हाँडीगाउँको कथा
सुदर्शनराज तिवारीले लेखेको हाँडीगाउँको इतिहासमा स्रोतका वास्तव अर्थ नबुझी छाडा कल्पना गरिँदा तथ्यहरूको तोडमोड भएको छ।
प्राचीन कालमा प्रख्यात अथवा वर्तमान कालमा प्रसिद्ध शहरको इतिहास नै मूल विषयवस्तु बनाएर किताब लेख्ने चलन बाहिरफेर धेरै चलेको छ। नेपालमा भने इतिहासको शास्त्रीय ढङ्गले परिशीलन हुन थालेको डेढ सय वर्ष भइसके पनि यसतर्फ धेरै काम भएको छैन। अपवादका रूपमा अहिलेभन्दा २२ वर्षअगाडि छापिएकोे हाँडीगाउँको इतिहासबाट यस विषयमा नजीर स्थापना भएको छ। आर्किटेक्चरका नामी प्रोफेसर र नेपालखाल्डोको संस्कृतिसम्बन्धी इतिहासको कहलिएका गवेषक सुदर्शनराज तिवारीले बालककालदेखि अहिलेसम्म आफू बसोबास गर्दै आएको हाँडीगाउँको इतिहासको विविध दृष्टिले खोजी गरी द ब्रिक् यान्ड् द बुल् : यान् अकाउन्ट् अफ् हाँडीगाउँ, दि एन्शन्ट् क्यापिटल् अफ् नेपाल् (ललितपुरः हिमाल किताब, ई.सं. २००२) लेखेका छन्।
इतिहास भन्नाले खासगरी राजा-महाराजको वंशको इतिहास र राजनीति-इतिहास मात्र बुझिएर आएकोमा तिवारीको प्रयासबाट इतिहासको अर्को पाटो खोलिएकाले यस पुस्तकको राम्रो चर्चा भयो। अङ्ग्रेजीमा लेखिएको पुस्तक अझ चर्चामा आओस् भनेर होला, अङ्ग्रेजीमा जसले छाप्यो त्यही प्रकाशकले २१ वर्षपछि नेपाली उल्था पनि छपायो। मणीन्द्र श्रेष्ठद्वारा अनूदित पुस्तक हाँडीगाउँ- प्राचीन नेपालको राजधानी शीर्षकमा सन् २०२३ मा प्रकाशन गरिएको छ। यस पटक पनि यस पुस्तकको पर्याप्त चर्चा भएको सुनियो।
२४ अध्यायमा बाँडिएको अङ्ग्रेजी पुस्तक मैले छापिनेबित्तिकै जस्तो सरसर्ती पढेको हुँ। यसमा हाँडीगाउँ सम्बन्धी थरीथरी विषय परेकाले ग्रन्थकारले विभिन्न दृष्टिले मूल विषय खोतल्न खोजेको देखियो। तर यस्तो पुस्तक लेख्नका लागि स्थापित परिपाटीको राम्रोसँग अनुसरण नगरिएको र ग्रन्थकारले पुस्तकको विषयवस्तुमा कल्पनाको अचाक्ली उडान गर्दै थुप्रै प्रश्न उठाए पनि तिनको उत्तर भने चित्तबुझ्दो ढङ्गले नदिएको निष्कर्षमा म पुगेको थिएँ।
अहिले यस पुस्तकको नेपाली उल्था पनि आएकाले मैले फुर्सदको समयमा अङ्ग्रेजी-नेपाली दुवै रूप पढेँ। अनि मनमा लागेका कुरा लिपिबद्ध गर्दै जाने क्रममा यस लेखको जन्म हुन गयो। मूल पुस्तक छापिएको २१ वर्षपछि प्रकाशित नेपाली उल्थामा कहीँ कहीँ यस अन्तरालभित्र भएका खोजीसमेत समावेश गर्न खोजिएको भए पनि मैले यस लेखमा नेपाली उल्थाको खास उपयोग गरेको छैन, अन्त पनि नेपाली उल्थाबाट मैले खास काम लिएको छैन। कहीँ कहीँ विषय बढी स्पष्ट पार्न परेको खण्डमा मात्र त्यसबाट काम लिएको छु।
यस पुस्तकमा परेका मूल विषयवस्तुबारे मैले यहाँ लेखेको छैन। मेरो ध्यान त ग्रन्थकारले निष्कर्ष निकाल्ने उद्योग गर्दा आकरको अर्थात् चल्तीको भाषामा स्रोतको वास्तव अर्थ नबुझेकाले र छाडा कल्पना गर्नाले कसरी तथ्यको तोडमोड भएको छ भन्ने देखाउनतर्फ गएको छ। किनभने तथ्यहरूको जगमा नै मूल विषय ठडिने हुनाले यिनको तोडमोड हुनु भएन। यस पुस्तकमा तथ्यका रूपमा प्रस्तुत अतथ्य जति सबैको निराकरण एकैचोटि गर्दा लेखको आकार अचाक्ली बढेकाले २० बुँदा मात्र लेखी चित्त बुझाउनुपरेको छ।
१. लिच्छविकालको जातिव्यवस्थाको विषयमा तिवारीले ‘लिच्छविसमाजमा चार जाति वा वर्ण अर्थात् ब्राह्मण क्षत्रिय वैश्य र शूद्र तथा रैथाने किरातहरूबाट आएको अठाह्र उपजाति वा जातको अनुसरण गरिएको थियो’ (द ब्रिक् यान्ड् द बुल्, १० पृ.बाट अनूदित) भन्ने लेखी टिप्पणीमा ‘थानकोटको आदिनारायणमन्दिरमा रहेको, शिल्पमा कौशल भएका १८ समूहको विषय ईसवीको छैटौँ शताब्दीको पहिलो दशाब्दीमा जारी गरिएको, राजा वसन्तदेवको उत्कीर्ण लेखमा आएको छ (उही, १७ पृ., ३ टिप्पणीबाट अनूदित) भनी लेखेका छन्। यही कुरा उनले अलि तल फेरि लेखेका छन् (उही, ४२-४३ पृ.)।
वसन्तदेवको सो शिलापत्रमा आएको ‘अष्टादशप्रकृति’ को यस्तो अर्थ तिवारीले दिए पनि यस शब्दकोे वास्तव अर्थ राजकाज चलाउन आवश्यक १८ थरी कर्मस्थान हो भनी मैले द ब्रिक् यान्ड् द बुल् छापिनुभन्दा १८ वर्षअघिदेखि प्रमाण जुटाउँदै वारंवार लेखिसकेकाले यस विषयमा यहाँ बढी लेख्दिनँ। विचार गर्न सजिलो होओस् भनी यस विषयका, मेरा मुख्य-मुख्य लेखका नामनमेसी भने दिन्छु-
‘हीरहडगल्लिको ताम्रपत्रको अट्ठारसजाति के अठाह्र जात हो?’, पूर्णिमा ५९ पूर्णाङ्क, २०४१, १५-२० पृ.।
‘अष्टादश तीर्थको नाउँ के रघुवंशमा किटिएका छन्?’, पूर्णिमा ५९ पूर्णाङ्क, २०-२३ पृ.।
‘प्राचीन कालमा नेपालको विस्तारको विषयमा एउटा नयाँ लेख हेर्दा’, पूर्णिमा ११२ पूर्णाङ्क, २०६०, ५-८ पृ.।
२. मनुस्मृति १०।४४ को आधार लिई तिवारीले किरातलाई ‘व्रात्य क्षत्रिय’ भनी लेखेका छन् (द ब्रिक् यान्ड् द बुल्, १७ पृ., ४ टिप्पणी; ४५ पृ.)। आफ्नो जातअनुसार गर्नुपर्ने कर्तव्य नगरेकाले र ब्राह्मणको सम्पर्कमा नरहेकाले क्षत्रिय वर्णका, किरात समेतका १२ जाति बिस्तारै शूद्र हुन पुगे भनी मनुस्मृति (१०।४३-४४)मा लेखिएको छ। ठीक समयमा उपनयनसंस्कार नभएका ब्राह्मण, क्षत्रिय र वैश्यहरू व्रात्य हुन्छन् र झल्ल, मल्ल, लिच्छवि, नट, करण, खस र द्रविड व्रात्य क्षत्रियका सन्तान हुन् भनी मनुस्मृतिका कर्ता भन्छन् (२।३९, १०।२२)। यसको अर्थ क्षत्रियबाट च्युत भई किरात शूद्र हुन पुगेका हुन् त व्रात्य चाहिँ समयमा उपनयनसंस्कार नभएका ब्राह्मण, क्षत्रिय र वैश्य हुन्। यहाँ प्रासंगिक नभए पनि एउटा के कुरा भन्न मन लाग्यो भने द्रविड र खसलाई कुन वर्गमा राख्ने भन्ने कुरामा जसले मनुस्मृति लेखे, उनको दृढ विचार नभएको देखिन्छ।
३. गोपालराजवंशावलीमा गोपालवंशका राजाहरू बाहिरबाट नेपालखाल्डोमा आएका हुन् (द ब्रिक् यान्ड् द बुल्, १९ पृ.) भनी लेखिएकोमा केही टिप्पणी गर्नुपर्छ। त्यस वंशावलीमा त खालि फलाना फलाना आठ जना गोपालवंशका राजा भए मात्र लेखिएको छ (१७ ख पत्र, १-३ पङ्क्ति = धनवज्र वज्राचार्य र कमलप्रकाश मल्लद्वारा सम्पादित द गोपालराजवंशावली, वीस्बादेनः फ्रन्त्स श्थाइनर, ई.सं. १९८५, २५ पृ.), तिनीहरू बाहिरबाट आए कि यहीँकै थिए, त्यस विषयमा केही लेखिएको छैन।
४. ‘कबीला बुझाउने ‘किरात’ शब्द नेपालखाल्डोका कुनै पनि लिच्छवि उत्कीर्ण लेखमा परेको छैन। यस शब्दको प्रयोग खालि एकपल्ट एउटा उत्कीर्ण लेखमा भएको छ (डिल्लीरमण रेग्मी, ८५ संख्या) र यस शब्दले राजाको घरगृहस्थीको कुनै खास किसिमको कामदार बुझाउँछ भनी अर्थ गरिएको छ (महेशराज पन्त, वि.सं. २०४२)। यो अर्थ साहित्यिक आकरहरूको आधारमा गरिएको भए पनि यही उत्कीर्ण लेखको आधार लिई यस अर्थलाई सजिलैसँग चुनौती दिइएको छ। यस शब्दमा किरात देवताको उल्लेख आएको छ, किरातवर्षधर भन्ने किरात देवताको सम्मानमा लिच्छविहरूले शुरूवात गरेको मन्दिरको मर्मतसम्भारको विषयमा यो उत्कीर्ण लेख रहेको हो भनी पहिल्यै देखाइएको छ (सुदर्शनराज तिवारी, २००१)’ (द ब्रिक् यान्ड् द बुल्, १९ पृ.बाट अनूदित) भनी लेखिएकोमा टिप्पणी गर्नुपर्छ।
सुदर्शनराज तिवारी २००१ भनेको नेपाल र एशियाली केन्द्रबाट प्रकाशित, उनको दि एन्शन्ट् सेटल्मेन्ट्स् अफ् द काठ्मान्डू भ्याल्इ हो। यस पुस्तकको २९ पृष्ठमा यही कुरा यसरी लेखिएको छ- ‘लिच्छवि उत्कीर्ण लेखमा ‘किरात’ शब्द एकचोटि मात्र आएको छ र त्यो पनि महेशराज पन्तअनुसार जाति बुझाउन होइन कि राजाको घरगृहस्थीको कुनै खास किसिमको कामदार बुझाउन प्रयोग भएको छ (महेशराज पन्तको ३ संख्याको लेख)। महेशराज पन्तको अर्थगराइलाई चुनौती दिन सकिन्छ र त्यो गलत हो भनी सिद्ध गर्न सकिन्छ। ... ‘किरात’ शब्दसँगै आएको वाक्यांश रेग्मीको ८५ संख्याको उत्कीर्ण लेखको हो। यसमा ‘किरातवर्षधर’ भन्ने वाक्यांश भएकोले वर्षासम्बन्धी किरातदेवताको मन्दिरको उल्लेख गरिएको हो भनी देखाउन सकिन्छ। वर्षासम्बन्धी किरातदेवता भनेको कि इन्द्र (वज्रसहित) कि नाग हुन सक्छन्’ (२९ पृ.बाट अनूदित)।
जालझेल र व्यभिचार नहोओस् भन्ने अभिप्रायले दरबारको भित्री लङमा राजकाजमा चासो नलिने, विकलाङ्ग र नपुंसक बनाइएका मानिस राखिन्थे। त्यस कुरामा वास्ता नराखी तिवारीले गरेको ‘किरातवर्षधर’ को यो अनौठो व्याख्या प्रमाणको आधारमा विश्लेषण गर्ने बानी परेकाहरूलाई कत्ति पनि पच्दैन।
५. ‘लिच्छवि शिलापत्रमा अहिलेसम्म कतै किरात नाम आएको छैन भन्ने भावले ‘हालसम्म ऐतिहासिकहरू र अरू विशेषज्ञहरूले किरात नाम भेट्टाउन सकेका छैनन्। यस विषयमा अरू अन्वेषणको लागि हामीले कुर्नुपर्छ’ (द ब्रिक् यान्ड् द बुल्, २० पृ.बाट अनूदित) भनी तिवारीले लेखे पनि त्यसको लागि कुर्नुपर्दैन। किनभने किरातभाषामा नाम भएका एक जना कामदारलाई रानीले ढुङ्गे खामो बनाउन खटाएको कुरा परेको शिलास्तम्भलेख वि.सं. २०२४ मै छापिइसकेको हो (‘लिच्छविकालका तीन अप्रकाशित अभिलेख’, पूर्णिमा १५ पूर्णाङ्क, ३३१ पृ.)। वि.सं. २०३० मा त्यही स्तम्भलेख धनवज्र वज्राचार्य (वि.सं. १९८८-२०५१)द्वारा उनको लिच्छविकालका अभिलेख (काठमाडौँः नेपाल र एशियाली अध्ययनसंस्थान, ४४-४७ पृ.)मा उल्था र व्याख्यासहित छापियो। अझ, वि.सं. १९६५ मै सिल्विं लेवि (वि.सं. १९१९-१९९२)ले छपाइसकेको अंशुवर्मा (निश्चित शासनकाल वि.सं. ६५२-६७९)को (मानदेव) संवत् ३० को शिलापत्र (ल नेपाल्, एत्यूद् ईस्तोरीक् दाँ र्वायोम् आँदू, प्यारिसः एर्नेस्त लरू, ई.सं. १९०८, ८२-९० पृ.) पनि यस सन्दर्भमा बिर्सनु हुँदैन।
६. पद्मगिरिवंशावली भनी प्रसिद्ध नेपाली भाषाको एउटा वंशावलीलाई तिवारीले ‘पछिल्लो मल्लकालमा रचिएको’ भनी एक ठाउँमा लेखेका छन् (द ब्रिक् यान्ड् द बुल्, २५ पृ.) त ‘स्वयम्भूपुराण रचिएकै समयतिर यो रचिएको देखिन्छ’ भनी अर्को ठाउँमा लेखेका छन् (उहीः ९९ पृ.)। यस वंशावलीमा शाह राजा राजेन्द्रविक्रम (वि.सं. १८७०-१९३८, राज्यकाल वि.सं. १८७३-१९०४)को पालामा ने.सं. ९४५ तदनुसार वि.सं. १८८२ सम्मको कुरा आएकोले (विक्रमजित हसरतद्वारा सम्पादित हिस्ट्रि अफ् नेपाल्, याज् टोल्ड् बाइ इट्स् वोन् यान्ड् कन्टेम्पोररि क्रनिक्लर्ज, होशियारपुर, ई.सं. १९७०, ९६ पृ.) यो वंशावली यक्ष मल्ल (वि.सं. १४६५-१५३८, राज्यकाल वि.सं. १४८५-१५३८)को समय ताका रचिएको स्वयम्भूपुराण (हरप्रसाद शास्त्रीद्वारा सम्पादित बृहत् स्वयम्भूपुराणम्, कलकत्ताः एशियाटिक सोसाइटि, ४९६ पृ.)कै वेलातिर वा पछिल्लो मल्लकालमा रचिएको कसरी ठहर्यो?
७. राजा द्वितीय जयदेव (निश्चित राज्यकाल वि.सं ७७१-७९०)ले (मानदेव) संवत् १५७ कार्तिकशुक्लनवमीको दिन पशुपतिमा राखेको शिलापत्र लिच्छविकालका प्रसिद्ध शिलापत्रमध्ये पर्छ। राजा जयदेवले सुनको केशर भएको, चाँदीको अष्टदल कमल र राजमाता वत्सदेवीले चाहिँ चाँदीका अरू ससाना कमल पशुपतिलाई चढाएको अवसरमा यो शिलापत्र राखिएको हो। पशुपतिलाई कमल चढाएर आफूले आर्जन गरेको पुण्य जयदेवले आमा वत्सदेवीलाई अर्पित गरेको र राजमाताले चाहिँ छोराको तर्फबाट भएको पुण्यबाट तथा आफैँले चाँदीका कमल चढाएर भएको पुण्यबाट आफ्ना स्वर्गवासी पति राजा द्वितीय शिवदेव (निश्चित राज्यकाल वि.सं ७५२-७६४)को धेरै कालसम्म कल्याण होओस् भनी यस शिलापत्रमा लेखिएको छ (लिच्छविकालका अभिलेख, ५४८-५६२ पृ.)।
कुष्माण्डनवमीको दिन राखिएको यो शिलापत्र ‘अरू ऐतिहासिक प्रमाणले द्वितीय जयदेवका बाजेसँग सम्बद्ध वार्षिक तिथिमा राखिएको हो भन्ने देखाउँछन्’ (द ब्रिक् यान्ड् द बुल्, ३१-३२ पृ.बाट अनूदित) भनी तिवारीले लेखेकोमा केही टिप्पणी गर्नुपर्छ। जयदेवका दिवंगत बाबु शिवदेवको कल्याणको लागि पशुपतिमा चाँदीको कमल चढाइएको कुरा मात्र यस शिलापत्रमा लेखिएको छ, त्यहाँ शिवदेवको वार्षिक तिथिको उच्चारणै गरिएको छैन। जयदेवका बाजे नरेन्द्रदेवको नाम त यस धर्मकार्यसँग जोडिएर आउँदै आएको छैन। द ब्रिक् यान्ड् द बुल्का कर्ताको कल्पना गर्ने बानी भएकोले दिवंगत शिवदेवको उद्धारको लागि उनको वार्षिक तिथिमा कमल चढाइएको थियो भन्न खोज्दा कलम चिप्लेर जयदेवका बाबु भन्नुपर्नेमा बाजे हुन गएको देखिन्छ। त्यही गल्ती नेपाली उल्थामा पनि कायम छ (हाँडीगाउँ- प्राचीन नेपालको राजधानी, ४४ पृ.)।
८. काठमाडौँभन्दा उत्तरपट्टिको एउटा गाउँको ‘चपली भन्ने नाउँ चौपल्लीबाट आएको हुन सक्छ, पल्ली भनेको लिच्छविकालमा बस्ती जनाउने प्रत्यय हो’ (द ब्रिक् यान्ड् द बुल्, ३३ पृ.बाट अनूदित) भनी लेखिएकोमा पनि टिप्पणी गर्न मन लाग्यो। ‘पल्ली’ शब्द अघिल्लो शब्दसँग जोडिएर आई ‘आभीरपल्ली’ (अमरकोष, २।२।२०) जस्ता शब्द मात्र चल्तीमा छैनन् कि छुट्टै आएको पनि चल्तीमा छ। यसको मूल अर्थ ‘सानो गाउँ’ (‘ग्रामक’ वा ‘अल्पग्राम’) भन्ने हुन्छ (उदाहरणको लागि शाश्वतकोष ६७७ श्लोक, मेदिनीकोष, लान्तवर्ग ३० श्लोक)। खास गरी ‘पल्ली’ शब्दले जङ्गली जातिको बसोबास भएको गाउँ बुझाउँछ। त्यस्तो गाउँका मुखियालाई ‘पल्लीपति’ शब्दले बुझाएको पनि देखिन्छ (काव्यप्रकाश ७ उल्लास, १४२ उदाहरण)।
९. ‘पछिका ग्रीक अर्थात् यवन पनि शक हुन् भनी मनुस्मृतिमा भनिएको कुराको उल्लेख गर्नु चाखलाग्दो छ’ (द ब्रिक् यान्ड् द बुल्, ३८ पृ.बाट अनूदित) भनी लेखिएकोमा पनि टिप्पणी आवश्यक छ। मनुस्मृतिको तलको पद्य (१०।४४)
पुण्ड्रकाश्चोडद्रविडाः
काम्बोजा यवनाः शकाः।
पारदाः पह्लवाश्चीनाः
किराता दरदास्तथा।।
मा क्षत्रियबाट च्युत भई शूद्र हुन पुगेका ११ थरी जातिको नाउँ लिँदा यवन र शक पनि परेका छन्। यसको अर्थ तिवारीले सम्झे जस्तो यवनलाई शक भनेको होइन, त्यस्ता ११ थरी जातिमा यवन जस्तै शक पनि पर्छन् भन्ने हामीले बुझ्नुपर्छ।
१०. माटिङ् वा माटिन्ग्रामको देवकुल अर्थात् मन्दिरको जीर्णोद्धार गरेर पछिको लागि पनि जीर्णोद्धार आदि व्यवस्थाको लागि अंशुवर्माले (मानदेव)संवत् ३४ मा शिलापत्र राखेका छन् (लिच्छविकालका अभिलेख, ३३९-३४१ पृ.)। लिच्छविकालका जम्मै शिलापत्र संस्कृतभाषामा भए पनि कतै कतै ठाउँका, खोलाका, पहाडका चुचुराका, अड्डा-अदालतका र एकाध ठाउँमा मान्छेका नाउँ संस्कृतभन्दा फरक भाषामा भए जस्तै, अहिले यहाँ चर्चा गरिएको मन्दिर भएको गाउँको नाउँ ‘माटिङ्’ वा ‘माटिन्’ पनि संस्कृतेतर भाषामा रहेको देखिन्छ। माटिन् भन्ने गाउँमा यो मन्दिर ठडिएकाले गाउँको नाउँबाट ‘माटिन्देवकुल’ भनी चिनिए पनि यो मन्दिर कुन देवताको हो भन्ने कुरा यस शिलापत्रबाट स्पष्ट हुँदैन। स्थिति यस्तो भए पनि ‘माटिन्देवकुल भनिने यस मन्दिरमा मातृकाहरूको स्थापना गरिएको थियो। यो मन्दिर लिच्छवि र गुप्त उद्गमको होइन भन्ने स्पष्ट छ। ... यस शिलापत्रमा परेको ‘माटिन्’ शब्द ‘मातृनाम’ शब्द खिइएर बनेको देखिन्छ’ (द ब्रिक् यान्ड् द बुल्, ४१ पृ.बाट अनूदित) भनी तिवारीले लेखेको देख्दा अचम्म लाग्छ। यही कुरा अलि तल उनले दोहोर्याएका छन् (उही, ४२ पृ.)।
११. ‘द्योछेको शब्दशः अर्थ देवताको घर हो। ... यस नाउँले लिच्छवि उत्कीर्ण लेखहरूमा प्रयोग भएको संस्कृत शब्द देवकुलको शब्दशः अर्थ बुझाउँछ। देवकुल वा द्योछे शब्दको प्रयोगबाट यी मन्दिरलाई प्रासाद भवन इत्यादि शब्द प्रयोग हुने हिन्दू मन्दिरबाट छुट्ट्याउँछ’ (उही, ४४ पृ., ७ टिप्पणीबाट अनूदित) भनी तिवारीले लेखेका छन्। यस विषयमा थप कुरा लेख्दा उनले एक ठाउँमा ‘देवकुल शब्दको प्रयोग उत्कीर्ण लेखमा गैरलिच्छवि मन्दिरहरू जनाउन प्रयोग गरिएको छ’ (उही, ७९ पृ., ४ टिप्पणीबाट अनूदित) र अर्को ठाउँमा ‘लिच्छवि बोलीचालीमा ‘देवकुल’ ले किरातधर्मका मन्दिरहरू जनाउँथ्यो, नाममा आएको यस परिवर्तनले ती देवीको उत्पत्ति किरातकालभन्दा अगाडि भएको भन्ने कुरालाई ओझेलमा पारिदियो’ (उही, ८१ पृ.बाट अनूदित) भनी लेखेका छन्। तर यो कुरा प्रमाणकोटिमा चढ्दैन, किनभने ‘देवकुल’ शब्द ‘मन्दिर’ को अर्थमा भारतवर्षभर चलेको छ। धेरै पुस्तक नपल्टाऔँ, प्रतिमानाटक (३ अङ्क) र कथासरित्सागर (१२।१२७) मात्र पल्टाए पनि अर्थ स्पष्ट हुन्छ।
१२. ‘नेपालमा किरातशासनको समयमा शूद्रकसंवत् चलेको थियो भनी सुमतितन्त्रमा उल्लेख गरिएकोले किरात र शूद्रक उस्तै वा उही हुन् कि भनी सिद्ध गर्न बल मिल्छ’ (द ब्रिक् यान्ड् द बुल्, ४६ पृ.बाट अनूदित); ‘सुमतितन्त्र लेख्नेले शूद्रकसंवत्को चर्चा गरेकोले लिच्छविभन्दा अगाडिको नेपालखाल्डोमा शूद्रकको शासन रहेको पुष्ट हुन्छ’ (उही, ९५ पृ.बाट अनूदित); ‘मौर्यशासनको अन्त हुँदा किरातहरूलाई आफ्नो संवत् अर्थात् शूद्रकसंवत् चलाउनतर्फ प्रवृत्त पारेको देखिन्छ’ (उही, १०५ पृ.बाट अनूदित); ‘सुमतितन्त्र र हरिवंशमा चर्चा भए जस्तै, भूमिवर्माको नयाँ संवत्लाई शकर वा शकराजसंवत् किन भनियो भनी बाह्रौँ अध्यायमा हामीले देखाइसकेका छौँ’ (उही, १२५ पृ.बाट अनूदित) भनी तिवारीले लेखेकोमा पनि टिप्पणी गर्नुपर्छ। पहिलो त, सुमतितन्त्रमा शूद्रकदेवसंवत् २४७ वर्ष चल्यो भनेर मात्र लेखिएको छ (२ ख पत्र = नयराज पन्त, देवीप्रसाद भण्डारी र दिनेशराज पन्तद्वारा सम्पादित; काठमाडौँः त्रिभुवनविश्वविद्यालयको पाठ्यक्रमविकास-केन्द्र, २०३५, ५ पृ.), त्यहाँ किरातको चर्चा कहीँ छैन। त्यसमाथि, शूद्रकसंवत् किरातहरूको संवत् कसरी भयो? भाषावंशावलीअनुसार दक्षिण दिशाबाट आएका, किरातवंशलाई जिती नेपालमा राज गर्ने, नामको पछाडि वर्मा लेखिने वंशका भूमिवर्मा (नयनाथ पौडेलद्वारा सम्पादित १ भाग, नेपाल राष्ट्रिय पुस्तकालय, २०२०, ५१-५५ पृ.)ले संवत् चलाए भन्ने कुराको आधार के हो र त्यो संवत् नै ‘शकराजसंवत्’ कसरी भयो? यी सबैको जवाफ जिज्ञासुलाई चाहिएको छ।
१३. ‘गोपाल र महिषपालहरूको समाज मातृसत्तात्मक थिए। कालान्तरमा तिनीहरूको समाज सात जना छोरीको खलकमा बाँडिन गयो। ... ती सात छोरी गोपालहरूको शासन सिद्धिएपछि सप्तमातृका भएका देखिन्छन्’ (द ब्रिक् यान्ड् द बुल्, ७७ पृ.बाट अनूदित) भनी तिवारीले लेखेका छन्। धेरै विद्वान्ले दिमाग खपाएको मातृकासम्प्रदायको आविर्भावको विषयमा यसरी हल्का ढङ्गले यस्तो लेख्नु त अति नै भयो।
१४. लिच्छविकालमा शैव/वैष्णव र बौद्धको बीचको मनमुटावको विषयमा लेख्दै जाँदा राजा मानदेवका बाबुलाई ‘कट्टर बौद्ध (यान् अर्डेन्ट् बुड्इस्ट्)’ भनी यहाँ लेखिएको छ (उही, १०७ पृ.)। बाबु धर्मदेवको विषयमा मानदेवले राखेको चाँगुको ढुङ्गे खामोमा यिनलाई ‘मन्त्र र ऐश्वर्य पुगेका, असल पशु भएका यज्ञद्वारा देवताहरूको पूजा’ गर्ने (लिच्छविकालका अभिलेख, १४ पृ.) भनी लेखिएकोले यिनी बौद्ध नभई याज्ञिक थिए भन्ने बुझिन्छ। बौद्ध त धर्मदेवका बाजे वृषदेव पो थिए।
१५. देउपाटनमा दक्षिणामूर्तिको मन्दिरदेखि पश्चिमतर्फ उकालो लाग्दै गएपछि बाटोको बायाँपट्टि भित्र एउटा घडेरीमा नयाँ घर बनाउन जग खन्दा वि.सं. २०५७ वैशाखको शुरूमा अजङको शिवलिङ्ग भेट्टियो। सोही कारणले त्यहाँ घर बनाउन सरकारले रोकिदेला भन्ने डरले शिवलिङ्ग भेट्टाइएको हल्ला नगरीकन त्यसलाई छिमेकीको खाली जग्गामा लगेर राखियो र जग हाल्ने काम पूरा गरियो। त्यसपछि मात्र पुरातत्त्वविभागको तर्फबाट जाँचपडताल गराइँदा वर्गाकार त्यस शिवलिङ्गको जलहरीको एकातिर अभिलेख कुँदिएको देखियो। त्यस अभिलेखको मिति (शक)संवत् ४०७ आषाढशुक्लप्रतिपदा भएको र त्यस वेला मानदेवको राज्य चलिरहेको कुरा त्यताबाट बुझियो। ‘अभिलेखको मुख्य विषयमा तात्कालिक एक सार्थवाह (व्यापारीका नाइके) ले आफू एवं राजाको पुण्य अभिवृद्धिको कामना गरी शिवलिंग स्थापना गरेको र शिवलिंगको आयस्ताको लागि विभिन्न ठाउँका भूमिहरू प्रदान गरिएको उल्लेख गरिएको छ’ इत्यादि कुरा लेखिएको, राष्ट्रिय समाचार समितिले तयार गरेको खबर वि.सं. २०५७ वैशाख ३० गते शुक्रवारको गोरखापत्रमा छापियो (‘घरको जग खन्दा लिच्छवी कालको अभिलेख फेला’, १०,११ पृ.)।
त्यो खबर छापिएको हप्ता दिन बित्नेबित्तिकै गोरखापत्रमा तिवारीको ‘प्रतिक्रिया’ आयो। त्यसमा ‘पुरातत्त्व विभागको हवाला दिई राससद्वारा वितरित खबरले मूल कुराहरू गलत तथा भ्रामक भएको मेरो पूर्वलिच्छविलिपि तथा संस्कृतभाषाको सीमित दख्खल मात्रको आधारमा समेत स्पष्ट देखिएको हुनाले यो पत्र लेखिएको हो। सो अभिलेखसहितको शिवलिङ्ग कुनै सार्थवाह वा व्यापारिले राखेको नभई महेश्वर (राजा) धम्मरदेवका छोरा मानदेवले स्थापना गरेका हुन् भन्ने कुरा अभिलेखमै उल्लेखित छ’ भन्ने लेखी त्यस शिलालेखको उल्था दिइएको छ। ‘तसर्थ शिलालेखबाट मानदेवले आफ्नो बाबुलाई काटेका थिए भन्ने कथा सत्य भएको स्पष्ट पार्दछ। यो कार्य ज्योतिषाचार्य तथा राजपुरेतहरूले गराएका थिए’ (२०५७।२।७।७, ६ पृ.) भन्ने निष्कर्ष निकालिएको छ।
यसपछि वि.सं. २०५७ साउनमा श्यामसुन्दर राजवंशीले यस शिलालेखको मूलपाठ र छापा अर्थात् रबिङको फोटोसमेत छपाए (‘देवपाटनको विमल संघको अभिलेख’, रोलम्ब २० ठेली, १-२ अङ्क, ई.सं. २००० जनवरी-जून, १८०-१८१ पृ.)। यसको डेढ वर्ष जतिपछि तिवारीको द ब्रिक् यान्ड् द बुल् निस्क्यो। मानदेवले अज्ञानवश आफ्ना बाबु धर्मदेवलाई काटेपछि मृतक बाबुको उद्धारको लागि यो धर्मकार्य गरेका हुन् भनी विमलसंघको शिलालेखको विषयमा अढाइ वर्षभन्दा अगाडि गोरखापत्रमा उनले जे लेखेका थिए (‘प्रतिक्रिया’, २०५७।२।७।७, ६ पृ.), त्यही कुरा नै बढाइचढाइ गरी फेरि पुस्तकमा पनि लेखे (१३८-१३९ पृ.)। थप उनले के गरे भने, त्यस शिलालेखको आफूले पढेअनुसारको पाठ रोमन लिपिमा दिए (उही, १४६ पृ., ३ टिप्पणी)। तर यतातिरका भाषाका शब्द त्यस लिपिमा लेख्दा शब्द स्पष्ट पार्न कुनै कुनै अक्षरमा चिह्नविशेष लगाउनुपर्ने परिपाटी हुँदा हुँदै पनि त्यसो नगरिएकोले उनको पाठ यो हो भनी निर्क्योल्न बहुतै गाह्रो छ।
राजवंशीले वि.सं. २०५७ मा छपाएको पाठलाई ‘घटिया’ भन्न पनि तिवारीले बाँकी राखेनन्। त्यस शिलालेखको फोटोसँग दाँजी हेर्दा राजवंशीको पाठमा कहीँ कहीँ गल्ती भए पनि ‘घटिया’ नै भन्नुचाहिँ पूरै ठीक होइन। उल्टो, द ब्रिक् यान्ड् द बुल्मा दिइएको पाठ राजवंशीले भनेझैँ ‘उहाँले पढ्नु भएको अभिलेखको पाठ कति शुद्ध कति अशुद्ध भन्ने कुरा लिपि पढ्न जान्ने सामान्य ज्ञाताहरूले पनि छुट्याउन सक्छन् भने अंग्रेजीमा शिलालेखको Transliteration गर्दा पनि प्राविधिक दक्षता प्रयोग गर्नसक्नु भएन’ (‘संवत् ४०७ को विमल संघको शिवलिङ्ग र त्यसमा अंकित दुरूस्त अभिलेख’, प्राचीन नेपाल, १५३ संख्या, २०६०, ४७ पृ.)।
विमलसंघको यस शिलालेखमा राजा मानदेवका बाबु धर्मदेव र आमा राज्यवतीको नाउँ कतै नआएको भए पनि मूलको ‘देवातिदेवस्य’ को ठाउँमा ‘धर्मदेव्त्रिदेवस्य’ र ‘राज्ञः पादप्रसादतः’ को ठाउँमा ‘राज्यवत्य सदातः’ भन्ने पाठ पढी तिवारी उत्कीर्णलेखज्ञहरूको विद्वत्तालाई न्यक्कार गर्न पुग्छन्।
वि.सं. २०६० मा यस शिलालेख सम्बन्धमा राजवंशीको लामो लेख छापियो (प्राचीन नेपाल, १५३ संख्या, ४३-५६ पृ.)। यसमा उनैले तीन वर्षअगाडि छपाएको ‘पाठलाई सामान्य सुधार गरी प्रस्तुत गरिएको छ’ (उही, ४५ पृ.) भनी लेखिए पनि ठाउँठाउँमा उनको पाठ दुरुस्त नभएको उनैले दिएको फोटोबाट पनि खुट्ट्याउन सकिन्छ। यस शिलालेखको उनले दिएको उल्था र व्याख्यामा सबै ठाउँमा चित्त बुझाउन नसकिए पनि तिवारीको उल्था र व्याख्यालाई जस्तो पूरै बेवास्ता गर्न सकिँदैन।
राजवंशीले विमलसंघको शिलालेख छपाएको आठ महीनापछि दिवाकर आचार्यको यस शिलालेखसम्बन्धी लेख छापियो (‘लिच्छवि राजा मानदेवको पालाको विमल संघको अभिलेख- शक सं. ४०७ (सं. ५४२)’, राष्ट्रिय वाणिज्य बैंक : पूर्व-कर्मचारी संघको वार्षिक स्मारिका, २०६०, ८-११ पृ.)। राजवंशीको दाँजोमा आचार्यको पाठ मात्र होइन, उल्था पनि निकै सुध्रिएको छ तापनि सुधार गर्नुपर्ने ठाउँ नभएको भने होइन।
तिवारीले पढेको विमलसंघको शिलालेखको पाठ र उल्थाको विषयमा आचार्यले गरेको टिप्पणीको चर्चा यस प्रसंगमा गर्नु उचित नै होला- ‘तिवारीले भने रोलम्ब पत्रिकामा प्रकाशित राजवंशीको पाठलाई अशुद्ध मान्दै यस अभिलेखको आफूले पढेको भ्रष्ट पाठ र कल्पना गरेको अर्थ गत वर्ष प्रकाशित The Brick and the bull नामको आफ्नो पुस्तकमा छपाएका छन्। तिवारीले शिलामा हुँदै नभएको पाठ कसरी पढे र सोही पाठबाट पनि उनले व्याख्या गरे जस्तो अर्थ कसरी निकाले भन्ने कुरा मैले बुझ्न सकेको छैन। उनी वंशावलीमा वर्णित कथाहरू, किंवदन्ती एवं प्रवादहरूबाट प्रभावित छन् भन्ने कुरा उनको लेखाइमा झल्कन्छ’ (उहीः ८ पृ.)।
आचार्यको लेख छापिएको सँगसँगैजसो यसै शिलालेख सम्बन्धमा ज्ञानमणि नेपाल (वि.सं. १९८९-२०८१)को लेख छापियो (‘मानदेवका पालाको विमलसङ्घको अभिलेखको यथार्थ अर्थ र व्याख्या - (वि.सं. ५४३)’, प्राचीन नेपाल, १५४ संख्या, २०६०, ६१-६८ पृ.)। सँगसँगैजसो छापिएकैले होला, अघिल्लो लेखको चर्चा नेपालको लेखमा परेको छैन। आचार्यले र नेपालले दिएका त्यस शिलालेखका पाठ धेरैजसो ठाउँमा उस्तै भए पनि अर्थगराइमा भने ठाउँठाउँमा फरक छ। मोटामोटी रूपमा भन्दा, नेपालले गरेको अर्थ मूलको बढी नजीक छ। यति भएर पनि यस शिलालेखमा परेका केही शब्द अझै दुरूह भएकाले तिनमा परिश्रम गर्न बाँकी छ जस्तो मलाई लाग्छ।
मैले माथि नै लेखे जस्तै, द ब्रिक् यान्ड् द बुल्को नेपाली उल्थाको उपयोग मैले यस लेखमा खासै गरेको छैन, यस प्रसंगमा भने नगरी नहुने भएको छ। मूल अङ्ग्रेजी पुस्तक छापिएको २१ वर्षपछि प्रकाशित त्यस नेपाली उल्थामा ‘सन् २००४ को मार्चमा ज्ञानमणि नेपालले पुरातत्त्व विभागको प्रकाशन प्राचीन नेपालको १५४ अंकमा यस अभिलेखको ‘शुद्ध’ अन्वय (‘पाठ’ बुझाउन यहाँ छक्क पर्नुपर्ने गरी ‘अन्वय’ शब्दको प्रयोग भएको छ- महेशराज पन्त) भनी प्रकाशित गरे। यो अन्वय श्यामसुन्दर राजवंशीले रोलम्बको सहस्राब्दी अंक (पृ.१८०-१८१) मा छपाएको अन्वयसँग मिल्दोजुल्दो छ। राजवंशीको उक्त अन्वयलाई मैले अशुद्ध मानी यस पुस्तकको पहिलो संस्करणमा समावेश गरेको थिइनँ। मेरो अन्वय ‘कपोलकल्पित र भ्रामक’ छ भन्ने राजवंशीको रायमा नेपालले पनि सहमति जनाएका थिए। ‘प्राचीन नेपालमा प्रकाशित ज्ञानमणि नेपालको अन्वय यस प्रकार रहेको छः’ (२०४ पृ., ३ टिप्पणी) भनी ज्ञानमणिको पाठ अशुद्धसँग सारिएको छ। तदनुसार त्यस शिलालेखको अर्थ पनि ज्ञानमणिको नाम नलिई घटीबढी उनकै अर्थको अनुसरण गरी दिइएको छ (१९२ पृ.)।
१६. विमलसंघले स्थापना गरेको शिलालेखमा ‘ब्राह्मण’ शब्द नलेखी ‘विप्र’- यो विप्रकेदारमुखेष्वभीक्ष्णम्- लेखिएकोमा पनि द ब्रिक् यान्ड् द बुल्मा यसरी व्याख्या गर्न खोजिएको छ, ‘त्यस शिलालेखमा ‘ब्राह्मण’ शब्दको प्रयोग नगरी ‘विप्र’ शब्दको प्रयोग गरिनु पनि चाखलाग्दो छ। यी दुइ शब्दमा अलिकति भेद हुन सके पनि शिलालेखमा नाउँ काढिएका पुरोहित केदार श्रुतिधर्मभन्दा बेग्लै धार्मिक अभ्यासमा निपुण हुनुपर्छ’ (१४० पृ.बाट अनूदित)।
संस्कृतको अतिप्रसिद्ध कोष अमरकोषमा दिइएका ‘बाहुन’ का ६ पर्यायमध्ये ‘विप्र’ र ‘ब्राह्मण’ (२।७।४) पनि परेकाले त्यस्तो भेद मलाई थाहा छैन। खास गरी छन्द मिलाउन ‘विप्र’ शब्दको प्रयोग यहाँ भएको हुनुपर्छ। हो, पर्यायै भए पनि कुनै कुनै शब्दमा झीनो भेद नहुने होइन। त्यसो हो भने, ग्रन्थकारले यो विषय स्पष्ट पार्नुपर्छ।
१७. ‘आफ्ना बाबुलाई भक्तपुरको सदाशिवचोकमा कैद गरी विश्वासिलो नातेदारलाई मारेर प्रताप मल्लले काठमाडौँको सिंहासन कब्जा गरे’ (द ब्रिक् यान्ड् द बुल्, १४२ पृ.बाट अनूदित) भनी तिवारीले लेखेकोमा एउटा गल्ती परेको छ। प्रताप मल्ल (वि.सं. १६८०-१७३१, राज्यकाल वि.सं. १६९८-१७३१)ले बाबु लक्ष्मीनरसिंह (वि.सं. १६५५-१७१७, राज्यकाल वि.सं. १६७७-१६९८)लाई कैद गरेका त हुन्, तर आफ्नै राज्यमा (धनवज्र वज्राचार्य र टेकबहादुर श्रेष्ठ, दोलखाको ऐतिहासिक रूपरेखा, काठमाडौँः नेपाल र एशियाली अध्ययनसंस्थान, २०३१, ४० पृ., ३ टिप्पणी)। भक्तपुरको सदाशिवचोकमा कैद पर्ने त लक्ष्मीनरसिंहका जेठा बाजे सदाशिव मल्ल हुन् (देवीप्रसाद लंसालद्वारा सम्पादित भाषा वंशावली २ भाग, नेपाल राष्ट्रिय पुस्तकालय, २०२३, ५९ पृ.)।
१८. ‘यो शासनपत्र (लेलेको संवत् ५२६ को- महेशराज पन्त) जारी गर्नुको उद्देश्य अझै बढी चाखलाग्दो छ। साधुसन्तहरूलाई पहिले दिइएको जग्गादान पछिपरन्तुसम्म कायम राख्ने र आफ्ना सन्तानहरूको राज्य निरन्तर चलोस् भन्ने यकिन दिने दोहरो उद्देश्यले यो उत्कीर्ण लेख राखिएको थियो’ (द ब्रिक् यान्ड् द बुल्, १६३ पृ.बाट अनूदित) भनी माथि लेखी टिप्पणीमा ‘उत्कीर्ण लेखमा भएको शब्द ‘सन्तानोपचीयमान’ हो। धनवज्र वज्राचार्य र हरिराम जोशीले आआफ्ना पुस्तकमा यस वाक्यांशको उल्था छुटाएका छन्, डिल्लीरमण रेग्मीले अंशुवर्माको विशेषण भन्ने ठानी उल्था गरेका छन्। यसो भए पनि शिवदेवको विशेषणको रूपमा यो आएको छ भन्ने वाक्यरचनाबाट देखिन्छ र आफ्ना सन्तानको वंश अप्रतिहत रूपले चलोस् भन्ने उनको इच्छा थियो’ (उही, १६७ पृ., १ टिप्पणीको उल्था) भनी तिवारीले लेखेको विषयमा पनि टिप्पणी गर्नुपर्छ।
मूल शिलापत्रमा भएको यो वाक्य ‘युष्मद्ग्रामसीमाभ्यन्तरभूमौ पूर्वराजभिरन्यैश्च साधुभिः श्रेयोभिवृद्धये क्षेत्त्राण्यतिसृष्टकान्यासंस्तेषामेव कैश्चिदप्यनाक्षेपाय चिरस्थितिनिमित्तमुपरतसन्तानोपचीयमानविशदकीत्र्ति-मालामोदितदिगन्तरः श्रीमहासामन्तांशुवर्म्मास्मदनुमोदनया शिलापट्टकशासनमिदन्दत्तवान् (लिच्छविकालका अभिलेख, २८२ पृ.) नेपालीमा शब्दशः उल्था गर्दा यसको रूप यस्तो हुन्छ- ‘तिमीहरूको गाउँको सीमाभित्रका ठाउँमा पहिलेका राजाहरूले र अरू सज्जनहरूले पुण्य बढोस् भनी जुन खेतहरू दान दिएका थिए, तिनको दुरुपयोग कसैबाट पनि नहुनको लागि, धेरै कालसम्म तिनलाई कायम राख्ने हेतुले नरोकिएको पुण्यको विस्तारले बढिरहेको कीर्तिको ताँतीद्वारा दिगन्तरसम्म खुशी पारेका श्रीमहासामन्त अंशुवर्माले हामीबाट अनुमोदन गरिबक्सेकोले यो शिलापत्रशासन दिए।’
यसबाट अब के बुझियो भने तिवारीको पुस्तकबाट माथि उद्धरण गरिएको वाक्यमा कमसेकम ठूला ठूला दुइवटा गल्ती परेका छन्। ‘पूर्वराजभिरन्यैश्च साधुभिः’ यस वाक्यांशको अर्थ गर्दा ‘साधु’ शब्दको अर्थ नेपालीमा चलेको ‘साधुसन्त (असेटिक्)’ र ‘विस्तार/फैलावट’ को अर्थमा आएको ‘सन्तान’ शब्दलाई नेपालीमा बढी चलेको ‘वंशज’ को अर्थ दिई ठूलो अनर्थ भएको छ।
१९. ‘अंशुवर्माको पालाको षष्ठीदेवकुललाई आजभोलि गल्तीले गरुडवाहिनी भगवतीको मन्दिर भनिन्छ। ... पुजारीले महेश्वर, उमा, गणेश र कार्तिकेयलाई उपस्थितिका लागि आवाहन गर्छन्। महेश्वरका गण नन्दी र भृङ्गी पनि उनीहरूसँगै जान्छन्। यो शिवको ६ जनाको परिवार अर्थात् षष्ठदेवकुल हो’ (द ब्रिक् यान्ड् द बुल्, १७९ पृ.बाट अनूदित)। ‘हाँडीगाउँको षष्ठदेवकुल ६ जनाको परिवारको प्रथा अंशुवर्माले स्पष्टतः बढी चलनचल्तीमा ल्याएको देखिन्छ’ (उही, १८१ पृ.बाट अनूदित) भनी तिवारीले लेखेको कुरामा पनि टिप्पणी गर्न आवश्यक छ।
बच्चाबच्ची जन्मेको छैटौँ दिनमा घरको एउटा कोठामा अलग्गै मातृकाविशेष षष्ठीदेवीको पूजा गर्ने चलन छ। अंशुवर्माका सामानकालिक बाणभट्टले रचेको कादम्बरी (पूर्वभाग, चन्द्रापीडजन्मवर्णन)मा राजकुमारको जन्म भएपछि सुत्केरीघरमा षष्ठीदेवीको प्रतिमा बनाई त्यस प्रतिमालाई हलेदोको रसमा रङ्गाएको पहेँलो वस्त्र पहिर्याएको बयान आउँछ। अंशुवर्माको (मानदेव) संवत् ३० को शिलापत्रमा अरू तीन देवदेवीलाई भाग छुट्ट्याए जस्तै गरी षष्ठीको मन्दिर (षष्ठीदेवकुल)लाई पनि भाग छुट्ट्याइएको छ (लिच्छविकालका अभिलेख, ३०१-३०८ पृ.)। यो कुरा नबुझी तिवारीले महेश्वर र उमा, उनीहरूका दुइ छोरा कार्त्तिकेय र गणेश तथा दुइ जना गण नन्दी र भृङ्गीसमेत ६ जनाको शिवपरिवारलाई मान्ने ‘षष्ठदेवकुल’ को प्रथा अंशुवर्माको पालामा बढी चलनचल्तीमा आयो भन्ने व्याख्या गरेका छन्। यसमा बुझ्नुपर्ने मुख्य कुरा के छ भने अंशुवर्माको शिलापत्रमा ‘षष्ठीदेवकुल’ लेखिएको छ, ‘षष्ठदेवकुल’ होइन। त्यस्तै उनले व्याख्या गरेजस्तो त्यहाँ ६ जनाको शिवपरिवारलाई बुझाइएको भए ‘षट्देवकुल’ लेखिन्थ्यो होला। ‘षष्ठ’ को अर्थ ‘छैटौँ’ र ‘षट्’ को अर्थ ‘६’ भनी यहाँ भनिरहनु नपर्ला।
२०. ई.सं. १३७६ तिर गद्दी चढेका जयस्थिति मल्लको समयदेखि मात्र ‘मानेश्वरीवरलब्धप्रताप’ अर्थात् मानेश्वरीको वर पाएका भन्ने राजकीय उपाधिमा प्रयोग हुन थाल्यो (द ब्रिक् यान्ड् द बुल्, २०५ पृ., १७ टिप्पणीको उल्था) भनी यहाँ लेखिएको छ। राजाहरूको उपाधिमा मानेश्वरीको नाम कहिलेदेखि आउन थाल्यो भनी ठोकेर भन्न त म सक्दिनँ तर सबभन्दा पुरानोमा ने.सं. ३४४ तदनुसार ई.सं. १२२३ मा राजा अभय मल्लको नामसँगै यो उपाधि जोडिएर आएको मैले देखेको छु (महेशराज पन्त, ‘पुराना अभिलेखमा मानेश्वरी’, पूर्णिमा, १३९ पूर्णाङ्क, २०७०, १८१ पृ.)।
अन्त्यमा, माथि मैले जे लेखेँ, त्यो विद्याको अभिवृद्धिको लागि आफ्नो बुत्ताले भ्याएसम्म सत्यको उद्घाटन गरी लेखेको हुँ, यसमा द्वेष र दुर्भावनाको लेश पनि छैन।
यो पनि पढ्नुहोस् :