बाल यौन दुर्व्यवहारको आरोपमा इन्स्पेक्टर पक्राउ
बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक जना प्रहरी निरीक्षक पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत प्रहरी निरीक्षक विदुर सिवाकोटी पक्राउ परेका हुन्। सिवाकोटीलाई बाल यौन दुर्व्यवहारको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए।
प्रहरी निरीक्षक सिवाकोटीलाई गए राति नागार्जुन नगरपालिका-१ स्थित निवासबाटै पक्राउ गरिएको हो। उनीमाथि आफ्नै घरमा काम गर्ने १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ।
गए राति नै काठमाडौं महानगरपालिका, नागार्जुन नगरपालिका, बालबालिका खोजतलास तथा समन्वय केन्द्र, प्रहरी र बाल अधिकारकर्मीले सिवाकोटीको घरबाट बालिकालाई उद्धार गरेका थिए। उद्धारपछि बालिकाले आफू यौन दुर्व्यवहारमा परेको बताएकी थिइन्।
बालिकाको बयानका आधारमा प्रहरी निरीक्षक सिवाकोटीलाई पक्राउ गरिएको काठमाडौं परिसरका प्रवक्ता अधिकारीले बताए। उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अधिकारीको भनाइ छ।