नेपाल यूएईसँग पराजित
फिफा विश्वकप २०२६ को छनोट अन्तर्गत दोस्रो चरणको खेलमा नेपाल यूएईसँग पराजित भएको छ।
साउदी अरेबियाको प्रिन्स मोहम्मद बिन फहद रंगशालामा सम्पन्न खेलमा यूएईले नेपाललाई ४-० गोलअन्तरले पराजित गरेको हो।
यूएईले खेलको पहिलो हाफमा दुई गोलको अग्रता लिएको थियो भने दोस्रो हाफमा थप दुई गोल गरेको थियो। यूएईका लागि हरिब अब्दुल्लाह अल्मुशरखले दुई गोल गरे भने अली सलेह अम्रो र हाजिम अब्बासले समान एक-एक गोल गरे।
अल्मुशरखले खेलको १२औं र १४औं मिनेटमा गोल गरेका थिए भने अम्रोले ५३औं र अब्बासले ७५औं मिनेटमा गोल गरेका थिए। योसँगै पाँच जितका साथ यूएई १५ अंक जोड्दै समूह ‘एच’ को शीर्षस्थानमा छ। पाँच वटै खेलमा पराजित नेपाल भने अंकविहीन छ।
नेपालले दोस्रो चरण अन्तर्गत अन्तिम खेलमा यही जेठ २९ गते यमनसँग खेल्नेछ।