‘सगरमाथा असन्तुलित भइसकेको छ’
‘अहिले जति पर्यटक चुचुरोमा पुगेका छन्, ती आफैले सगरमाथा चढेका होइनन्, शेर्पाले डोरीले तानेर सगरमाथा चढाइदिएका हुन्। उनीहरू शेर्पा विना सगरमाथा चढ्न सक्दैनन्।’
१०० वर्षअघि बेलायती पर्वतारोही जर्ज म्यालोरी र एन्ड्रियू अभिन सहितको टोली सगरमाथा आरोहणमा गएको थियो। ८ जुन १९२४ को बिहान म्यालोरी र अभिन सगरमाथाको छैटौं शिविरबाट माथि उक्लिने तयारीमा थिए। तर दुवै जना हराए। त्यसको ७५ वर्षपछि सन् १९९९ मा जर्ज म्यालोरीको शव आठ हजार १५० मिटरको उचाइरमा फेला पर्यो। उनीहरू सगरमाथाको चुचुरोमा पुगे कि पुगेनन् भन्ने रहस्य नै रह्यो।
यिनै पर्वतारोहीबाट प्रेरित लेखक जोन पोर्टर सन् १९८० को हिउँदमा सगरमाथा आरोहणमा गएका थिए तर चुचुरोमा पुग्न सकेनन्। अहिले माउन्ट एभरेस्ट फाउन्डेशनमा आबद्ध पोर्टर पर्वतारोहणको जेठो संंस्था अल्पाइन क्लब बेलायतका पूर्व अध्यक्ष पनि हुन्।
१०० वर्षअघिको त्यो सगरमाथा आरोहणका तस्वीर संकलन गरेर पोर्टरले पोखराको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा ‘द फाइट फर एभरेस्ट १९२४’ प्रदर्शनी गरेका छन्। यी तस्वीर संग्रहालयमै रहनेछन्। त्यस्तै, पोर्टरले एभरेस्ट रिभिजिटेड १९२४ वृत्तचित्र निर्माण गरेका छन्। यो वृत्तचित्र पनि एक वर्षपछि पोखराकै संग्रहालयमा राखिनेछ। “त्यो हिम्मत, त्यो कथालाई बिर्सनु हुँदैन भन्ने लागेर फोटो र वृत्तचित्रमा राख्ने प्रयास गरेका हौं,” उनी भन्छन्।
१०० वर्षअघि र अहिलेको आरोहण, यसमा संलग्न शेर्पा समुदाय र सगरमाथामा आएको परिवर्तन लगायत विषयमा लेखक, वैज्ञानिक एवं पर्वतारोही पोर्टरसँग हिमालखबरका लागि दुर्गा राना मगरले गरेको संक्षिप्त कुराकानी :
१०० वर्षअघिको सगरमाथा आरोहणबारे फोटो प्रदर्शनी र वृत्तचित्र निर्माण गर्ने अवधारणा कसरी आयो?
म बेलायतले सगरमाथा आरोहण प्रयास गरेको विषयमा सुन्दै हुर्किएको हुँ। सन् १९२४ मा जर्ज म्यालोरी लगायतको समूहले गरेको प्रयास सुन्दा उनीहरू नायक हुन् जस्तो लाग्थ्यो।
सन् १९२१, १९२२ र १९२४ मा लगातार गरिएको सगरमाथा आरोहणको प्रयास असफल रह्यो। जर्ज म्यालोरी र एन्ड्रियू अभिनलाई गुमायौं।
मैले पनि सन् १९८० मा सगरमाथाको आरोहण गरें। अर्को पटक अन्नपूर्ण दक्षिणको आरोहण गर्दा साथी पनि गुमाएँ। जसबारे किताब नै लेखें।
पहिलो त, फोटो प्रदर्शनी र वृत्तचित्र पर्वतारोहण र पर्वतारोहीको योगदानबारे बुझाउने प्रयास होे। अर्को, म वैज्ञानिक हुँ, लेखक हुँ, पर्वतारोही हुँ, कवि हुँ, अब चलचित्र पनि बनाई हेर्छु भनेर प्रयास गरेको पनि हुँ।
अल्पाइन क्लबको आर्काइभबाट यी तस्वीर निकालिएका हुन्। हिजो र आजका तस्वीर नियाल्दा धेरै सिक्न सकिन्छ। हामीले हाम्रा पुर्खाबाट सिक्नु पनि जरुरी छ। किनकि अतीतलाई बिर्स्यौं भने फेरि त्यही गल्ती दोहोर्याउन सक्छौं।
झन्डै साढे चार दशकअघि सगरमाथा आरोहण गर्नुभयो। त्यति वेला र अहिले सगरमाथामा के फरक भेट्नुहुन्छ?
म पनि सन् १९८० को हिउँदमा सगरमाथा आरोहणमा गएको थिएँ। मसँगै आठ जनाको टोली सगरमाथा आरोहणमा गएको थियो। त्यति वेलाका पर्वतारोही आफ्नो सीमा जान्दैनथे। सगरमाथा आरोहणका लागि थोरै समूहमा जान्थे। त्यो वेला नचढेका हिमाल थुप्रै थिए।
त्यति वेला हिमालमा जाडो नै हुन्थ्यो। हिउँ सन्तुलित नै रहन्थ्यो। मौसम पनि राम्रो थियो। तर अहिले जलवायु संकटको असर हिमालमा देखिन थालेको छ। यसको सबैभन्दा बढी असर सर्वोच्च शिखिर सगरमाथामा परेको छ। मौसम पनि परिवर्तन भएको छ। अहिले पर्वतारोहीले बेग्लै चुनौती भोगेका छन्।
त्यस्तै, हामी चढ्दा सगरमाथा धेरै हदसम्म सुरक्षित थियो। तर अहिले जोखिम बढेको छ। त्यसकारण पनि माउन्ट एभरेस्ट फाउन्डेशनबाट युवा पर्वतारोहीलाई तालीम दिन्छौं, चढ्नका लागि प्रोत्साहन पनि गर्छौं।
पर्वतारोहणमा शेर्पा समुदायबारे तपाईंको धारणा के छ?
विश्वका उत्कृष्ट पर्वतारोहीमा पर्छन् शेर्पा। उनीहरूको काम उत्कृष्ट छ, अत्यन्त गाह्रो पनि। आफ्नो ज्यानै जोखिममा राखेर यस काममा लागिरहेका छन्।
अल्पाइन क्लबका पर्वतारोहीले विना शेर्पा नै हिमाल आरोहण गरेका छन्। तर अहिले पर्यटक शेर्पाको सहयोगमा हिमाल आरोहणमा जाने गरेका छन्। जुन निकै गाह्रो काम हो।
यस्तै, शेर्पा समुदायका लागि हिमाल चढ्नु काम मात्र होइन, यसमा उनीहरू आध्यात्मिक रूपले पनि जोडिएका छन् जस्तो लाग्छ। त्यसैले उनीहरूले आफ्नो ज्यान जोखिममा राखेर पनि अरूलाई जोगाइरहेका छन्।
बर्सेनि सगरमाथा चढ्नेहरूको भीड बढेको छ, यसलाई नियन्त्रण गर्नुपर्छ कि यसरी नै आरोहण भइरहन दिनुपर्छ?
सगरमाथा आरोहणमा लाग्ने गरेको भीड नियन्त्रण गरिनु जरुरी छ। अहिले धेरै पर्वतारोहीका लागि सगरमाथा आरोहण गर्ने रुचि कम हुँदै छ। किनभने अहिले सगरमाथा पर्यटन केन्द्र बन्यो। पर्यटकको आवतजावत बढी हुन थाल्यो। यसलाई नेपाल सरकारले व्यवस्थापन गर्नुपर्छ।
त्यस्तै, सगरमाथा जाने मान्छेले यो बुझ्नुपर्छ कि सगरमाथा चढ्नु भनेको कतै छुट्टी मनाउन गए सरह होइन। सगरमाथा आरोहणमा धेरैले ज्यान गुमाएका छन्। यस वर्ष मात्र नौ जनाले ज्यान गुमाइसके। त्यसैले सगरमाथा चढ्नु कुनै ‘बकेट लिस्ट’ मा टिक लगाउनु मात्रै होइन।
अहिले त सगरमाथा जानु भनेको ‘ल म अब हङकङ जानलाई टिकट काट्छु’ भने सरह भएको छ। यसो गर्नुमा सगरमाथा आरोहणपछि ककटेल पार्टीहरूमा पुगिने, देशविदेश घुम्न पाइने र आफूलाई सगरमाथा आरोहीका रूपमा चिनाउन सकिने भएर पनि हो। अहिले सगरमाथा आरोहण यत्तिमा मात्र सीमित छ।
पर्यटकका लागि त्यो सही पनि होला। तर अहिले जति पर्यटक चुचुरोमा पुगेका छन्, ती आफैले सगरमाथा चढेका होइनन्। उनीहरूलाई शेर्पाले डोरीले तानेर सगरमाथा चढाइदिएका हुन्। उनीहरू शेर्पा विना सगरमाथा चढ्न सक्दैनन्।
शेर्पाहरूले राम्रो काम गरेका छन्, तर यो निकै जोखिमपूर्ण हो। सरकार, पर्वतारोहण समुदाय, सगरमाथा क्षेत्रका समुदाय लगायतले सन्तुलन खोज्नु जरुरी छ। किनभने अहिले सगरमाथा असन्तुलित भइसकेको छ।
अन्त्यमा, एक पर्वतारोही बन्न के हुनुपर्छ?
पर्वतारोही त्यही हो, जो कोही नपुगेको हिमाल, पहाड चढ्न हिम्मतका साथ पहिले अघि सर्छ। यो खेलकूद होइन। मान्छेका भीडबाट टाढा पुगेर अग्ला पर्वतहरू चढ्न र त्यसमा रमाउन सक्नेहरू पर्वतारोही हुन्।
अनि राम्रो कुरा यस्ता पर्वतारोही अझै छन्। अझ विशेषतः युवा पुस्ताका म्यालोरी र अभिन जस्ता उत्कृष्ट पर्वतारोही पनि छन्। हिमाल चढेर पहिलो हुनु छ भन्ने मात्र विषय ठूलो होइन, प्रकृति, विश्व, धर्तीसँग नजीक पुग्नु, यसमा रमाउन सक्नुपर्छ। हिमाल कति पटक चढ्यौं अथवा चर्चा कमायौं कि कमाएनौं भन्ने होइन, यो आफूलाई चिन्नु, प्रकृतिलाई चिन्नु हो।