अहिले एमालेसँग एकताको सम्भावना छैन : माधव नेपाल
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अहिले नेकपा (एमाले)सँग एकताको सम्भावना नरहेको बताएका छन्।
एकीकृत समाजवादीको कोशी कमिटीले काठमाडौंमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमालेसँग एकताको सम्भावना नकारेका हुन्। बरु प्रधानमन्त्री पुष्पकमल दाहालको भूमिका सकारात्मक रहेको र यो कुरा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि सुनाएको नेपालले बताए।
प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीसँगको भेटवार्तामा भएको कुराकानी सुनाउँदै नेपालले भने, “मैले केपी ओली कमरेडसँगको भेटमा भनेको थिएँ, ल हेर्नुस्, प्रचण्डजीको भूमिका ‘पोजेटिभ’ छ, तपाईंको पनि यस्तै ‘पोजेटिभ’ हुनुपर्छ।”
त्यसमा अध्यक्ष ओलीले कुनै जवाफ नदिएको नेपालको भनाइ थियो। “उहाँ सुनेर बस्नुहुँदो रहेछ ज्यादा, चित्त नबुझेर होला, भित्रभित्रै मुर्मुरिएर पनि होला। मुर्मुरिने काम गर्नु हुँदैन,” उनले भने।
विगतका कुरा बिर्सिंदा पनि एमालेसँग तत्काल एकताको सम्भावना नदेखिएको उनको भनाइ थियो। “हिजोको कुरा पनि बिर्सौं, ठीक छ। तर अहिले एमालेसँग एकताको कुनै सम्भावना देखिएन,” नेपालले थपे, “विगतको समीक्षा नगर्दा पनि त्यो देखिएको छैन। किनभने चाहना त हुनुपर्छ नि!”
समाजवादी मोर्चा पुनर्गठन गरेर जाने तयारी भइरहेको उनले सुनाए। समाजवादी मोर्चामा रहेका सबै दलका नेतासँग र जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवसँग पनि छलफल भइरहेको उनले बताए।
अर्को प्रसंगमा अध्यक्ष नेपालले अहिलेको गठबन्धन कायम राखेर जानुपर्ने अवस्था रहेको जिकिर गरे। मधेश प्रदेशमा मुख्यमन्त्रीको प्रस्ताव आउँदा पनि नयाँ गठबन्धनमा नगएको उनको भनाइ थियो।
“मधेश प्रदेशमा हामीलाई मुख्यमन्त्री दिन प्रस्ताव आयो। यही पुरानै गठबन्धनमा बस्नुस्, मुख्यमन्त्री लिनुस्,” नेपालले भने, “हिजो आइदिएको भए कति राम्रो हुन्थ्यो।”
अहिले पुरानै गठबन्धनमा जान उचित नहुने उनको भनाइ थिाये। “केन्द्रमा एउटा र प्रदेशमा अर्को सरकारमा बस्नु उपयुक्त हुँदैन भन्ने हामीले सोच्यौं,” नेपालले थपे, “सम्बन्ध सबैसँग सुमधुर राख्न चाहन्छौं। परिस्थिति अनुसार हामीले केन्द्रीय गठबन्धनलाई कायम राखेर जानुपर्ने अवस्था छ।”