‘अब पत्रकार महासंघको नेतृत्वमा महिला आउनुपर्छ’
‘अरूलाई समावेशिता, समान सहभागिता भएन भनेर प्रश्न गर्ने पत्रकारले पनि आफ्नो संस्थामा महिलालाई नेतृत्वमा आउने बाटो खुला त गर्नुपर्यो नि!’
तीन वर्षअघि नेपाल पत्रकार महासंघको अधिवेशनबाट निर्वाचित भएर नेतृत्वमा पुग्ने दुई जना पत्रकार महिलामध्ये एक थिइन्, विमला भण्डारी। महासंघ कास्कीको अध्यक्ष बनेकी भण्डारीले देशभरकै शाखा, प्रतिष्ठान र एशोसिएट समितिहरूले भन्दा राम्रो काम गरेर देखाइन्।
यसअघि पनि महिलाद्वारा मात्र सञ्चालित रेडियोको परिकल्पना र स्थापना गरेकी थिइन्। त्यसको सफलताले उनलाई महासंघको नेतृत्व गर्न हौसला मिलेको थियो। महिला नेतृत्व र चुनौतीका विषयमा केन्द्रित भएर अध्यक्ष भण्डारीसँग हिमालखबरका लागि दुर्गा राना मगरले गरेको कुराकानी :
यतिका वर्षसम्म महिला नेतृत्वमा नभएको पत्रकारको संस्थालाई तीन वर्ष हाँक्नुभयो। कस्तो रह्यो समग्र कार्यकाल?
जीवनकै महत्त्वपूर्ण समय रह्यो। एकदमै फरक अनुभव भयो। महासंघको अनुशासनमा रहेर काम गर्ने प्रयास गर्यौं। पत्रकारको संरक्षण, सुरक्षा, क्षमतावृद्धि लगायत विषयमा काम गर्न पाउँदा खुशी नै छु।
पत्रकार त एकअर्कामा पनि कोहीभन्दा कोही कम ठान्दैनन्। एक पत्रकार र पत्रकारको संस्थाको नेतृत्व गर्दा के फरक हुँदो रहेछ?
हिजो एउटा पत्रकारका रूपमा काम गरियो। समाचार लेख्नुपर्छ, पढ्नुपर्छ, रेडियो जानुपर्छ, चलाउनुपर्छ भन्ने थियो। व्यवस्थापनका कुरा पनि थिए। रेडियोको पृष्ठभूमिबाट आएकीले त्यही विषयमा अलि बढी थाहा थियो।
महासंघको नेतृत्वमा आएपछि भने समग्र पत्रकार र सञ्चारमाध्यमबारे सिक्ने तथा क्षमता प्रदर्शन गर्ने मौका पनि पाएँ। अध्यक्ष बनेर आउँदा जति उत्साही थिएँ, अहिले जाँदा पनि उत्तिकै उत्साह बोकेर जाँदै छु।
पत्रकारहरूको नेतृत्व गर्दा लैंगिकताको दृष्टिकोणबाट के फरक महसूस गर्नुभयो?
अन्य संघसंस्थाको नेतृत्व र पत्रकारको नेतृत्व लिनुमा धेरै फरक छ। जानेका, बुझेका र समाज बुझेर लेख्नेहरूको नेतृत्व गर्नुपर्छ। यो सहज भने थिएन। फलामको चिउरा चपाए बराबर नै महसूस गरें।
शुरूको डेढ वर्ष गाह्रो भयो। अध्यक्ष महिला भनेरै धेरै ठाउँमा मलाई महसूस गराइयो। तर म त्यसबाट विचलित भइनँ। म ‘यिनीहरूले कमजोर ठानेर हुन्छ र! सक्छु, गर्छुु’ भनेरै अघि बढें। म कमजोर हुँ भन्ने अनुभूति गरिनँ। महासंघमा नेतृत्व गरेका पुरुषले जसरी नै काम गरें, अझ उनीहरूले भन्दा राम्रो काम गर्छु भनेर लागें।
महिला नेतृत्वमा आउँदा के फरक पर्दो रहेछ?
मेरो कार्यकाल सकिंदै छ। पूर्व अध्यक्षको पंक्तिमा मेरो फोटो पनि टाँसिएला। अब त्यो फोटोमा मैले आफ्नो मात्र अनुहार देख्दिनँ, पत्रकारितामा आएका महिलाको प्रतिनिधित्व देखिन्छ। महासंघ भवनभित्र छिर्दा एक जना महिला अध्यक्षको अनुहार देख्दा अरू पत्रकार महिलालाई पनि हौसला मिल्नेछ।
अहिलेसम्म महासंघको अध्यक्षका लागि महिलाले फारम भर्ने गरेका थिएनन्। अब नेतृत्वका लागि दाबी गर्नेछन्।
यस अवधिमा उल्लेखनीय के-कस्तो काम गर्न पाउनुभयो?
महासंघको संरचनामा अध्यक्षका रूपमा त्यसको गरिमा, जिम्मेवारीलाई सन्तुलनमा ल्याउन समय लाग्यो। महासंघको सदस्य हुँदै अध्यक्ष बनेकी हुँ। नेतृत्वको जिम्मेवारी त चौबीसै घण्टा जागीर खाएको जस्तो हुने रहेछ।
पत्रकार वा अन्य पुरुषलाई पनि ‘महिला अध्यक्ष हुन्, खाना पकाउँदै होलिन्, साडी लगाउँदै ठिक्क होला’ भन्ने अवस्था आउन दिइनँ। पुग्नुपर्ने ठाउँमा पुगें, पत्रकारलाई गाह्रोसाह्रो हुँदा सघाउने प्रयास गरें।
गण्डकी प्रदेश आमसञ्चार ऐन बनाउन प्रदेश सरकारलाई दबाब दिन सक्यौं। प्रेस स्वतन्त्रता विरोधी बुँदा हाम्रै दबाबमा हटाइएको थियो।
अर्को, महासंघ भवनमा ई-लाइब्रेरी तथा स्रोत केन्द्रको स्थापना गरेका छौं। यो हाम्रो ‘ड्रीम प्रोजेक्ट’ थियो। पत्रकारको क्षमता अभिवृद्धि, ज्ञान र सूचनामा सहज पहुँच पुर्याउन स्थापना गर्यौं। पत्रकारलाई अध्ययन र काम गर्न सघाउने गरी यत्तिको संरचना कुनै पनि शाखा, प्रतिष्ठानले बनाउन सकेका छैनन्। अझ काठमाडौंमा केन्द्रीय नेतृत्वले पनि बनाउन सकेको छैन। स्थानीय र प्रदेश सरकारसँग सहकार्य गरेर ई-लाइब्रेरी तथा स्रोत केन्द्र तयार गरेका छौं।
त्यस्तै, स्वास्थ्य सुरक्षाका गतिविधिमा पनि संलग्न भयौं। कार्यकालको शुरूआतमा कोभिड-१९ को जोखिम थियो। पत्रकारलाई सुरक्षा सामग्री, खोपको व्यवस्थापन, राहत सामग्री प्रदान गर्यौं। अर्को, महत्त्वपूर्ण पत्रकारको स्वास्थ्य बीमालाई पनि निरन्तरता दिइरहेका छौं।
सफल नेतृत्व गर्नुमा बाल्यकाल, परिवारको भूमिकाले कस्तो प्रभाव पार्दो रहेछ?
मेरी आमा बर्मामा जन्मेर उतै हुर्कनुभयो। आमामा छोरीलाई पनि छोरा जस्तै काम गर्ने वातावरण दिनुपर्छ भन्ने चेत थियो। बर्मामा जे देख्नुभयो, जसरी हुर्कनुभयो हामीलाई त्यसैगरी हुर्काउनुभयो। शिक्षादीक्षा दिनुभयो। म मात्रै होइन, मेरा तीनै दिदी पनि सक्रिय हुनुहुन्छ।
मेरो सैनिक परिवारको पृष्ठभूमि हो। अनुशासनले महत्त्व राख्छ। यससँगै हामीले पढ्न पनि पायौं र त्यसैगरी नेतृत्व गुण पनि विकास भयो।
सानैदेखि सरकारी जागीरमा रुचि थिएन। विदेश जाने पनि सोचिनँ। सानैदेखि मेरो ध्यान नै समाजसेवा, समाजमा पछि परेका मान्छेका लागि काम गर्नुपर्छ भन्नेतिर गयो।
अर्को, २०५९ सालयता केही वर्ष आमा समूह गठन हुन थाले। धेरै आमाहरूलाई कसरी काम गर्ने भन्ने थाहा थिएन। एसएलसी दिए लगत्तै आमाहरूसँग काम गर्ने मौका पाएँ। त्यो वेला महिलाका समस्या, हिंसामा परेका महिला, विभेदमा परेका व्यक्तिसँग संगत भयो, उनीहरूको पक्षमा बोल्न थालें।
बाल्यकालको हुर्काइ, पारिवारिक वातावरणले नै मान्छेलाई कसरी अघि बढ्ने भन्ने सिकाउँछ, ऊर्जा दिन्छ। मेरो हुर्काइबढाइले पनि त्यो काम गर्यो। त्यसैले हरेक आमाबुबाले छोरीलाई सानैदेखि काम गर्ने, अघि बढ्ने र नेतृत्व लिने प्रेरणा दिनुपर्छ।
पत्रकार महासंघमा अब महिला नेतृत्व आउनेमा कति आशावादी हुनुहुन्छ?
अब त कसैले रोकेर रोकिन्न। रोक्यो भने पनि त्यो अन्याय हुन्छ। म आउँदा पनि ‘यिनले चलाउन सक्लिन् र महासंघ’ भन्थे। प्रश्नको घेराबाटै आएको हुँ। ती प्रश्नको उत्तर आउने गरी काम गर्यौं।
पत्रकार महासंघमा देशभरबाट प्रत्यक्ष निर्वाचन जितेर आउने धनुषा र कास्कीमा मात्र हौं, महिला। अब यस पालिको निर्वाचनमा देशभर आधाभन्दा बढी ठाउँमा महिला नेतृत्व आउनुपर्छ। पत्रकार महिलालाई टिकट दिनुपर्छ र उनीहरूले पनि त्यसका लागि दाबी गर्नुपर्छ। लामो समय पत्रकारिता गरेका महिला छन्। अब उनीहरूलाई छेक्नु हुँदैन।
पोखरामा महिलाद्वारा सञ्चालित रेडियोको स्थापना, सञ्चालन गरेर उदाहरण नै देखायौं। अहिले कास्कीको नेतृत्वबाट कम्तीमा गण्डकी प्रदेशका ११ जिल्लामा त सन्देश प्रवाह भएको छ। महिलाको नेतृत्वमाथि शंका गर्नुपर्ने कुनै कारण छैन। क्षमता देखाउने अवसर त पनि पाउनुपर्यो। अब पत्रकार पुरुषमा पनि महिलामैत्री सोच हुन आवश्यक छ।
महिलालाई नेतृत्वदायी भूमिकामा ल्याउने वातावरण कसरी बनाउने त?
बाटो सहज त छैन। महिलाले पनि पहिले आत्मविश्वास राख्नुपर्यो। आफैंमा आत्मविश्वास भएन भने अरूले बनाइदिएर पनि हुँदैन।
अर्को, क्षमता र अनुभव पनि चाहियो। विषयगत ज्ञान हुन्छ। सबैको लेख्ने, बोल्ने क्षमता पनि हुन्छ। यससँगै संगठन सञ्चालनका लागि चाहिने क्षमता विकास गर्नुपर्यो। अहिले जसरी पत्रकारिताका ‘कन्टेन्ट’ मा महिलाका विषयको खोजी हुँदैछ, अब नेतृत्व पनि खोजिनुपर्छ।
अहिले नेतृत्वमा दाइ पत्रकार हाबी छन्, अब दिदी पत्रकार आउनुपर्छ, त्यो अवसर पाउनुपर्छ। महासंघमा पनि नेतृत्वदायी भूमिका, निर्णय लिने ठाउँमा पत्रकार महिला सहभागी हुनुपर्छ, गराउनुपर्छ।
अन्त्यमा, महासंघको चुनाव आउँदै छ। केही भन्नु छ?
महिला साथीहरू पनि एकजुट हुनुपर्छ। पत्रकारमा पनि महिलालाई फुटाइदिने अनि पुरुष छिर्ने प्रवृत्ति छ। पुरुषहरू महिलाको विरुद्ध लाग्नुपर्यो भने सबै एकजुट भएर लाग्छन्। त्यो त मैले पनि भोगें।
पत्रकार महासंघको अध्यक्ष हुँदा कति ठूलो कुरा गरेको भन्ने लाग्ला। यो अन्य संघसंस्थाको जस्तो सहज हुँदैन। फेरि यही असहजतालाई जितेर हिंड्नुको मजा पनि बेग्लै छ। एक चरणमा त म आगाको भुंग्रोमाथि नै हिंडें।
अब महिला नेतृत्वको अभियानमा लाग्न जरुरी छ। यसमा पत्रकार पुरुषले पनि साथ र सहयोग गर्नुपर्छ। अर्को, अरूलाई समावेशिता, समान सहभागिता भएन भनेर प्रश्न गर्ने पत्रकारले पनि आफ्नो संस्थामा महिलालाई नेतृत्वमा आउने बाटो खुला त गर्नुपर्यो नि!