मुसिकोटमा सवारी दुर्घटना : तीन जनाको मृत्यु, तीन घाइते
रुकुम पश्चिमको मुसिकोट नगरपालिका-१ स्थित नेपानेमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
मुसिकोट-१, खलंगाबाट बाँफिकोट गाउँपालिका-४ छिनखेत जाँदै गरेको कर्णाली प्रदेश-०२-००१च ०४१३ नम्बरको बोलेरो गाडी आइतबार साँझ दुर्घटनामा परेको थियो। दुर्घटनामा थप तीन जना घाइते पनि भएका छन्।
जिल्ला प्रहरी कार्यालय, रुकुम पश्चिमका प्रवक्ता प्रहरी निरीक्षक बखत शाहीका अनुसार गाडी सडकबाट करीब २०० मिटर तल खस्दा बर्दियाको ठाकुरबाबा नगरपालिका-५, कालीगौडीका २७ वर्षीय सौगात विक, गाडी चालक सुर्खेतको गुर्भाकोट नगरपालिका-८, मेहलकुनाका ३० वर्षीय धर्मेन्द्र श्रेष्ठ र सुर्खेत बराहताल गाउँपालिका-५, बड्डीचौरका १९ वर्षीय जितबहादुर कार्कीको मृत्यु भएको हो। घटनास्थलबाट उद्धार गरेर जिल्ला अस्पताल, सल्ले ल्याइएका उनीहरूको उपचारका क्रममा मृत्यु भएको शाहीले बताए।
यसैगरी, दुर्घटनामा घाइते हुनेमा रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-४, छिनखेतका १७ वर्षीय सुजल विक, बर्दियाको ठाकुरबाबा नगरपालिका-५, बनकट्टीका २६ वर्षीय दिलीप थापा र सोही नगरपालिकाका कालीगौडीका २७ वर्षीय टीकाराम खनाल रहेको शाहीले जानकारी दिए। उनीहरूमध्ये विक र खनालको अवस्था गम्भीर छ।
घाइते थापाको जिल्ला अस्पतालमै उपचार भइरहेको छ भने विक र खनाललाई थप उपचारका लागि नेपालगन्ज ‘रिफर’ गरिएको छ। बाँफिकोट क्षेत्रमा ‘फाइबर नेट’ विस्तार कार्यमा खटेका उनीहरू छिनखेतमा बस्दै आएका थिए। -रासस