लोकरिझ्याइँकै जगमा माननीय
सामाजिक सञ्जालमा उत्तेजनात्मक र अतिरञ्जनापूर्ण अभिव्यक्ति दिएकै भरमा सांसद बनेका ज्ञानेन्द्र शाहीले पटक पटक प्रतिनिधि सभा सदस्यको गरिमा बिर्सेर अशोभनीय अभिव्यक्ति दिइरहेका छन्।
काठमाडौंको सडकमा जेठ १६ गते एउटा अनौठो दृश्य देखियो। बलात्कार मुद्दामा जिल्ला अदालतबाट दोषी सावित भए पनि उच्च अदालतबाट उन्मुक्ति पाएका क्रिकेटर सन्दीप लामिछानेलाई संयुक्त राज्य अमेरिकाको भिसा दिनुपर्ने माग सहित सडक प्रदर्शनको नेतृत्व गरिरहेका एक युवा शर्टको तलतिरको तीन वटा टाँक खुस्किएको पनि पत्तो नपाउने गरी नाराबाजी गरिरहेका थिए।
ती थिए, संघीय संसद्को प्रतिनिधि सभाका सांसद ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) शाही। काठमाडौंस्थित अमेरिकी दूतावास अगाडि प्रदर्शनका लागि आउन उनले सार्वजनिक रूपमा अपील नै गरेका थिए।
उनै शाही जसले केही समयअघि शिक्षामन्त्री सुमना श्रेष्ठले ‘उत्ताउलो पोशाक लगाएको’ भन्दै एक टेलिभिजन कार्यक्रममा टिप्पणी गरेका थिए। मन्त्री श्रेष्ठमाथि उनले अर्को टिप्पणी पनि गरेका थिए, पोशाकलाई लिएर। गत वैशाखमा सम्पन्न उपनिर्वाचनमा आफ्नो पार्टीको उम्मेदवारलाई समर्थन गर्न इलाम-२ पुगेकी श्रेष्ठले रफु भरेको शर्ट लगाएको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको थियो। शाहीले त्यही तस्वीरबारे टिप्पणी गर्दै ‘सस्तो लोकप्रियताका लागि नाटक गरेको’ र ‘सोझा जनतालाई उल्लु बनाएको’ आरोप लगाएका थिए।
सांसद बनिसकेपछि उनी सडकमा पुगेको यो पहिलो पटक भने थिएन। ब्यांकको ऋण मिनाहा हुनुपर्ने माग गरिरहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले २०७९ मंसीरमा काठमाडौंमा गरेको प्रदर्शनमा पनि शाही यसैगरी सहभागी भएका थिए।
२०४७ सालको संविधान लागू हुनुपर्ने माग राखिएको त्यो प्रदर्शनलाई भिडन्ततर्फ लैजान उक्साउने काम नै शाहीले गरेका थिए। बल्खुमा प्रसाईंले ‘श्रीलंकाको जस्तो नेताको घरमै पुगेर जनताले खेदाउनुपर्ने’ भाषण गरिरहेको वेला पुगेका शाहीले भीडलाई उक्साउने गरी नेताहरूको आलोचना गरेका थिए। उनले भाषण गरिरहँदा मञ्च नजिकै रहेका अन्य कार्यकर्ता नेताहरूलाई खेदाउन सिंहदरबार कब्जा गर्नुपर्ने भन्दै भीडलाई उत्तेजित पारिरहेका थिए। उनीहरूको भाषण सकिएपछि मञ्चबाट ‘अब यो भीड सिंहदरबारतर्फ अघि बढ्छ’ भने। प्रसाईं र शाही अघि लागे भने उनीहरूलाई पछ्याउँदै भीड पनि अघि बढ्यो। जसले अन्ततः बल्खुमा प्रहरीसँग मुठभेड सिर्जना गर्यो।
सांसद भइसकेपछि पनि वेलाबखत सडकमा तनाव सिर्जना गर्न पुग्ने शाही केवल उत्तेजनात्मक अभिव्यक्तिका लागि चर्चित छैनन्। भ्रामक तथ्य प्रसारमा पनि अगाडि छन्। उनी तिनै सांसद हुन् जसले औपचारिक कार्यक्रममै ‘गाईको पिसाबमा पृथ्वीमा भएका सबै ब्याक्टेरिया र भाइरस मार्ने क्षमता भएको नासाले प्रमाणित गरेको’ दाबी गरेका थिए। उक्त दाबी मिथ्या थियो, किनभने अन्तरिक्षबारे अनुसन्धान गर्ने अमेरिकी संस्था नासाले त्यस्तो अनुसन्धान गरेकै छैन।
शाही उनै सांसद हुन् जसले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना संसद्बाट पारित भए अमेरिकी सेनाले देश कब्जा गर्ने अफवाह फैलाएका थिए। पक्कै पनि एमसीसीको विरोध गर्ने अरू राजनीतिक समूह पनि थिए। तर शाही यूट्यूब लगायत सामाजिक सञ्जालमा मिथ्या तथ्य र उत्तेजनात्मक विचार पस्कनेमध्ये अघिल्लो पंक्तिमा थिए।
सामाजिक सञ्जाल यूट्यूबमा उनको नाम लेख्नासाथ सयौं सामग्री आउँछन् जसमध्ये अधिकांश उत्तेजनात्मक, भ्रामक र स्त्रीद्वेषी पाइन्छन्। पूर्व सभामुख दमननाथ ढुंगानाको शब्दमा शाहीले अहिले गरिरहेको यस्तो अभ्यास सांसद मात्र नभई आममानिसले समेत गर्न नहुने काम हो। संसदीय आचरण सम्बन्धी लिखित नियममा यस्ता विषय उल्लेख नभए पनि सांसदले आफू प्रस्तुत हुँदा अरूको आत्मसम्मान, मान, प्रतिष्ठामा ठेस पुर्याउने, चित्त दुख्ने किसिमको अभिव्यक्ति दिन नहुने ढुंगाना बताउँछन्।
जग लोकरिझ्याइँ
राजतन्त्र पुनःस्थापना, संघीयताको खारेजी र हिन्दू राष्ट्रको नारामा राजनीति गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवं प्रतिनिधि सभामा सचेतक रहेका शाहीको पृष्ठभूमि भने पार्टी राजनीति होइन। उनको उदय नै सामाजिक सञ्जालको भरमा भएको हो।
२०७६ सालतिर उनी भ्रष्टाचार विरुद्ध ‘नेपालका लागि नेपाली’ अभियानमा संलग्न थिए। सोही अभियानका क्रममा २०७६ जेठ १५ गते सुर्खेतको वीरेन्द्रनगरको खुलामञ्चमा आयोजना गरेको भ्रष्टाचार विरुद्धको नागरिक सचेतना कार्यक्रममा वक्ता रहेका शाही कार्यक्रमस्थलबाटै प्रहरीको गिरफ्तारीमा परे। उनलाई गिरफ्तार गर्ने क्रममा शाहीका समर्थक र प्रहरीबीच झडप समेत भयो।
विद्युतीय कारोबार ऐन अन्तर्गतको कसूरमा उनी पक्राउ परेका थिए। शाहीले महालेखा परीक्षकको प्रतिवेदनको आधारमा कर्णाली प्रदेश सरकारले गरेको भ्रष्टाचार लगायत विषयमा २०७६ वैशाख १८ गते पत्रकार सम्मेलनको आयोजना गरेका थिए। तर उनका कार्यक्रममा दुई जना बाहेक पत्रकार आएनन्। पत्रकार नआएको झोकमा उनले ओएसएस नेपाल डटकम र आफ्नो फेसबूक पेज मार्फत कर्णाली प्रदेशका पत्रकारलाई निम्न स्तरका शब्द प्रयोग गर्दै लाञ्छना लगाए।
शाहीको अन्तर्वार्ता सार्वजनिक भएपछि नेपाल पत्रकार महासंघ, कर्णाली प्रदेशका अध्यक्ष दुर्गा थापा र जिल्ला शाखा अध्यक्ष गणेशकञ्चन भारतीले पत्रकारको मानमर्दन गरेको भन्दै जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा उजुरी दिए। उक्त उजुरी प्रहरीले महानगरीय प्रहरी परिसर, काठमाडौंमा विद्युतीय कारोबार ऐन अन्तर्गतको कसूरको मुद्दा दर्ता गरायो। जिल्ला अदालत, सुर्खेतको स्वीकृतिमा प्रहरीले उनलाई गिरफ्तार गरेको थियो।
शाहीलाई हिरासतमा राखेर कुटपिट गरेको, पछाडिबाट हतकडी लगाई १८ घण्टाको यात्रामा सार्वजनिक यातायातमा खाली खुट्टा काठमाडौं लगेको भन्दै उनका समर्थकले राष्ट्रिय मानव अधिकार आयोगमा जेठ १७ गते उजुरी दिए। तर कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतले जेठ २० गते सुर्खेतमा पत्रकार सम्मेलन गर्दै शाहीलाई हिरासतमा यातना दिइएको भन्ने सूचना भ्रामक र कपोलकल्पित रहेको दाबी गर्यो।
यसअघि खासै चर्चामा नरहेका शाही यो घटनापछि एकाएक यूट्यूबरको नजरमा परे। उनले विभिन्न भ्रष्टाचार काण्डका फाइल हात पारेको भन्दै यूट्यूबरलाई अन्तर्वार्ता दिन थाले। सत्ता सञ्चालन गरिरहेका राजनीतिक दलहरूको व्यवहारबाट वाक्कदिक्क भएका सर्वसाधारण उनले चर्को स्वरमा नेताहरूलाई दिने तथानाम गालीबाट प्रभावित भएको देखिन्छ।
उनका हरेक भाषण र अन्तर्वार्तामा अधिकांश प्रतिक्रिया उनकै पक्षमा आए। परिणाम, उनको अभियानमा साथ दिन युवा जोडिए। उनको अभियानमा आर्थिक सहायता गर्नेको संख्या पनि बढ्न थाल्यो। वैदेशिक रोजगारीमा रहेका युवाले विभिन्न कामका लागि पठाएको आर्थिक सहायता लिएर उनी विभिन्न ठाउँ पुग्न थाले।
प्रहरीको गिरफ्तारीपछि यूट्यूबरका नजरमा परेका शाहीलाई चर्चित गराउने अर्को काम गरे, नेकपा (एमाले) का कार्यकर्ताले। २०७६ भदौ २८ गते नेपालगन्जबाट काठमाडौं आउने क्रममा तत्कालीन संस्कृति तथा पर्यटनमन्त्री योगेश भट्टराईलाई ‘प्लेन डिले’ गराएको भन्दै आफूले झपारेको भिडिओ शाहीले सार्वजनिक गरेका थिए। त्यसको भोलि पल्ट सोही घटनाको जानकारी दिन शाहीले ललितपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा एमालेका कार्यकर्ताले उनीमाथि आक्रमण गरे।
यस घटनाले शाहीलाई झनै चर्चित बनाइदियो। एमालेका नेता र विशेषगरी योगेश भट्टराई विरुद्ध उनले दिएका अन्तर्वार्ता ट्रेन्डिङमा आउन थाले।
अहिले राजतन्त्रवादी भए पनि गणतन्त्रवादी भएकै कारण शाही नेपालका लागि नेपाली अभियानबाट २०७६ मंसीर ११ गते निकालिएका थिए। शाहीले गणतन्त्रको समर्थन गरेको आरोप लगाउँदै अभियानले जारी गरेको विज्ञप्तिमा उनका गतिविधि, कार्यक्रम र अभिव्यक्तिमा अभियानको संलग्नता र समर्थन नरहेको उल्लेख गरेको थियो। यद्यपि विभिन्न मुलुकमा कार्यरत नेपाली युवाबाट सहयोग जुटाएर बाँड्ने उनको काम भने चलिरह्यो। कोभिड-१९ को समयमा पनि उनले त्यसैगरी सहयोग जुटाएर बाँडे।
सोही क्रममा बन्दाबन्दी उल्लंघन गरेको आरोपमा उनी २०७७ वैशाख ९ गते ललितपुरको सुनाकोठीबाट पक्राउ परे। सर्वोच्च अदालतले वैशाख १६ गते रिहा गर्ने आदेश दिएपछि उनको राहत वितरण पुनः शुरू भयो। सँगसँगै सरकार र प्रमुख राजनीतिक दलका नेता विरुद्ध चर्को भाषण र अन्तर्वार्ता दिन पनि छाडेनन्। उनका भाषण र अन्तर्वार्ताले समर्थक जसरी नै विरोधी पनि बढे। टेलिभिजन पनि पुगिनसकेका गाउँमा एकाएक सामाजिक सञ्जाल पुगेको फाइदा शाहीले उठाए।
पपुलिज्मः अ भेरी शर्ट इन्टरडक्शन पुस्तकमा लेखकद्वय क्यास मुड्डे र क्रिस्टोबल रोभिरा काल्टवासर भन्छन्, ‘स्थापित राजनीतिक सम्भ्रान्तको निन्दा गरेर नै लोकरिझ्याइँ उदाउँछ।’ राजतन्त्र र हिन्दू राष्ट्रको पक्षमा तथा संघीयता खारेजीको मुद्दामा राजनीति गरिरहेका शाही राजनीतिक कार्यक्रम वा नयाँ सिद्धान्तको बलमा नभई स्थापित दल र नेताको निन्दा गरेरै उदाएको उनको आजसम्मको यात्राले देखाउँछ।
लोकरिझ्याइँकै लागि उनी जस्तोसुकै अनर्गल प्रचार र लाञ्छना लगाउन पछि पर्दैनन्। अमेरिकी दूतावास विरुद्ध गरिएको प्रदर्शन सांसदका रूपमा शोभनीय थियो त भनेर जेठ २५ मा फोनमा सोध्दा उनी कड्किए।
स्टन्टको राजनीतीकरण
सामाजिक सञ्जालका फलोअर र प्रशंसक नै ज्ञानेन्द्र शाहीको शक्तिका स्रोत हुन्। यो तथ्य उनी आफैं स्वीकार गर्छन्। फलोअर संख्यालाई उनले राजनीतिमा प्रवेश गर्ने पूँजी बनाए।
२०७८ फागुन ६ मा उनी राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरे। प्रवेश गरेकै दिन उनलाई राप्रपाले प्रवक्ता समेत बनायो। त्यसको १० महीनामा उनी प्रतिनिधि सभाको निर्वाचनमा जुम्लाबाट निर्वाचित भए।
शाही जुम्लाको सिंजा गाउँपालिका-४, पिगीका बासिन्दा हुन्। शाहीसँगै जुम्लाबाट फरक विद्यालयबाट एसएलसी परीक्षा दिएका सहपाठीका अनुसार कक्षा १० सम्मको पढाइ जुम्लामा सकेपछि उच्च शिक्षा अध्ययनका लागि भारत गएका थिए। भारतमा सीए पढेको बताउने शाहीले अध्ययन भने पूरा गरेनन्।
नेपाल फर्किएर विभिन्न अभियानमा लागेर चर्चित भएका शाहीलाई मूलधारका दल र तिनका नेताको विरुद्धमा बोल्ने भएकाले जनताले रोजेको ती सहपाठीको ठम्याइ छ। माओवादी र नेपाली कांग्रेसको गठबन्धन मन नपराएका कांग्रेस कार्यकर्ताले पनि मत दिएकाले उनी निर्वाचित भएको ती सहपाठी बताउँछन्।
आफ्ना प्रशंसकले पठाएको सहयोग बाँड्ने र उत्तेजक भाषण गर्ने बाहेक शाहीको लामो राजनीतिक-सामाजिक पृष्ठभूमि छैन। तर उनी कसरी निर्वाचित भए त?
राजनीतिशास्त्री कृष्ण पोखरेलका अनुसार राजनीतिमा कस्तो मानिसको उदय हुन्छ भन्ने त्यस समाजको सामाजिक चेतना, शिक्षा र त्यहाँका नेताको विगतले प्रभावित हुन्छ। सामाजिक सञ्जालमा बनाएको इमेजका कारण कहिलेकाहीं सचेत मतदाता समेत झुक्किन सक्ने उनको भनाइ छ। “केही नगर्ने नेताहरूबाट आजित भइसकेका जनता धेरै ठूलो स्वरमा बोल्नेहरूले केही गर्लान् कि भनेर समेत मत दिन्छन्,” राजनीतिशास्त्री पोखरेल भन्छन्।
लोकरिझ्याइँवादी नेताको उदयले समाजको अहित गर्ने ठम्याइ छ समाजशास्त्री दिपेश घिमिरेको। सरकार कमजोर भएको देशमा लोकरिझ्याइँवादी आएर समस्या उजागर गरेर समाधान खोज्नेभन्दा पनि समाजलाई नै भड्काउन खोज्ने घिमिरे बताउँछन्। उनका अनुसार डिजिटल साक्षरता, सामाजिक चेतना र शिक्षाको स्तर कमजोर भएको समाजमा यस्ता मानिस छिटो हावी हुन्छन्। “हाम्रो नेपाली समाजमा भर्खरै भर्खरै इन्टरनेट र स्मार्टफोनको पहुँच बढ्दै गएको छ, पपुलिस्टहरूले त्यसलाई प्रयोग गरेर मानिसलाई भड्काइरहेका छन्, जसले दीर्घकालीन रूपमा समाजलाई नै गलत दिशामा लैजान सक्छ,” समाजशास्त्री घिमिरे भन्छन्।
ह्वाट इज पपुलिज्म पुस्तकमा जान-वर्नर म्युलर भन्छन्, ‘लोकरिझ्याइँवादी नेताले आफूलाई समर्थन गर्ने सीमित व्यक्ति नै असली जनता र आफू मात्रै उनीहरूको साँचो प्रतिनिधि भएको दाबी गर्छन्।’ शाहीले त्यसैको अनुसरण गरेका छन्। आफ्ना कर्ममाथि प्रश्न गर्ने हरेकलाई उनी जनता र देश विरोधी ठान्छन्।
“राष्ट्रको र जनताको हितमा बोल्ने म जस्तो मान्छेलाई अराजक भन्छन्, यो भन्ने पनि केही निश्चित ‘इलिट’ ले मात्र हो, धेरैले त मलाई नै मन पराउँछन्,” उनले हिमालखबरसँग फोन संवादमा भने, “म हिजो जे-जसरी बोल्थें, आज पनि बोल्छु। देश र जनताको पक्षमा बोल्नु हरेक सांसदको कर्तव्य हो।”