‘के रे?’
आफ्नो शक्तिको दाबी हो, ‘के रे?’ परिभाषाहरूको स्वीकारोक्ति होइन। आफ्नै बलमा फेरिएका परिभाषाको एजेन्सी हो।
कक्षाकोठाका स्कूले केटाकेटीको सबैको नजर एक बालिकामाथि छ। उनी गीत गाइरहेकी छन्। संयोगले गाउँमा सुटिङको युनिट आउँछ। उनको स्वरको जादू चाल पाउँछ। युनिटको सामु पनि उनी गाउँछिन्। थोरै लजाउँछिन्।
१२ वर्ष पुग्दै गरेकी बालिकाको किशोरवयमा नपुग्दै देशभर चर्चा चुलिन्छ। काठमाडौं आउँछिन्, सिनेमा नाइँ नभन्नु लमा गीत गाउँछिन् ‘फेरि कहाँ आउँछ र घुमेर त्यो बालपनको उमेर’। किशोरी समीक्षा अधिकारी त्यसपछि बनिन् ‘न्याशनल सेलिब्रेटी’। उनको स्वरको जादूले देशै गुन्जियो। किशोरी मुस्कानको जादूले जगत् जगमगायो।
किशोरी उमेरको चञ्चलता बाँच्दै थिइन्। उनलाई मानिसहरू फूल जस्ती, जून जस्ती भन्दै थिए। किशोरी उमेर नसकिंदै नेपाली समाजले सक्ने जति भुक्तमान फर्मायो। आगोमा हालिएको फलाम जस्तै उनले सबै बाँचिन्।
त्यो बालापन गइसकेको छ, फर्केर नआउने गरी। अब उनी वयस्क गायिका हुन्। यति वेला आफूलाई किशोरी उमेरमै झन्डै ढलाएको समाजतिर फर्केर भन्दै छिन्, ‘के रे?’
प्रकाश सपुतको शब्द र संगीतमा सिनेमा बोक्सीको घरका लागि तयार गरिएको ‘फूल जस्ती रे’ गीत अहिले मानिसका ओठ ओठमा बसेको छ। संयोगले यो गीत समीक्षाकै मोहक स्वरमा गुन्जियो।
गीतमा गीतकारको शब्द, संगीतकारको लयको उतारचढाव र समीक्षाको जीवन भोगाइको मिश्रण देखिन्छ। जब उनको स्वरमा यो गीत बज्छ, लाग्छ उनका अनुभूति शरीरका कोष कोष छिचोलेर ओठसम्म आइपुग्छन्। गीतका शब्दमा जीवन भरिन्छ। जब गीतमा जीवन भरिन्छ, त्यसको उचाइ मापनभन्दा माथिको हुन्छ।
गीतको भिडिओमा चलनचल्तीको ‘ग्लामर’ छैन। ‘स्लिम-ट्रिम’ नायिकाको ज्यानको बान्की पनि छैन। सामान्य नेपाली पहिरन र जनजीवनमा छायांकन गरिएको छ। गीतमा नृत्य गर्ने केकी अधिकारीको चालभरि दुई अक्षर रन्थनिएर नाचेका छन्, ‘के रे?’
जून जस्ती रे फूल जस्ती रे
कञ्चन खोला झरनाको मूल जस्ती रे
पछि आउँछ के रे? के रे भन्दै गर्दा केकी र साना नानीहरूको ओठको मधुर मुस्कान एक्कासि फेरिन्छ। आक्रोश भरिएका आँखाहरू बोल्न थाल्छन्-
म बोक्सी, म देवी
म डार्लिङ, म बेबी
यी थरीथरी नाताले,
सुन्दरताको गाथाले
म बाँधिएकी हुँ या सजिएकी हुँ,
बुझिनँ मैले, बुझाइदेऊ कसैले!
‘के रे’ अघि र पछिका शब्दहरूले उकाली-ओराली गर्छन्। यो आरोह-अवरोहलाई संगीतको धुनले पछ्याउँछ। गायिकाको टोन उनको जीवन जस्तै सीधा रेखामा यात्रा गर्दैन। के रेको प्रश्नवाचक चिह्नसँगै कलाकारको भाव अभिव्यक्ति फेरिन्छ। गीतको भावमा कोरियाग्राफरले कल्पनाको जादू भर्छन्।
जब उनीहरू एकै स्वरमा ‘के रे’ भन्दै कड्किन्छन्, आँखाहरू मोहनी होइन, आक्रोशको ज्वालाले तातिन्छन्, मथिंगल घुम्छ। आइमाईको माधुर्य र कोमलता मात्र स्वीकार्य मान्ने समाजलाई तिनको आक्रोशले तरंगित पार्छ। बाल कलाकारको आँखाको सतर्कताले तान्छ। सामाजिक सञ्जालमा बालिका, किशोरी, युवती र प्रौढहरू सबैले यो गीतमा आफूलाई भेटेका छन्। आआफ्नै पाराले गीतका शब्दमा अभिव्यक्त भएका छन्।
‘बुझिनँ मैले’ भन्नु नबुझ्नुको स्वीकारोक्ति होइन। स्थापित सबै परिभाषाको दुर्बलतालाई ऐना देखाइएको हो। जीर्ण मान्यतालाई चुनौती दिइएको हो। आफ्नो शक्तिको दाबी हो, ‘के रे?’ परिभाषाहरूको स्वीकारोक्ति होइन, आफ्नै बलबुतामा फेरिएको परिभाषा हो।
संस्कारमा छुटेको ‘के रे?’
हाम्रो सामाजिक र पारिवारिक संस्कारमा सिकाइने विनयशीलता बलवान् छ। खासगरी छोरीमान्छेलाई ‘हस्’ र ‘हजुर’ को कोर्स नै गराइन्छ। विनम्रता, मान र मर्यादा असल मानवीय चरित्र हुन्। छोराछोरी दुवैलाई सिकाउँदा समाजको हित हन्छ। यी गुणमा खराबी केही छैन। तर समाज र परिवारको संस्कारमा ‘के रे?’ हराएको छ। ‘के रे’ अर्थात् प्रश्न, यो विमतिको संकेत हो। सहमतिमा टाउको मात्र हल्लाउने ‘हजुर’ शब्दको विपरीत धार हो, ‘के रे?’
विचारको सवालमा हाम्रो समाज छ्यांग छैन। तुवाँलोमा हराएका पहाडको लस्कर जस्तो छ। राणाकालीन ज्यु-हजुरीको धङधङीमा बाँच्दै गरेको समाजमा कपटको राज अझै पनि छ। कृत्रिम विनयशीलताको कुहिरोमा अलमलिएको समाजले सीधा रेखामा बोल्ने मानिसलाई सीधै अस्वीकार गर्छ। छोरीहरूको सवालमा त यो झनै निर्मम छ। जो साँचो बोल्यो, ऊ सकियो!
प्रश्न तागतको संकेत पनि हो। छोरीहरूमा तागत निकालेर शक्तिहीन पारेको समाजलाई प्रश्न मन पर्दैन, उसलाई हस् र हजुर मन पर्छ। ‘के रे?’ मन पर्दैन। आफूले दिएका परिभाषाको परिधि नाघेको मन पर्दैन।
आफ्ना जाली व्यवहारबाट ऊ भन्छ, ‘जबसम्म हस् र हजुरको परिधिभित्र छौ, तिमी प्रिय छौ। जब विमतिमा उभिन्छौ, अस्वीकार्य हुन्छौ। मेरै आडभरोसाबाट तिमी बलियो हुने हौ। तिम्रो तागतको रेखाले मैले दिएको आडभरोसाको सीमा नाघ्न पाउँदैन। यो सीमा नाघ्ने आइमाईहरू कुलंगार हुन्। तिमी हजुर मात्र भनिराख र सर्वप्रिय बनिराख।’ सर्वप्रिय हुने र विनम्र देखिने लोभको जालमा महिलाको चेतना थुन्न सजिलो छ।
अप्रियताको अपजस सहेर झोक देखाउन सक्ने आइमाईको चेतना पुरातनका लागि खतरा हो। सर्वप्रियताको मायावी जाल उघार्दै समीक्षाको स्वरले भन्छ ‘के रे?’ अनि भन्छ- तिम्रो आडभरोसामा गरिने सशक्तीकरणको चटक बन्द गर, मेरो शक्ति स्वीकार गर। आइमाईको शक्तिलाई उपेक्षा गरेर उनीहरूलाई सशक्त बनाउन हिंडेको समाज यतिमै रन्थनिन्छ।
देवलोकमा जब दानवहरूको ज्यादती चुलिन्छ, स्वर्गमा त्राहिमाम् मच्चिन्छ। सबै शक्तिशाली देवता भेला हुन्छन् र दानवलाई तह लगाउने उपायबारे सल्लाह गर्छन्। केही उपाय नदेखेपछि अन्त्यमा महाशक्तिशाली दुर्गा मातासँग बिन्ती बिसाउन जान्छन्। काली माता आँखामा आक्रोश भरेर दैत्यहरूको सामुन्ने उभिन्छिन्। खरानी बनाउँछिन् अन्यायको साम्राज्य।
दुर्गाको शक्तिलाई मन्दिर या पूजाकोठाको खोपीमा होइन, आइमाईहरूको तागतमा आराधना गरिनुपर्छ। विमतिसँग आँखा जुधाउने निर्भयतामा खोजिनुपर्छ महिलाको अस्तित्व। निर्भीक महिलाहरूको विचार विना समाजको परिभाषा अपूरो रहन्छ।
‘जून जस्ती रे’ गीतमा गीतकार/संगीतकार प्रकाश सपुत महिलाको आँखामा ‘के रे?’ देख्न चाहन्छन्। गायक-कलाकारले उनकै धार पछ्याउँछन्। गीत बनाउने, गाउने, नाच्ने सबैको मिलन एकै रेखामा देखिन्छ। संगीत र गीतको उतारचढावलाई कलाकारको चाल र भावमा टपक्कै उतारिदिएर कोरियोग्राफर सुनील क्षेत्रीले यसको उचाइ अर्कै तहमा पुर्याएका छन्।
आइमाईको आँखाको विमति स्विकार्ने पुरुष शक्तिशाली हो। महिलाको तागतमा नहिचकिचाउने पुरुष नै असली मर्द हो। समग्र समाज त्यही रेखामा उभिनुपर्दछ, जुन समानताको रेखामा यो गीत उभिएको छ। जहाँ महिलाको आँखामा सहकर्मी पुरुषका लागि आदर र स्नेह होस्। जहाँ महिलाको प्रश्नमा पुरुष भयभीत नहोस्। महिलालाई सशक्त बनाउन दौडिएको समाज रोकिनुपर्छ। महिलाको शक्तिको तेजमा समाज उज्यालिएको बखत यसको रोशनी दिव्य हुनेछ।
तपाईं कहिले भन्ने ‘के रे?’
तिमी यो हौ, तिमी त्यो हौ भनिरहेको समाजलाई समीक्षाले बलवान् प्रश्न गरिन् ‘के रे?’ एक किशोरीले संसार राम्रोसँग नियालेकै थिइनन्। सिंगो संसारले उनलाई नियालिरहेको थियो। जे मन लाग्छ, त्यही मत प्रकट गरिरहेको थियो। कसैले बोक्सी त कसैले देवी भनिरहेकै थियो। आगोमा पोलिएर आकार लिएको फलाम जस्तो उनको चहक, फलाम जस्तै उनको अडान।
नेपाली समाजलाई समीक्षाले दिएको तागत र भरोसाको पाठ युगान्तकारी हुनेछ। सारा दैत्यहरूलाई पछारेर, निर्धक्क हाँसेकी देवी जस्ती समीक्षाको तागतमा नेपाली समाजले लामो यात्रा गर्नेछ। बौद्धिक हुनुको स्वाङमा रमाइरहेकाहरूलाई ज्ञानको एक झोक्काले हानेर जानेछ। आर्तनादबाट निस्किएको ज्ञानसँग टक्कर लिन परिभाषाकारहरूलाई सजिलो हुनेछैन।
सिंगो समाजको समाजशास्त्र बोकेको गीत, आफूलाई बौद्धिक दाबी गर्नेहरूको ‘टाइमलाइन’मा झुल्किएन। आयातीत परिभाषाका बन्धक छन्, बौद्धिकहरू। बनिबनाउ बौद्धिक परिभाषाको परिधि छिचोल्न सकेको देखिन्न। यही कारण समाजका तन्तु र कथा बोकेका सामग्रीले उनीहरूको ‘टाइमलाइन’मा ठाउँ पाउँदैनन्, अक्सर।
ज्ञान र बौद्धिकता भूमिबाट उठेको हुन्छ। बुद्धले भन्ने गरे जस्तो स्ववेदनाको आगोबाट खारिएको हुनुपर्छ। हुनुपर्छ, त्यसमा माटोको सुगन्ध। त्यसका लागि समाजको तन्तु तन्तुसँग एकाकार भएको बौद्धिक समुदाय चाहिन्छ।
समाजका कोष कोषमा ज्ञानको जीवन हुन्छ। मानिसले आफ्ना शरीरका कोषको चाल र भाव स्वीकार नगरेको बखत ऊ मृत हुन्छ। समाजका तन्तुको भाव र चाल पत्तो नपाउने, पत्तो पाए पनि अस्वीकार गर्ने बौद्धिकता मूर्च्छित हुन्छ। ऊ ज्ञानमा होइन, बौद्धिक देखिने नक्कलमा रमाइरहेको हुन्छ। मानिसहरूका कथामा ऊ ब्रान्ड खोज्छ। कला र साहित्यमा गुट खोज्छ। उसलाई आफैंसँग भरोसा छैन। आफू के हो, के होइन थाहा छैन। यही कारण आफूमाथि थोपरिएको बौद्धिकताको कृत्रिम परिभाषालाई ऊ ‘के रे?’ भन्न सक्दैन। विनिर्माण गर्न सक्दैन आफ्नो परिभाषा। स्ववेदना र चेतनाको बलमा जाग्न सक्दैन।
महिला हुनु, बौद्धिक हुनुको परिभाषा एकै दिनमा निर्माण हुने होइन। यसमा लामो प्रक्रिया हुन्छ। आफ्नो परिभाषाबारे गीतबाट प्रश्न गरेर समीक्षाले महिलाको सार्वभौम स्थिति स्थापित गरेकी छन्। ससाना नानीका लागि उनको जीवन एक पाठशाला हो। एक युवतीको जीवनको उतारचढाव र यसमा उनको अडान तथा अविचलन। यो सबै दृष्टि निर्माणका प्रक्रिया हुन्।
राष्ट्र सार्वभौम हुन सीमारेखा र झन्डाले पुग्दैन। विचार र ज्ञानको सार्वभौमिकता चाहिन्छ। ज्ञान निर्माणको समावेशी र आत्मनिर्भर प्रक्रिया चाहिन्छ। बौद्धिक हुनुको प्रष्ट दृष्टिकोण चाहिन्छ। हिजो बाल स्वरमा गाउनेले आज परिपक्व स्वरमा परिभाषाको विनिर्माण गर्दै ‘के रे?’ भनिन्। आफ्नो भूमि र समाजको आधारमा उभिएर हाम्रो बौद्धिकताले कहिले भन्ने ‘के रे?’ स्वतन्त्र राज्यको शक्ति सार्वभौम ज्ञानमा उभिनेछ।