विश्वकप : आयरल्यान्ड विरुद्ध भारतको सहज जित
आईसीसी पुरुष टी-२० विश्वकप अन्तर्गत भारतले पहिलो खेलमा सहज जित हात पारेको छ।
अमेरिकाको न्यूयोर्कस्थित नसाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा गए राति सम्पन्न खेलमा भारतले आयरल्यान्डलाई आठ विकेटले पराजित गरेको हो।
टस जितेर पहिला फिल्डिङ रोजेको भारतले १६औं ओभरमा आयरल्यान्डको टोलीलाई ९६ रनमै समेटिदियो। जवाफी ब्याटिङमा उत्रिएको भारतले १२ ओभर दुई बलमै दुई विकेट गुमाउँदै ९७ रनको लक्ष्य पूरा गर्यो।
भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ५२ रनको योगदान दिए। त्यस्तै, ऋषभ पन्तले ३६ रन जोडे। आयरल्यान्डका लागि मार्क अडैर र बेन ह्वाइटले समान एक एक विकेट लिए।
ब्याटिङतर्फ आयरल्यान्डका लागि गेराथ डिलेनीले सर्वाधिक २६ रनको योगदान दिए भने जोशआ लिटिलले १४, कर्टिस केम्फरले १२ तथा लोर्कन टकरले १० रन बनाए।
भारतका हार्दिक पाण्ड्याले तीन विकेट लिंदा अर्शदीप सिंह र जसप्रित बुमराहले समान दुई दुई विकेट लिए। त्यस्तै, मोहम्मद सिराज र अक्षर पटेलले एक एक विकेट लिए।
विश्वकपमा भारत र आयरल्यान्ड समूह ‘ए’ मा छन्। यही समूहमा अमेरिका, क्यानडा र पाकिस्तान छन्। यही समूहको अर्को खेल पाकिस्तान र अमेरिकाबीच नेपाली समय अनुसार आज राति ९:१५ मा हुनेछ।
प्रतियोगिता अन्तर्गत अहिले पपुवा न्यूगिनी र युगान्डा तथा अस्ट्रेलिया र ओमानबीच प्रतिस्पर्धा भइरहेको छ।