखर जमानले समान १३ रन बनाएका थिए। पाकिस्तानलाई ११३ रनमा समेट्ने क्रममा भारतका जस्प्रित बुम्राहले तीन विकेट लिए भने हार्दिक पन्ड्याले दुई विकेट झारे। त्यसैगरी, अर्शदीप सिंह र अक्षर पटेलले समान एक विकेट लिए।
यस हारसँगै अन्तिम आठमा पुग्ने पाकिस्तानको सम्भावना न्यून भएको छ। भारत भने दुई खेलमा चार अंक जोड्दै नेट रनरेटका आधारमा समूहको शीर्षस्थानमा छ। समान चार अंक भएको अमेरिका दोस्रो स्थानमा छ भने तेस्रो स्थानमा एक खेल जितेको क्यानडा छ।
यस समूहमा पाकिस्तान र आयरल्यान्ड अंकविहीन छन्। रनरेटका आधारमा पाकिस्तान चौथो र आयरल्यान्ड पाँचौं स्थानमा छन्।