विश्वकप : पाकिस्तान सुपर ओभरमा अमेरिकासँग पराजित
आईसीसी पुरुष टी-२० विश्वकप अन्तर्गत गए राति सम्पन्न खेलमा पाकिस्तान संयुक्त राज्य अमेरिकासँग पराजित भएको छ।
टस हारेर पहिला ब्याटिङ गर्ने निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १५९ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको अमेरिकाले पनि २० ओभरमा तीन विकेट गुमाउँदै १५९ रन नै बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो।
सुपर ओभरमा पहिला अमेरिका ब्याटिङमा उत्रिएको थियो। पाकिस्तानका लागि मोहम्मद आमीरले बलिङ गरेका थिए। तर आमीरले सुपर ओभरमा सम्हालिएर बलिङ गरेनन्। उनले फालेका केही ‘वाइड’ बलमा अमेरिकी ब्याटरहरू आरोन जोन्स र हरमित सिंहले रन बटुले। आमीरले कुल सात रन अतिरिक्त दिएपछि अमेरिकाले १८ रन बनाएको थियो।
जवाफी ब्याटिङमा उत्रिएको पाकिस्तानका लागि इफ्तिखार अहमदले चार रन बनाए र ठूलो शट खेल्ने क्रममा विकेट गुमाउन पुगे। यसपछि क्रिजमा आएका शादाब खानले केवल तीन रन बनाए। बलिङतर्फ अमेरिकाका सौरभ नेत्रवाल्करले दुइटा वाइड र एउटा लेग बाई गरी कुल ६ अतिरिक्त रन दिए। १९ रनको लक्ष्य पछ्याएको पाकिस्तान सुपर ओभरमा केवल १३ रनमै समेटिएपछि खेल अमेरिकाले पाँच रनले जित्यो।
यसअघि निर्धारित २० ओभरको खेलमा पाकिस्तानले ‘पावरप्ले’ मा लगातार विकेट गुमाएको थियो। पाँचौं ओभरको चौथो बलमा पाकिस्तान तीन विकेट गुमाएर केवल २६ रन बनाएको स्थितिमा थियो। यसपछि कप्तान बाबर आजम र शादाब खानले पाकिस्तानको पारी सम्हालेका थिए। शादाब ४० र बाबर ४४ रनमा आउट हुन पुगे।
बलिङतर्फ अमेरिकाका लागि नोस्थुस केन्जिगेले तीन विकेट लिए। सौरभ नेत्रवाल्करले दुई तथा अली खान र जसदीप सिंहले समान एक विकेट लिए।
ब्याटिङतर्फ अमेरिकाका लागि मोनांक पटेलले ५० रन बनाए। आरोन जोन्सले ३६ तथा आन्द्रियस गोसले ३५ रनको पारी खेले। बलिङतर्फ पाकिस्तानका लागि मोहम्मद आमीर, नसीम शाह र हरिस रउफले समान एक विकेट लिए।
अब पाकिस्तानले विश्वकपमा आफ्नो दोस्रो खेल भारत विरुद्ध खेल्दै छ। भारत पाकिस्तानबीचको बहुप्रतीक्षित खेल यही जेठ २७ गते आइतबार राति ८:१५ मा हुनेछ।
समूह ‘ए’ मा दुई खेलमा दुई जित हात पार्दै अमेरिका अंकतालिकामा शीर्षस्थानमा छ। अमेरिकाको अर्को खेल जेठ ३० गते राति ८:१५ मा भारत विरुद्ध रहेको छ।