कस्तो थियो सय वर्षअघि सगरमाथा?
१०० वर्षअघि पर्वतारोहीले देखेको र भोगेको सगरमाथा अब पोखरामा हेर्न पाइने भएको छ।
१०० वर्षअघि अर्थात् सन् १९२४ मा १२ जना बेलायती नागरिक र दार्जिलिङका शेर्पा सहितको आरोहण दलले सगरमाथा चढ्ने प्रयास गर्यो। जसको नेतृत्व गरेका थिए, बेलायती ब्रिगेडियर जनरल चार्ल्स ब्रुसले। आरोहण दलमा एडवर्ड एफ नोर्टन ब्रुसपछिका नेतृत्वकर्ता थिए।
यो दलमा पर्वतारोहीहरू जर्ज म्यालोरी, बेन्टली बेथम, जियोफ्री ब्रुस लगायत सहभागी थिए। उनीहरूको आरोहण यात्रालाई कैद गर्ने जिम्मा लिएका थिए, जोन नोएरले। उनी फोटोग्राफर एवं फिल्ममेकरका रूपमा आरोहण दलमा सामेल भएका थिए।
यसअघि सन् १९२१ र सन् १९२२ मा पनि सगरमाथा आरोहणको प्रयास भएको थियो। यी तीनै पटकको आरोहण दलमा थिए, पर्वतारोही जर्ज म्यालोरी। उनीहरू तिब्बतको बाटो हुँदै सगरमाथा आरोहणका लागि गएका थिए।
त्यति वेला नेपालबाट आरोहण गर्न पाइँदैनथ्यो। राणा शासनका वेला हिमाल चढ्ने अनुमति दिइएको थिएन। जसका कारण उनीहरूले सगरमाथाको उत्तरी मोहडा रोजेका थिए।
दुई पटक असफल भए पनि तेस्रो प्रयासमा सन् १९२४ मा जर्ज म्यालोरी र एन्ड्रियू अभिन सगरमाथाको आठ हजार मिटरभन्दा माथि उक्लिए। त्यसपछि न सम्पर्क भयो न त उनीहरू देखिए। एकाएक दुवै हराए।
जर्ज र एन्ड्रियूलाई बेलायतसँगै समग्र पर्वतारोहण समुदायले बिर्सन सकेन। दुवै जनाको खोजी भइरह्यो। हराएको ७५ वर्षपछि सन् १९९९ मा जर्ज म्यालोरीको शव भने आठ हजार १५० मिटरको उचाइमा फेला पर्यो।
सगरमाथाको चुचुरो नजिक पुगेका यी दुई पर्वतारोहीले सगरमाथा चढे कि चढेनन् भन्ने यकीन हुन सकेन, रहस्यमै रह्यो।
यिनै पर्वतारोहीबारे सुन्दै उनीहरूबाट प्रेरित भएर हुर्किएका थिए पर्वतारोही एवं लेखक जोन पोर्टर। सन् १९८० को हिउँदमा पोर्टर पनि सगरमाथाको आरोहणमा गएका थिए। अहिले माउन्ट एभरेस्ट फाउन्डेशनका मानार्थ सचिव समेत रहेका पोर्टर पर्वतारोहणको जेठो संंस्था अल्पाइन क्लब, बेलायतका पूर्व अध्यक्ष पनि हुन्।
जर्ज म्यालोरी लगायत पर्वतारोहीलाई आजको पुस्ताले पनि सम्झनुपर्छ भन्ने लागेर पोर्टरले त्यति वेलाका तस्वीर संकलन गरे। तिनै तस्वीरलाई ‘द फाइट फर एभरेस्ट १९२४’ नाम दिएर पोखरामा प्रदर्शन गरेका छन्।
पोर्टरले पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा गरेको प्रदर्शन अब सधैं हेर्न पाइने भएको छ। अहिलेकै स्थानमा प्रदर्शनी यथावत् राखिने संग्रहालयकी निर्देशक निर्मला न्यौपानले बताइन्।
फोटो प्रदर्शनीको शनिबार पर्वतारोही एवं लेखक पोर्टर र गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री डा. टकराज गुरुङले संयुक्त रूपमा उद्घाटन गरेका छन्।
त्यस्तै, पोर्टरले निर्माण गरेको एभरेस्ट रिभिजिटेड १९२४ वृत्तचित्र पनि पोखरामा देखाइएको छ। यस वृत्तचित्रलाई दोस्रो पटक नेपालमा प्रदर्शन गरिएको हो।
१०० वर्षअघिको सगरमाथाको इतिहासलाई खोतल्दै हाल परिवर्तन भइरहेको सगरमाथाको परिदृश्यलाई वृत्तचित्रमा चर्चा गरिएको छ। “हामी सन् १९२४ को आरोहणबारे सुन्दै हुर्किएका थियौं,” पोर्टरले भने, “त्यो हिम्मत, त्यो कथालाई बिर्सनु हुँदैन भन्ने लागेर फोटो र वृत्तचित्रमा राख्ने प्रयास गरेका हौं।”
४० मिनेटको वृत्तचित्रमा सन् १९२४ को आरोहणमा सहभागी फिल्ममेकर नोएलले खिचेका दृश्य सहित पर्वतारोहीको अनुभवलाई सँगालिएको छ। वृत्तचित्र हेर्न भने एक वर्ष कुनुपर्नेछ। त्यसपछि पोखरास्थित संग्रहालयमा राखिने पोर्टरले बताए।