मधेशका मुख्यमन्त्री यादवले गुमाए विश्वासको मत
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश सभाको विश्वास गुमाएसँगै जनता समाजवादी पार्टी (जसपा) नेपाल नेतृत्वको सरकार ढलेको छ।
प्रदेश सभाको बुधबारको बैठकमा मुख्यमन्त्री यादवले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ५० सांसदले मात्रै मत दिए। हाल १०६ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ।
त्यस्तै, उनको विपक्षमा ५३ जनाले मतदान गरे। आजको बैठकमा १०३ सांसद उपस्थित थिए।
सभामुख रामचन्द्र मण्डलले मुख्यमन्त्रीको पक्षमा बहुमत सदस्यले मतदान नगरेकाले उनले पेश गरेको विश्वासको मतको प्रस्ताव अस्वीकृत भएको घोषणा गरे। उनलाई जसपा नेपालका १९, नेपाली कांग्रेसका २२, लोसपा नेपालका आठ र राप्रपा नेपालका एक सांसदले मत दिएका थिए।
विपक्षमा नेकपा (एमाले) २४, जनमतका १३, माओवादीका नौ र नेकपा (एकीकृत समाजवादी)का सात सांसदले मत दिए। संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीका प्रदेश सभा सदस्य अनुपस्थित रहेका थिए। दुवै पार्टीका एक-एक सांसद छन्।
मुख्यमन्त्री यादवले प्रदेश सभाको बैठकमा विश्वासको मत लिने तयारी गरे पनि अन्तिम समयमा आफू बिरामी परेको भन्दै जेठ २८ गतेसम्म सार्न आग्रह गरेका थिए। तर सभामुख मण्डलले बैठक सार्न अस्वीकार गरेपछि मुख्यमन्त्री यादव विश्वासको मत लिन बाध्य भएका थिए।