अन्तर्राष्ट्रिय विकास संघको बैठक नेपालमा, विश्व ब्यांकका अध्यक्ष आउँदै
बहुपक्षीय विकास साझेदार विश्व ब्यांकका अध्यक्ष अजय बंगा अर्को साता नेपाल आउँदै छन्।
असार ४-७ गते काठमाडौंमा आयोजना हुने विश्व ब्यांक समूह अन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए)को बैठकमा सहभागी हुन ब्यांकका अध्यक्ष बंगा नेपाल आउन लागेका हुन्। त्यस्तै, ब्यांकको दोस्रो वरीयताका विकास नीति र साझेदारी विभाग हेर्ने वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भ्यान ट्रोट्सनबर्ग, ब्यांकका नौ जना उपाध्यक्ष र पाँच निर्देशक वाशिङटनबाट नेपाल आउँदै छन्।
विश्व ब्यांकका साझेदार ९० भन्दा बढी देशका ३०० भन्दा बढी प्रतिनिधि बैठकमा सहभागी हुने अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपालले बताए। विश्व ब्यांकद्वारा नेपालमा आयोजित यो अहिलेसम्मकै ठूलो कार्यक्रम हो।
आईडीएको २१औं बैठक आयोजना गर्न विभिन्न देशले प्रस्ताव पेश गरेका थिए। यसमध्ये अन्तिमसम्म प्रतिस्पर्धी ताजकिस्तानलाई पन्छाएर विश्व ब्यांक सञ्चालक समितिले नेपाललाई रोजेको थियो। नेपालले ६ वर्षअघि पनि आईडीए बैठक काठमाडौंमा आयोजना गर्न पहल गरेको थियो।
अर्थ मन्त्रालयले बैठक व्यवस्थापनका लागि सचिव मधुकुमार मरासिनीको नेतृत्वमा आयोजक समिति र मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख नेपालको संयोजकत्वमा व्यवस्थापन तथा समन्वय समिति गठन गरेको छ।
सन् १९६० मा स्थापना भएको आईडीए विश्व ब्यांकको सहुलियतपूर्ण ऋण र अनुदान तथा आर्थिक विकासमा पछि परेका मुलुकका लागि बहुपक्षीय सहायता प्रदान गर्ने निकाय हो। यसले न्यून र मध्यम आय भएका विश्वका ७५ भन्दा बढी मुलुकमा सहायता उपलब्ध गराउँदै आएको जनाइएको छ।
आईडीएको बैठक हरेक तीन वर्षमा हुने गरेको छ। यस पटक बैठकको प्रमुख अजेन्डा विकासोन्मुख मुलुकको आर्थिक विकासमा कसरी थप सहयोग गर्ने भन्ने तय गरिएको अर्थमन्त्री वर्षमान पुनको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
बैठकपछि अध्यक्ष बंगा सहित उच्च अधिकारीले काठमाडौं उपत्यका आसपास विश्व ब्यांक सहित विकास साझेदारका लगानीमा निर्माणाधीन विभिन्न नौ वटा आयोजनाको स्थलगत निरीक्षण गर्ने कार्यक्रम छ।
विश्व ब्यांकले संखुवासभामा निर्माण हुने एक हजार ६३ मेगावाटको अर्धजलाशययुक्त माथिल्लो अरुण जलविद्युत् आयोजना र ६३५ मेगावाटको दूधकोशी जलाशययुक्त आयोजनामा लगानीको तयारी गरिरहेको छ।