विश्वलाई नेपाली फट्यांग्रा चिनाइरहेका मदन
फट्यांग्राबारे अनुसन्धान थालेको पाँच वर्षमै मदन सुवेदीले नेपालबाट विश्वलाई नौ वटा नयाँ प्रजाति चिनाइदिएका छन्।
कीटविज्ञानमा स्नातकोत्तर गरेका ३० वर्षीय मदन सुवेदी पेशाले कृषि अधिकृत हुन्। चार वर्षदेखि कृषि तथा वन विज्ञान विश्वविद्यालयको गोरखास्थित कृषि विज्ञान केन्द्रमा कार्यरत उनी फट्यांग्राको अनुसन्धानमा विशेष रुचि राख्छन्। फट्यांग्रामा पनि ‘ग्राउन्ड होपर’ प्रजातिमा केन्द्रित छन्। यो नेपालमा खासै अध्ययन नभएको जीव हो।
पर्वतको मोदी गाउँपालिका-५, बाजुङका सुवेदी फट्यांग्रा अध्ययनकै क्रममा यसैसँग सम्बद्ध अनुसन्धाता एवं वैज्ञानिक आबद्ध रहेको ‘द अर्थोटेरिस सोसाइटी’ सँग जोडिन पुगे। त्यही वेला सोसाइटीले संसारभर १५ अध्येतालाई अनुसन्धानवृत्ति दिन प्रस्ताव मागेको थियो। उनले पनि प्रस्ताव हाले, करीब एक लाख ५० हजार रुपैयाँको अनुसन्धानवृत्ति पाई पनि हाले।
यही अनुसन्धानवृत्ति अन्तर्गत सुवेदीले मध्य नेपालका २५८ मिटरदेखि एक हजार ७५८ मिटर उचाइसम्मका धानबालीमा पाइने फट्यांग्राबारे अध्ययन गरे। यो अध्ययन उनले आफू अध्ययनरत चितवन र गृहजिल्ला पर्वतमा गरेका थिए। “त्यही अध्ययन नै मलाई शून्य तहदेखिको सिकाइ भयो,” उनी सुनाउँछन्।
यही क्रममा सुवेदीले जर्मन वैज्ञानिक सिग्फ्रिड इन्ग्रिसले नेपालमा गरेको अध्ययन फेला पारे। त्यसमा नेपालमा ‘ग्राउन्ड होपर’ का ५९ प्रजाति भेटिएको विवरण थियो। “नेपालमा फट्यांग्रामा अध्ययन गर्ने लगभग इन्ग्रिस मात्र रहेछन्। इन्ग्रिसले सन् २००६ सम्म नेपालमा अध्ययन गरेको पाएँ,” सुवेदी भन्छन्, “त्यसपछि इमेल मार्फत सम्पर्क गरेर उनीबाट सक्दो सहयोग लिएँ।”
इन्ग्रिसको सूचीमा रहेका र आफैंले थपेका गरी ६७ वटा ‘ग्राउन्ड होपर’ मा आधारित भई उनले स्नातकोत्तर तहको थेसिस पूरा गरे। स्नातकोत्तर पढ्दापढ्दै जागीर थालेका सुवेदीले त्यसपछि पनि फट्यांग्राको खोजीलाई निरन्तरता दिइरहेकै छन्।
भुइँफड्के नामकरण
अनुसन्धानवृत्ति बापतको रकमबाट सुवेदीले पहिले क्यामेरा किनेका थिए। अनि फट्यांग्राका तस्वीर खिच्दै संकलन गर्न थाले। “शुरूमा भेटिएका हरेक फट्यांग्राबारे अध्ययन गर्थें,” उनी भन्छन्, “पछि अलि विशिष्ट रूपमा हेर्नुपर्यो भनेर ‘ट्रेटिगिटी’ परिवारभित्रका ग्राउन्ड होपरमा केन्द्रित भएँ।” यो प्रजातिलाई उनले नेपाली नाम दिएका छन्- भुइँफड्के।
सुवेदीले नेपालमा पहिलो चोटि पत्ता लगाएको नयाँ भुइँफड्केलाई ‘स्केयोटेट्टिक्स नेत्रज्योति’ नाम दिएका छन्। यसलाई उनले आफ्नै कार्यस्थल नजीकको नेत्रज्योति आधारभूत विद्यालयको जंगलछेउ देखेका थिए। “देखेको एक वर्षपछि बल्ल नयाँ प्रजाति भन्ने पुष्टि भयो,” उनी भन्छन्, “त्यसपछि मात्र यसबारे पेपर प्रकाशित गर्न सकें।”
यसको नाम उनले नेत्रज्योति विद्यालय र आफ्ना मित्र तथा गुरु योसिफ स्केयोको नाम जोडेर राखेका हुन्।
दोस्रो नयाँ प्रजाति चाहिं पर्वत, बाजुङस्थित आफ्नै घरछेउ पत्ता लगाए। यसलाई नाम दिएका छन्- स्केयोटेट्टिक्स कासलो।
यसमा उनले सहखोजकर्ता निको कासलोको नाम पनि जोडेका छन्। योसिफ र निको दुवै क्रोएशियाका अनुसन्धाता हुन्। यो प्रजातिको नेपाली नाम चाहिं ‘बाजुङको भीरफड्के’ राखिएको छ।
घ्याल्चोककै तिरतिरे खोलाछेउ भेटिएको तेस्रो प्रजातिलाई सुवेदीले नेपाली हास्यव्यंग्य लेखनका शिखर पुरुष भैरव अर्याललाई जोडेर ‘अर्यालिडोन्टा इतिश्री’ नाम दिएका छन्। अछामको रामारोशनमा फेला परेको अर्को प्रजातिको नाम चाहिं पत्नी समिताको नामबाट ‘हेडोटेट्टिक्स समिते’ राखेका छन्।
रामारोशन क्षेत्रमा खोज गर्न अर्थोटेरिस सोसाइटीले नै अनुसन्धानवृत्ति दिएको थियो। “तीन लाख रुपैयाँ जतिको त्यो ग्रान्डबाट केही रकम बचत गरेर शिवपुरी क्षेत्रमा पनि अध्ययन गरें,” उनी भन्छन्।
शिवपुरीमै पाँच प्रजाति
गत वर्षको वर्षातमा उनको खोजले थप नतीजा दियो। शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा मात्र थप पाँच प्रजातिका भुइँफड्के पत्ता लागे। यिनीहरूको व्याख्या र वर्गीकरण सहितको खोजपत्र उनले निको र योसिफको सहकार्यमा प्रकाशित गरेका छन्।
शिवपुरी अन्तर्गत सुन्दरीजल क्षेत्रमा भेटिएको फट्यांग्रालाई साहित्यकार रोचक घिमिरेको नामबाट अर्यालिडोन्टा रोचकी नाम दिइएको छ। त्यस्तै, अन्य प्रजातिलाई सुवेदीले नेत्रविशेषज्ञ सन्दुक रुइतको नामबाट हेवार्डिटिक्स सन्दुकी, महजोडीको नामबाट स्केयोटेट्टिक्स महजोडी, राजा महेन्द्रको नामबाट स्केयोटेट्टिक्स महेन्द्राइ र गायक झलकमान गन्धर्वको नामबाट लेमेलिटेट्टिगोडेस झलकमानी नाम दिएका छन्।
“नयाँ खोज सहित हालसम्म शिवपुरी क्षेत्रमा भुइँफड्केका ११ प्रजाति पाइएका छन्,” उनी भन्छन्। सुवेदीले अभिलेख गरेका सबै फट्यांग्राबारे जर्नल अफ अर्थाेप्टेरामा लेख प्रकाशित छन्। उनका अनुसार नेपालमा ३३० प्रजातिका फट्यांग्रा पाइएकोमा ७८ प्रजाति भुइँफड्केका छन्।
यस बाहेक सुवेदीले अछामको रामारोशनबाट बोलिभारिटेट्टिक्स इनसिग्निस, शिवपुरीबाट कोप्टोटेटिक्स प्रबलम्याटिकस र गोरखाको घ्याल्चोकबाट बिबरेक्ट बर्माना, फ्लेवोवा एन्टिनाटा, क्यारिएनडा कचरा र गोनिस्टा बाइकलर गरी ६ प्रजातिको अभिलेख राखेका छन्। यी ६ वटै प्रजाति नेपालमा यसअघि अभिलिखित थिएनन्।
सुवेदीका अनुसार भुइँफड्केले बाली-बिरुवालाई हानि गर्दैनन्। पानीको छेउछाउ भेटिने यिनले मलिलो माटो, लेउ र झ्याउ खान्छन्। केही धान खेतमा पनि पाइन्छन्।
माकुरा, भ्यागुता, चराचुरुंगीको आहारा रहेका भुइँफड्केहरू खाद्यान्न चक्रको स्थिति देखाउने जैविक सूचक पनि हुन्। “कुनै एउटा जीव लोप हुँदा खाद्य शृंखला नै खलबलिन्छ,” उनी भन्छन्, “प्रकृतिको सन्तुलन कायम गर्न अन्य जीव जस्तै फट्यांग्रालाई पनि संरक्षण गरिनुपर्छ।”
कार्यकक्षमै संग्रहालय
स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्दा ताका सुवेदी फट्यांग्राका संकलित नमूनाहरू विश्वविद्यालयकै प्रयोगशालामा राख्थे। पहिचान भएका नयाँ प्रजातिका नमूना चाहिं पछि पोखराको पृथ्वीनारायण (पीएन) क्याम्पसमा रहेको अन्नपूर्ण प्राकृतिक इतिहास संग्रहालय र अन्नपूर्ण संग्रहालयमा पनि राखेका थिए। अहिले भने आफ्नै कार्यालयमा सानो संग्रहालय बनाएर राखेका छन्।
अब घ्याल्चोकस्थित कार्यालयको कीट संकलन केन्द्रमै खेतबारी एवं जंगलमा पाइने कीराका नमूना समेत राख्ने उनको योजना छ। सुवेदीका अनुसार कीराको नमूना जोगाउनु निकै जटिल काम हो। “कपूर राखेर मात्र जोगाउन नसकिंदो रहेछ। आर्द्रता र तापक्रम व्यवस्थापन गरेर राख्नुपर्ने हुन्छ। त्यो सुविधा मसँग छैन,” उनी भन्छन्।
यस्ता नमूना संरक्षणमा ‘होलोटाइप’ र लेबलिङ गर्नु निकै महत्त्वपूर्ण मानिन्छ। प्रजातिको बाहिरी आवरण जस्ताको तस्तै देखिने गरी राख्नु होलोटाइप हो। लेबलले चाहिं त्यो जीवको विशेषता के हो भन्ने जानकारी दिन्छ।
सुवेदीका अनुसार अहिले नमूनाहरू सामान्य किलामा कोपेर राख्नुपर्दा खिया लाग्ने समस्या छ। यसका लागि छुट्टै इन्सेक्ट पिन चाहिन्छ जुन खियारहित हुन्छ। कीराको आकार अनुसारकै पिन प्रयोग गर्नुपर्ने हुन्छ। त्यसैले उनले पछिल्लो चोटि आफन्तसँग विदेशबाट यस्तो पिन मगाएर काम चलाइरहेका छन्।
कीराहरूको अध्ययन गर्न पर्याप्त उपकरण र बजेट समेत नरहेको सुवेदीको भनाइ छ। “कीराहरूको विशेषता अध्ययन गर्न स्टेरियो माइक्रोस्कोप प्रयोग गर्नुपर्छ। तर हामीकहाँ धेरैजसो क्यामेराले फोटो खिचेकै भरमा अध्ययन गर्नुपर्ने स्थिति छ,” सुवेदी भन्छन्, “अझ गहिरो अध्ययन गर्न त डीएनए परीक्षण गर्ने उपकरणसम्म आवश्यक पर्छन्।”