सुरक्षण मुद्रण विधेयक प्रतिनिधि सभाबाट पारित
प्रतिनिधि सभाले सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०८१ लाई बहुमतले पारित गरेको छ।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेकी थिइन्। प्रस्तावमाथिको छलफलमा सांसदहरू प्रेम सुवाल र रामकृष्ण यादवले भाग लिएका थिए।
विधेयकमा राष्ट्रिय सुरक्षासँग जोडिएका विभन्नि ६ प्रकारका सरकारी कागजात सुरक्षित मुद्रण केन्द्रबाट छपाई गर्ने व्यवस्था गरिएको छ। नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, ब्यांक नोट, अन्तःशुल्क स्टिकर र सवारी चालक अनुमतिपत्र नेपालमै छाप्ने व्यवस्था गरिएको छ।
प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले विदेशमा छपाइ हुने सुरक्षण मुद्रणसँग सम्बन्धित ब्यांकका नोट, राहदानी, हुलाक टिकट, स्टिकर लगायत सुरक्षण मुद्रणसँग सामग्री स्वदेशमै छपाई गर्न विधेयक ल्याउनु परेको बताइन्।
“ती विषयलाई स्वदेशमै छपाइ गर्न सकियो भने हाम्रा सुरक्षाको दृष्टिकोणले र वैदेशिक मुद्रा बाहिरिने कारणले पनि यो ठिक हुन्छ र बाहिरिँदै आएको मुद्रालाई स्वदेशभित्रै राख्न सकिन्छ भनेर नै विधेयक ल्याइएको हो,” शर्माले भनिन्, “यो विधेयकमा छलफल हुँदैगर्दा केही विषय थपिएका छन्।”
यो विधेयक २०७७ सालमै राष्ट्रिय सभामा दर्ता भएको थियो। प्रतिनिधि सभा विघटन भएपछि यो विधेयक रोकिएको थियो।