जनमतका सिंहलाई मुख्यमन्त्री बनाउन ६ दलद्वारा दाबी पेश
जनमत पार्टीका सतिश सिंहलाई मुख्यमन्त्री नियुक्त गर्न मधेश प्रदेशका ५५ जना सांसदको हस्ताक्षर सहित ६ दलले दाबी पेश गरेका छन्।
शुक्रबार बिहान प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी समक्ष नेकपा (एमाले)का २४, जनमत पार्टीका १३, नेकपा (माओवादी केन्द्र)का नौ, नेकपा (एकीकृत समाजवादी)का सात तथा नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका एक एक सदस्यको समर्थनपत्र पेश गरिएको हो।
एमालेको संसदीय दलका नेता सरोजकुमार यादव, माओवादीको संसदीय दलका नेता भरतप्रसाद साह, जनमतको संसदीय दलका नेता महेशप्रसाद यादव, एकीकृत समाजवादीको संसदीय दलका नेता गोविन्दबहादुर न्यौपाने सहितका नेताहरू हस्ताक्षरयुक्त पत्र लिएर प्रदेश प्रमुख कार्यालय पुगेका हुन्।
यसअघि जनमत संसदीय दलका नेता यादवको नेतृत्वमा सरकार बनाउने चर्चा भए पनि जनमतले सिंहलाई अगाडि सारेको हो। जनता समाजवादी पार्टी (जसपा), नेपालका तर्फबाट मुख्यमन्त्री रहेका सरोजकुमार यादवले बुधबार प्रदेश सभाबाट विश्वासको मत नपाएपछि प्रदेश प्रमुख भण्डारीले नयाँ सरकार गठनका लागि दलहरूलाई दाबी पेश गर्न आह्वान गरेकी थिइन्।
प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेश गर्न शुक्रबार बिहान १० बजेसम्मको समय दिएकी थिइन्।