वन्दना राणा राष्ट्रसंघीय समितिको सदस्य निर्वाचित
महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्य सम्बन्धी संयुक्त राष्ट्रसंघीय समिति महिला विरुद्धको विभेद उन्मूलन कमिटी (सिड)को सदस्यमा वन्दना राणा निर्वाचित भएकी छन्।
गए राति अमेरिकाको न्यूयोर्कमा भएको मतदानमा राणा नेपालका तर्फबाट दोस्रो पटक सदस्य निर्वाचित भएकी हुन्। उनी १४६ मत प्राप्त गरेर सदस्य बनेकी हुन्।
राणाले आगामी सन् २०२५ देखि २०२८ सम्म कार्यभार सम्हाल्नेछिन्। नेपालका तर्फबाट विजयी भएपछि राष्ट्रसंघका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापाले सदस्य राष्ट्रहरूले गरेको सहयोगका लागि धन्यवाद दिए।
यस समितिमा २३ सदस्य रहन्छन्। समितिले विश्वव्यापी रूपमा महिलाले भोग्नुपरेका समस्या, राष्ट्रसंघमा जनाइएका प्रतिबद्धता कार्यान्वयन लगायत महिला विरुद्ध हुने हरेक प्रकारका विभेदबारे अनुगमन गर्ने गर्छ। समितिको कार्यालय जेनेभामा छ।