प्रेमदेखि विद्रोही कविताको यात्रा
कवि सुमिनाका प्रेमदेखि विद्रोही कविताको यात्राबारे शनिबार पोखरामा परिचर्चा भएको छ।
विद्यालय जाने वेलादेखि नै सुमिना फाट्टफुट्ट कविता रच्थिन्। प्रेम, भावना र आफ्नो दैनिकीका भोगाइलाई शब्दमा उतार्थिन्।
विद्यालयपछि लेखनको सिलसिला झन् मजबूत बन्न थाल्यो। उनले समाज बुझ्दै गइन्, समाजमा रहेका विभेद, थिचोमिचो, पुरुषसत्तालाई नजिकबाट नियालिन्। जसै समाज बुझिन्, लेखनमा झन् निखार आयो।
बिस्तारै उनले विद्रोहका कविता लेख्न थालिन्। लेख मार्फत चिन्नेले बागी आवाजका रूपमा अर्थ्याउन थाले। “लेखनमा सत्ता संरचनासँग प्रश्न गर्न थालियो,” कवि सुमिनाले भनिन्, “विगत पाँच वर्षमा लेखिएका कविताको सँगालो हो, बागी स्त्रीको आत्मकथा।”
गत वर्ष प्रकाशित कवि सुमिनाको बागी स्त्रीको आत्मकथाले प्रगतिशील कविता संग्रहका रूपमा चर्चा बटुलेको छ। सोही संग्रहमाथि शनिबार पोखरामा परिचर्चा भएको छ।
र्यान्डम रीडर्स सोसाइटीले आयोजना गरेको कार्यक्रममा पत्रकार रिना थापा ‘तानी’ ले कवितामाथि अवधारणापत्र पेश गरिन्। सुमिनाका कविताले पुरुषसत्तामाथि सशक्त प्रहार गरेको थापाको भनाइ थियो।
त्यस्तै, प्रेम र विद्रोहको विरोधाभास कवितामा रहेको उनको तर्क थियो। “सदियौंदेखि पुरुषसत्ताले थिचिंदै आएका आममहिलामाथिको दमनलाई विद्रोही चेतयुक्त बागी स्त्रीको आत्मकथाले ‘म’ लेखेको छ, ‘हामी’ लेखेको छ,” थापाले भनिन्।
कवि रमेश श्रेष्ठले सुमिनाको लेखनको प्रशंसा गर्दै विश्व समुदायमा नेपाली कविता कमजोर नरहेको जिकिर गरे। भाषाका कारण नेपाली कविताको उपस्थिति संसारसामु हुन नसकेको श्रेष्ठको भनाइ थियो।