प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगित
प्रतिनिधि सभाको आइतबारको बैठक सूचना टाँसेर स्थगन गरिएको छ।
प्रतिनिधि सभाको आजको बैठकमा विनियोजन विधेयकमाथि छलफलको कार्यसूची थियो। आजदेखि मन्त्रालय बजेटमाथि छलफल गर्ने तयारी थियो।
बैठकअघि सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकको बैठक बोलाएका थिए। बैठकमा प्रमुख सचेतकहरूले बजेट पुस्तिका अध्ययनका लागि समय मागेका हुन्।
सांसदहरूले बजेट पुस्तिका अध्ययनका लागि समय माग गरेपछि आइतबार र सोमबार प्रतिनिधि सभाको बैठक स्थगन गर्ने सहमति भएको संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेले बताए। बैठकको सहमति अनुसार संसद् सचिवालयले सूचना जारी गरी दुई दिनका लागि प्रतिनिधि सभाको बैठक स्थगन भएको जनाएको छ। प्रतिनिधि सभाको अर्को बैठक जेठ २९ गते बस्नेछ।
बैठकमा सभामुख घिमिरे, उपसभामुख इन्दिरा राना, नेपाली कांग्रेसका सचेतक सुशीला थिङ, नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौला, नेकपा (माओवादी केन्द्र)का मुख्य सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियार र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाही सहभागी थिए।