उपेन्द्र यादवको मुद्दालाई पूर्ण इजलासमा पठाउन सर्वोच्चको आदेश
जसपा, नेपाल विभाजन विरुद्ध अध्यक्ष उपेन्द्र यादवले दिएको रिटमाथि सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले यो रिटलाई पूर्ण इजलासमा पठाउने आदेश दिएको हो। अब यो रिटमाथि सर्वोच्चको पूर्ण इजलासमा सुनुवाइ हुनेछ।
जसपा, नेपाल विभाजन भएर अशोक राईको नेतृत्वमा जसपा गठन भएको छ। नयाँ पार्टी गठन गर्दा यसअघि नेकपा (एमाले) विभाजन हुँदा आएको अध्यादेशमा बनेको नियमावलीलाई नै आधार बनाइएको छ। एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) बनेसँगै अध्यादेश खारेज भएको थियो।
तर त्यति वेला बनेको नियमावली कायम थियो। त्यसका आधारमा निर्वाचन आयोगले राई नेतृत्वको जसपालाई मान्यता दिएको थियो।
यस विरुद्ध जसपा, नेपालका अध्यक्ष यादवले जेठ ६ मा सर्वोच्चमा रिट दायर गरेका थिए। उनले पार्टी विभाजनलाई वैधता दिने निर्वाचन आयोगको निर्णय बदर गर्न माग गरेका थिए।
सर्वोच्च अदालतले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको भए पनि अन्तरिम आदेश दिएको छैन। अन्तरिम आदेश दिने वा नदिने भन्ने निर्क्योल गर्न पूर्ण इजलासमा सुनुवाइ हुने भएको हो।