पश्चिम तराईमा लू चल्ने सम्भावना
जल तथा मौसम विज्ञान विभागले पश्चिम तराईका भूभागमा अत्यधिक गर्मी बढ्ने र लू चल्ने सम्भावना भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ।
विभागको मौसम पूर्वानुमान महशाखाले विशेष बुलेटिन जारी गर्दै सावधानी अपनाउन अनुरोध गरेको हो। विभागका मौसमविद् बिनु महर्जनले मुख्यगरी सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा गर्मी बढ्ने अनुमान गरिएको बताइन्।
विभागले जारी गरेको बुलेटिनमा पनि सुदूरपश्चिम र लुम्बिनीका तराईका जिल्लामा जेठ २८ गतेसम्म लू चल्ने सम्भावना रहेको उल्लेख छ। “तराईका भूभागमा जेठ २८ गतेसम्म तातो हावासँगै तातो लहर ‘लू’ को सम्भावना रहेकाले त्यसको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ,” बुलेटिनमा भनिएको छ।
यस वर्षको सबैभन्दा बढी अधिकतम तापक्रम नेपालगन्जमा ४४.२ डिग्री सेल्सियस र धनगढीमा ४४.१ डिग्री सेल्सियस मापन भएको थियो। केही दिनयता तापक्रम फेरि बढ्दै गएको छ।
तातो हावा तथा तातो लहरले थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोश हुने, मांसपेशी दुख्ने, बान्ता आदि हुन सक्ने चिकित्सक बताउँछन्।
यसबाट जोगिन गर्मीको समयमा दिउँसो घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित पानी तथा झोल पदार्थ जूस, सर्वत आदि प्रशस्त मात्रामा पिउने गर्नुपर्छ।