मधेशमा सतिश सिंहलाई मुख्यमन्त्री बनाउने जनमतको निर्णय
जनमत पार्टीले मधेश प्रदेशको मुख्यमन्त्रीमा सतिशकुमार सिंहलाई अघि सार्ने निर्णय गरेको छ।
मधेश प्रदेशमा सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय भएको जनमतका प्रवक्ता डा. शरदसिंह यादवले बताए। सिंह सप्तरी २ ‘क’ बाट प्रदेश सभा सदस्य निर्वाचित भएका हुन्।
मधेशमा जनमतको नेतृत्वमा सरकार गठन गर्ने सत्तारूढ दलबीच सहमति भइसकेको छ। नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले सघाउने भएका छन्। मधेश प्रदेशका संसदीय दलका नेता महेश यादव भए पनि जनमतले सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो।
बुधबार प्रदेश सभामा जनता समाजवादी पार्टी (जसपा) नेपालबाट सरकारको नेतृत्व गरिरहेका सरोजकुमार यादवले विश्वासको मत गुमाएका थिए। यादव नेतृत्वको सरकार ढलेसँगै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नयाँ मुख्यमन्त्रीका लागि शुक्रबार बिहान १० बजेसम्म दाबी पेश गर्न आह्वान गरेकी छन्।
उनी तिलाठी कोइलाडी गाउँपालिकाका पूर्व अध्यक्ष हुन्। गत स्थानीय निर्वाचनमा गाउँपालिकामा पराजित भएका थिए। त्यसपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छोडेर जनमतमा प्रवेश गरेका थिए।