मधेशमा १४ सदस्यीय मन्त्रिपरिषद् गठन
मधेश प्रदेशमा सतिशकुमार सिंहको नेतृत्वमा १४ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ।
प्रदेश प्रमुख सावित्री सुवेदी भण्डारीले मुख्यमन्त्री सिंहको सिफारिशमा १३ जना मन्त्री नियुक्त गरेकी हुन्। सिंह पनि आजै बिहान मुख्यमन्त्री नियुक्त भएका थिए।
मुख्यमन्त्री सिंहले वन तथा वातावरण मन्त्रालय आफूसँगै राखेका छन्। त्यस बाहेक सरोजकुमार यादवलाई भौतिक पूर्वाधार विकास, भरतप्रसाद साहलाई अर्थ, गोविन्दबहादुर न्यौपानेलाई भूमि व्यवस्था, कृषि तथा सहकारी, युवराज भट्टराईलाई उद्योग, वाणिज्य तथा पर्यटन र राजकुमार लेखीलाई शिक्षा तथा संस्कृति मन्त्रालयको जिम्मेवारी दिइएको छ।
त्यस्तै, शत्रुधनप्रसाद सिंहलाई स्वास्थ्य तथा जनसंख्या, बेची लुंगेलीलाई ऊर्जा, सिंचाइ तथा खानेपानी, प्रमोदकुमार जयसवाललाई खेलकूद तथा समाज कल्याण, विमला अन्सारीलाई गृह, सञ्चार तथा कानून र उर्मिला चौधरीलाई श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ।
यसैगरी, तीन जनालाई राज्यमन्त्री बनाइएको छ। केशव रायलाई स्वास्थ्य तथा जनसंख्या, शारदादेवी थापालाई शिक्षा तथा संस्कृति र रञ्जुकुमारी मण्डल खंगलाई विना विभागीय राज्यमन्त्री नियुक्त गरिएको छ।
नवनियुक्त मुख्यमन्त्री तथा मन्त्रीहरूले आजै पद तथा गोपनीयताको शपथ लिएका छन्।
यो पनि पढ्नुहोस् : जनमतमा गएको डेढ वर्षमै मुख्यमन्त्री