न्यूजिल्यान्डलाई हराउँदै अफगानिस्तान ‘सुपर-८’ नजिक
आईसीसी टी-२० विश्वकपमा न्यूजिल्यान्डलाई पराजित गर्दै अफगानिस्तान ‘सुपर-८’ नजिक पुगेको छ।
शनिबार बिहान भएको खेलमा अफगानिस्तानले न्यूजिल्यान्डलाई ८४ रनले पराजित गरेको हो। अफगानिस्तानले दिएको १६० रनको लक्ष्य पछ्याउने क्रममा न्यूजिल्यान्ड ७५ रनमै समेटियो।
न्यूजिल्यान्डका लागि ग्लेन फिलिप्सले १८ र म्याट हेनरीले १२ रन बनाए। अन्य खेलाडीले भने दोहोरो अंकमा रन जोड्न सकेनन।
अफगानिस्तानका लागि फजलहक फारूकी र राशिद खानले चार-चार तथा मोहम्मद नबीले दुई विकेट लिए।
यसअघि ब्याटिङ गरेको अफगानिस्तानले ६ विकेटको क्षतिमा १५९ रन बनाएको थियो। अफगानिस्तानका लागि रहमानउल्लाह गुरबाजले विस्फोटक ब्याटिङ गरे। उनले ५६ बलमा पाँच चौका र पाँच छक्का प्रहार गर्दै ८० रन बनाए।
त्यस्तै, इब्राहिम जड्रानले ४४ र अजमातुल्लाह उमरजाईले २२ रन बनाए। न्यूजिल्यान्डका लागि ट्रेन्ट बोल्ट र म्याट हेनरीले दुई-दुई तथा लोकी फोर्गुसनले एक विकेट लिए।
यो जितसँगै अफगानिस्तान चार अंकका साथ समूह ‘सी’ को शीर्षस्थानमा पुगेको छ। यसअघि अफगानिस्तानले युगान्डालाई पराजित गरेको थियो।
अब अफगानिस्तानले पपुवा न्यूगिनी र वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्न बाँकी छ। एक खेल जितेमा ‘सुपर-८’ मा पुग्नेछ।