श्रीलंका बाङ्लादेशसँग पनि पराजित, नेपालसँग मंगलबार प्रतिस्पर्धा
आईसीसी टी-२० विश्वकपमा नेपालको समूहमा रहेको श्रीलंका दोस्रो खेलमा पनि पराजित भएको छ।
शनिबार बिहान भएको खेलमा बाङ्लादेशले श्रीलंकालाई दुई विकेटले पराजित गरेको हो। श्रीलंकाले दिएको १२५ रनको लक्ष्य बाङ्लादेशले १९ ओभरमा आठ विकेट गुमाएर पूरा गरेको हो।
बाङ्लादेशका लागि तौहिद हृदोयले ४०, लिटोन दासले ३६ र महमुदुल्लाहले १६ रन बनाए। अन्य खेलाडीले भने राम्रो प्रदर्शन गर्न सकेनन्।
श्रीलंकाका लागि नुवान तुशाराले चार, वानिन्दु हसरंगाले दुई, धनञ्जय डी सिल्भा र मथीशा पथिरानाले एक विकेट लिए।
यसअघि ब्याटिङ गरेको श्रीलंकाले नौ विकेटको क्षतिमा १२४ रन बनाएको थियो। श्रीलंकाका लागि पथुम निशंकाले ४७, धनञ्जय डी सिल्भाले २१, चरिथ असलंकाले १९ र एन्जेलो म्याथ्युजले १६ रन बनाए। अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्।
बाङ्लादेशका लागि मुस्ताफिजूर रहमान र रिशद हुसैनले तीन-तीन, तस्किन अहमदले दुई र तन्जिम हशन साकिबले एक विकेट लिए। यो पराजयसँग श्रीलंकाको ‘सुपर-८’ यात्रा कठिन बनेको छ। यसअघि श्रीलंका दक्षिण अफ्रिकासँग पराजित भएको थियो। अब अर्को खेल मंगलबार बिहान ५ः१५ बजे नेपाल र श्रीलंकाबीच हुनेछ।
नेपाल रहेको समूह ‘डी’ मा दक्षिण अफ्रिका, नेदरल्यान्ड्स र बाङ्लादेशले एक-एक खेल जितेर दुई-दुई अंक जोडेका छन्। नेपाल र श्रीलंकाले अंक जोड्न सकेका छैनन्।