सत्तामा बसेकाहरूले नै सहकारी लुटेका छन् : चित्रबहादुर केसी
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्तामा बसेकाहरूले नै सहकारी लुटिरहेको र उनीहरूलाई सरकारले नै संरक्षण गरिरहेको बताएका छन्।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसद केसीले सहकारीको रकम लुट्नेहरू नै अहिले सत्तामा रजाइँ गरिरहेको उल्लेख गरे। “सहकारी कसले लुटेको छ, सहकारीको रकम हिनामिना कसले गरेको छ भने राज्यसत्तामा जसको रजाइँ छ,” केसीले भने।
सरकारले दण्ड दिनुपर्नेलाई जोगाइरहेको र सहकारीपीडितमाथि लाठी प्रहार गरेको उनको भनाइ थियो। बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई कालो झन्डा देखाउने क्रममा पोखराका सहकारीपीडितमाथि प्रहरीले बल प्रयोग गरेको थियो।
यसअघि पनि प्रधानमन्त्री दाहाल पोखरा जाँदा पीडितले ज्ञापनपत्र बुझाएका थिए। त्यसको सुनुवाइ नभएपछि बुधबार कालो झन्डा देखाएका थिए। “यसअघि पोखरा जाँदा प्रधानमन्त्रीलाई विनम्रपूर्वक बिन्तीपत्र हालेका थिए। हामीले खाइनखाई जम्मा गरेको पैसा, हाम्रो पसिना सीमित टाठाबाठाले लुटे, खाए। उनीहरू अहिले ढुक्कसँग कुनै कुनामा लुकेर बसेका छन्,” त्यही प्रसंग निकाल्दै केसीले भने, “सहकारी लुट्ने सबैलाई राज्यसत्ताले संरक्षण गरिराखेको छ।”
सहकारीपीडितमाथि लाठी बर्साएर राज्यसत्ताले आफ्नो असली अनुहार देखाएको केसीको भनाइ थियो। “चोरलाई चौतारो, साधुलाई शूली भने जस्तो जुन सहकारीपीडित हुन्, उनीहरूमाथि हिजो डन्डा बर्साइयो। कैयौं सहकारीपीडित अस्पतालमा छन्, कैयौं बिलखबन्दमा परेका छन्,” उनले भने।
अहिले संसदीय छानबिन विशेष समिति पनि केही व्यक्तिलाई चोख्याउने उद्देश्यले नै बनाइएको उनको जिकिर छ। “यो समिति त नवौं हो, आठौंसम्मका प्रतिवेदन कता फालेका छन् कता,” केसीले भने, “किनभने कारबाही गर्नुपर्ने मान्छे नै सत्तामा बसेका छन्। सत्तामा बसेकाहरूले नै सहकारी लुटेका छन्।”