के एआईको उपयोगले मेडिकल अनुसन्धानमा जनावरमाथिको परीक्षण रोकिएला?
पशुप्रेमी वा प्रयोगशालाका प्राविधिक कसैले पनि जनावरमाथिको प्रयोगात्मक परीक्षण रुचाउँदैनन्।
जनावरमाथि परीक्षण गरिएका औषधि तथा अन्य रसायन मानवीय प्रयोगका लागि उपयुक्त छन् भन्ने सुनिश्चित गर्न परीक्षण गरिन्छ। अनुसन्धाताले लामो समयदेखि जनवारमाथिको परीक्षणको विकल्प के होला भन्ने सोचिरहेका थिए। अहिले आएर ‘आर्टिफिसियल इन्टेलिजेन्स (एआई)’ ले यस विकल्पलाई अघि बढाइरहेको छ।
यस क्षेत्रमा एआईको प्रयोग सरल छ तर यो प्रभावकारी भएको देखाएको छ। एआईको प्रयोगले उपलब्ध भएका सबै जनावरमाथि गरिएका परीक्षणको परिणामलाई पहिल्यै जाँच्ने र अनावश्यक हुने सक्ने नयाँ परीक्षणलाई रोक्ने गर्छ।
अमेरिकी गैरनाफामूलक संस्था फिजिसियन कमिटी अफ रेस्पोन्सिबल मेडिसिनका जोसेप मानुपेल्लोका अनुसार यो विधि उपयोगी हुनेछ, किनकि वैज्ञानिकलाई उनीहरूले के पत्ता लगाउन खोजेका हुन् भन्ने निष्कर्ष निकाल्न र विश्लेषण गर्न दशकौंका तथ्यांक परीक्षण गर्न गाह्रो हुन्छ।
“म च्याट जीपीटी जस्ता एआईको धेरैभन्दा धेरै लाभ उठाएर हामीसामु उपलब्ध सबै तथ्यांकको निचोड निकाल्न र यस मार्फत समीक्षा निकाल्न उत्साहित छु,” उनी भन्छन्।
थोमस हार्टुङ अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयको प्राणीशास्त्रका प्राध्यापक हुन्। सेन्टर अफ अल्टरनेटिभ्स टु एनिमल टेस्टिङका निर्देशक समेत रहेका हार्टुङ भन्छन्, “वैज्ञानिक अनुसन्धानात्मक लेखहरूबाट जानकारी साभार गर्ने काममा एआई मानिस जत्तिकै राम्रो छ।”
नयाँ रसायनको परीक्षण गर्नुपर्ने भएकाले नै जनावरमाथिको परीक्षण आवश्यक ठानिएको प्राध्यापक हार्टुङ बताउँछन्। प्रत्येक वर्ष एक हजारभन्दा धेरै त्यस्ता रसायनले यस क्षेत्रमा प्रवेश पाउँदा परीक्षण गर्नुपर्ने संख्या अथाह हुन पुग्ने उनको भनाइ छ।
हार्टुङका अनुसार प्रशिक्षित एआई प्रणालीले रसायनको विषाक्तता परीक्षण निर्धारण गर्न थालेको छ, जुन सुखद हो। “स्वीच थिच्नासाथ प्रारम्भिक मूल्यांकन पाउँदा हामीलाई समस्या कहाँनिर छ भन्ने थाहा हुन्छ, जुन असाध्यै सहयोगी हुनेछ,” उनी भन्छन्।
ट्याक्सिकोलोजीमा सफ्टवेयरको उपयोग धेरै वर्षदेखि हुने गरेको भए पनि एआईले भने अग्रगामी छलाङ मार्न मार्गप्रशस्त गरेको उनको धारणा छ। “यसले नयाँ अवसरहरू सिर्जना गरेको छ, जुन पहिला उपलब्ध थिएन,” उनी भन्छन्, “अहिले त परीक्षणको हरेक चरणमा एआईको प्रयोग हुने गरेको छ। अब त पहिलो चरणको औषधि निर्माणमा पनि एआईकै उपयोग हुन थालेको छ।”
निश्चय पनि एआई प्रणालीले रासायनिक सुरक्षा प्रदान गर्ने कुरामा ढुक्क बनाउन सक्दैन। यसको एउटा कारण तथ्यांकीय पूर्वाग्रह हो।
यदि एउटा एआई र यसको अल्गोरिदम प्रणालीलाई एक निश्चित जातीय समुदायको स्वास्थ्य तथ्यांकमा प्रशिक्षित गरिएको छ भने त्यो तथ्यांक अर्को जातीय समुदायलाई उपयुक्त नहुने खतरा हुन्छ। तर प्राध्यापक हार्टुङ कतिपय अवस्थामा मानवनिर्मित औषधिको जनावरमाथिको परीक्षण खासै उपयोगी नहुन सक्ने औंल्याउँछन्।
उदाहरणका लागि आर्थराइटिसको औषधिले प्राणी अनुसन्धानको चरण त पार गर्यो, तर त्यसको उपयोग गर्नेहरूमा हृदयाघात र स्ट्रोकको जोखिम बढेको अध्ययनमा देखियो। त्यसपछि त्यो औषधि बिक्रीमा प्रतिबन्ध लगाउनुपरेको थियो।
अर्कातिर, केही प्रचलित औषधि जनावरमाथिको अनुसन्धानको चरणमै असफल भएका थिए। जसमा पेनकिलर एस्पिरिन पनि पर्छ, जुन मुसाको भ्रूणका लागि साह्रै विषाक्त मानिन्छ।
प्राध्यापक हार्टुङको निष्कर्ष छ, केही केसमा त एआईको निष्कर्ष जनावरमा हुने परीक्षणभन्दा पनि सही हुने गरेको छ।
आउँदा दिनमा जनावरमाथिको परीक्षणलाई प्रतिस्थापनको प्रयास गर्न निर्माण गरिएको एउटा एआई एनिमल-जीएएन हो। अमेरिकाको खाद्य तथा औषधि प्रशासन, एफडीएले विकास गर्दै गरेको यो एपको उद्देश्य कुनै पनि रसायनमा मुसाले कस्तो प्रतिक्रिया दिन्छ भन्ने निष्कर्ष निकाल्नु हो। यस एआईलाई एक हजार ३१७ पटक ६ हजार ४४२ मुसाको तथ्यांकबारे प्रशिक्षित गरिएको थियो।
भर्चुअल सेकेन्ड स्पिसिज नामको यस्तै प्रकृतिको अर्को एआईमा कुकुरको तथ्यांकलाई प्रशिक्षित गरिंदै छ, जहाँ कुकुर परीक्षणका ऐतिहासिक नतीजाको तथ्यांकमा एआईलाई प्रशिक्षित गरिएको छ।
बेलायतको न्याशनल सेन्टर फर रिप्लेसमेन्ट, रिफाइनमेन्ट एन्ड रिडक्शन अफ एनिमल्स इन रिसर्चकी क्याथी विकर्स नयाँ औषधिहरू हाल मानवीय परीक्षणमा शुरू गरिनुअघिको विषाक्तता जाँच्न मुसा र कुकुर दुवैमा परीक्षण गर्ने गरिएको बताउँछिन्। एआई मार्फत नै पूर्ण परीक्षणको स्वीकृति पाउन अझै केही समय लाग्ने विकर्सको भनाइ छ।
क्रुयल्टी फ्री इन्टरन्याशनलकी निर्देशक इम्म ग्रेन्ज पशुमाथिको परीक्षणलाई पूर्ण रूपमा प्रतिबन्ध लगाउन सबै किसिमको काम गरिनुपर्ने तर्क गर्छिन्। “एआई लगायत नयाँ प्रविधिले कसरी जनावरमाथिको परीक्षणको विकल्प देला भन्ने अहिले नै प्रस्ट भइसकेको छैन,” ग्रेन्ज भन्छिन्, “तर हामीलाई के थाहा छ भने, स्वास्थ्य र वातावरणको सुरक्षाका लागि जनावरलाई प्रयोग गर्ने विधि पुरानो हो र एआई वा अन्य प्रविधिले जनावरमाथिको परीक्षणलाई कम गर्ने आशा गरौं।”
यद्यपि जनावरमाथि हुने गरेको औषधीय परीक्षण एकाएक कम हुने वा रोकिने सम्भावना तत्कालका लागि नभएको तर्क गर्छिन्, जर्मन औषधि निर्माता कम्पनी मर्ककी प्रमुख भेटेरिनरी अधिकृत क्रिस्टिन क्लेन्स्मिथ-डर। उनको संस्थाले भर्चुअल सेकेन्ड स्पिसिजलाई प्रायोजन पनि गरेको छ।
“राम्रो उद्देश्यका लागि कतिपय अवस्थामा जनावरमाथिको परीक्षण आवश्यक पनि देखिन्छ,” उनी भन्छिन्, “तर हामी आशा गरौं कि भविष्यमा जब हामीले जनावरबारे राम्रो बुझाइ हासिल गर्दै आजका अनभिज्ञतालाई पार गर्नेछौं, त्यो वेला पशु परीक्षणविना पनि हाम्रा समस्या समाधान गर्न सक्ने हुनेछौं।”
(बीबीसीबाट महेश्वर आचार्यले गरेको अनुवाद।)