आईएमएफले नेपाललाई विस्तारित कर्जा सुविधाको चौथो किस्ताको निकासा गर्ने
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपाललाई विस्तारित कर्जा सुविधा अन्तर्गतको चौथो किस्ताको रकम उपलब्ध गराउने भएको छ।
आईएमएफको एशिया प्रशान्त डिभिजन अन्तर्गत डेपुटी डिभिजन प्रमुख टिडियान किन्डा नेतृत्वको मिशन टोलीले अर्थमन्त्री वर्षमान पुनसँग भेटेर विस्तारित कर्जा सुविधाको रकम उपलब्ध गराउने बताएको हो। भेटमा कोषले नेपाललाई विस्तारित कर्जा सुविधा अन्तर्गतको चौथो किस्ता उपलब्ध गराउने विषयमा छलफल भएको थियो।
आईएमएफ कार्यकारी बोर्डले कोभिड-१९ महामारीको समयमा २०७८ पुसमा नेपाललाई विस्तारित कर्जा सुविधा अन्तर्गत चार वर्षभित्र ३९ करोड ८८ लाख अमेरिकी डलर सहुलियतपूर्ण कर्जा दिने निर्णय गरेको थियो। जसमध्ये यसअघि नै तेस्रो किस्ता निकासा भइसकेको छ भने अन्तिम अर्थात् चौथो किस्ता बापत पाँच अर्ब ५९ करोड रुपैयाँ (४२ मिलियन अमेरिकी डलर) उपलब्ध गराउन बाँकी छ।
विस्तारित कर्जा सुविधाको प्रत्येक किस्ता रकम निकासा गर्नुअघि कोषले यसअघिको प्रतिबद्धताको समीक्षा गर्ने गरेको छ। त्यही समीक्षाका लागि कोषको मिसन नेपाल आएको हो। भेटमा अर्थमन्त्री पुनले नेपालले आर्थिक स्थायित्व, सुशासन र वित्तीय अनुशासनलाई प्राथमिकतामा राखेको बताए।
मन्त्री पुनसँगको भेटमा किन्डाले आईएमएफ कार्यकारी बोर्डले विस्तारित ऋण सुविधाको समीक्षा पूरा हुने चरणमा रहेकाले बाँकी रकम छिटै निकासा गर्ने जानकारी दिए। उनले नेपालले वित्त र मौद्रिक नीतिको सुधार तथा वित्तीय अनुशासन कायम गर्ने विषयमा राम्रो प्रगति गरेको भन्दै प्रशंसा पनि गरेको मन्त्री पुनको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
आईएमएफले संरचनात्मक तथा नीतिगत सुधारका क्षेत्र तथा मध्यम अवधिको भुक्तानी सन्तुलन, आन्तरिक राजस्व परिचालन, सार्वजनिक लगानी व्यवस्थापन र वित्तीय जोखिम घटाउन ईसीएफ फन्ड मार्फत विभिन्न मुलुकलाई आर्थिक सहायता प्रदान गर्दै आएको बताएको छ। विस्तारित कर्जा सुविधा (ईसीएफ) अन्तर्गतको उक्त रकम नेपालले बजेटरी सहायता शीर्षकमा राखेर खर्च गर्दै आएको छ।