नयाँ पुस्ताले पुनर्जीवित धजुरा पेचुरी र बुन्छत
नयाँ पुस्तामा सांस्कृतिक जागरणको उभारसँगै पूर्वी नेपालको किरात राई समुदायमा हराउन लागिसकेका मौलिक प्रतीकहरूले पुनर्जीवन पाएका छन्।
वैशाख पूर्णिमायता पूर्वी नेपालका गाउँ र शहरी क्षेत्रका विभिन्न ठाउँमा किरात राई समुदायका युवायुवती ढोल र झ्याम्टा बजाउँदै साकेला सिली नाचिरहेका छन्। किरात राई समुदायको संस्था किरात राई यायोक्खा सुनसरीले दैनिक विभिन्न स्थलमा साकेला नाचेर १५ दिनसम्म उभौली मनाउने कार्यक्रम सार्वजनिक गरेको छ।
साकेला नाच्ने युवा दौरा, सुरुवाल र कोटमा तथा युवती गुन्यु, चौबन्दी चोलो लगायत मौलिक पहिरनमा सजिएका हुन्छन्। पछिल्लो समय साकेला नाच्ने युवा वा युवती दुवैको छातीको देब्रे भागमा दौरा वा चौबन्दीको तुनामा उनेर धागोबाट बुनिएको बुङ अर्थात् फूलको गुच्छा पनि झुन्ड्याइएको देखिन्छ। त्यसरी छातीमा झुन्ड्याइने धागोका फूल (बुङ)लाई धजुरा पेचुरी भनिन्छ।
त्यससँगै चोयाले बुनेको बुन्छत वा बुन्छेन पनि झुन्ड्याइन्छ जसलाई बुद्धिगाँठो भन्ने गरिन्छ। त्यस्तै, कसैले राई समुदायको प्रसिद्ध बाजा बिनायो (कोङ्कोङ्मा), मुर्चुंगा पनि झुन्ड्याउँछन् भने कसैले वाबु (चिन्डो)को सानो प्रतीक पनि झुन्ड्याउने गरेका छन्। आफ्नो रुचि र क्षमता अनुसारका सामग्री झुन्ड्याउन सकिने किरात राई सांस्कृतिक कलाकार संघका निवर्तमान केन्द्रीय अध्यक्ष रामकर राई बताउँछन्।
रामकरका अनुसार आफूले गहनाका रूपमा प्रयोग गर्न वा अरू कसैलाई स्वागत-सम्मान गर्न पनि फूलको गुच्छा तथा अन्य सामग्री प्रयोग गरिन्छ। उनी भन्छन्, “विगतमा पुर्खाले प्रयोग गर्ने यस्ता चिजबिच हराइसकेका थिए, तर पछिल्लो समय आएको सांस्कृतिक पुनर्जागरणका कारण युवा पुस्तामा यी सामग्री प्रयोग गर्ने प्रचलन बढेको छ।”
किरात राई यायोक्खाका सुनसरी जिल्ला अध्यक्ष राजेन्द्र राईका अनुसार किरात पुर्खाले बुकीको फूललाई गहनाका रूपमा लगाउने प्रचलन थियो। पछि त्यसैको प्रतीकका रूपमा धान, गहुँ वा कोदोको बालाबाट पनि यस्तो फूल बनाएर लगाउन थालिएको राजेन्द्र बताउँछन्। “यही क्रममा पछिल्लो समय धागोबाट आकर्षक फूल बनाउने प्रचलन बसेको पाइन्छ,” राजेन्द्र भन्छन्, “यो विशेषगरी छोरीचेलीले बुनेर माइतीलाई लगाइदिने प्रचलन छ।”
पूर्वी पहाडमा राई मात्र नभई अन्य समुदायले पनि परम्परागत रूपमा केटाकेटी बिरामी परेका वेला निगालो, मालिंगो बाँसको चोयाबाट बुनिएको तीनकुने, पाँचकुने र सातकुने बुद्धिगाँठो भनिने जन्तर जस्तो वस्तु घाँटीमा झुन्ड्याइदिने गरेको पाइन्छ। बुन्छतको अनुसन्धान र संरक्षण अभियान चलाइरहेका कृष्ण बान्तवाका अनुसार किरात राईको परम्परागत मौलिक-सांस्कृतिक गहना भए पनि तामाङ, मगर, शेर्पा, खसदेखि नेपाल बाहिर नागाल्यान्डको नागा जाति र बर्माका आदिवासीले समेत यिनको प्रयोग गर्छन्।
कृष्णका अनुसार बुन्छत शब्द नै बान्तवा भाषाबाट राखिएको हो। बान्तवा भाषामा ‘बुन’ को अर्थ चिनो र ‘छत’ को अर्थ बन्धन हो। बान्तवाकै विभिन्न भाषिकामा यस आभूषणलाई फरक फरक नामले चिनिन्छ, जस्तै- बुमछक, बुमछुक, बुनछक, बुनछुक, बुनछुत, बुनछुप आदि। यसलाई सेमोरी, सेमारी, स्यामोरी, नाङुरी, डिमारी, वाखित्रो जस्ता नामले पनि चिन्ने गरिन्छ। नेपाली भाषामा यसलाई बुद्धिगाँठो, चेतगाँठो, चेत्तकी जस्ता नामले चिनिने कृष्ण बताउँछन्।
अहिले यसलाई कसैले छातीमा, कसैले झुम्काका रूपमा कानमा र कसैले मालाका रूपमा घाँटीमा लगाउने गरेका छन्। किरात राई समुदायमा यसलाई भाषिक रूपमा बुन्छत वा बुन्छेन जस्ता नामले चिनिन्छ। यायोक्खाका जिल्ला अध्यक्ष राजेन्द्र भन्छन्, “किरात राई समुदायको मुन्दुममा बाटो नबिराओस्, कुविचार नराखोस् भनेर बुन्छत लगाउने उल्लेख छ। बीचमा यसको प्रयोगमा कमी आए पनि सांस्कृतिक अभियन्ताको सक्रियताले पुनः नयाँ पुस्ताले प्रयोग गर्न थालेको छ। यसबाट हाम्रो समुदायमा सांस्कृतिक पुनर्जागरण आएको बुझ्न सकिन्छ।”
किरात राई संस्कृति कलाकार संघका निवर्तमान केन्द्रीय अध्यक्ष राजेन्द्र २०४६ सालको राजनीतिक परिवर्तनपछि जातीय संघसंस्था खुल्न थालेसँगै आदिवासी जनजाति समुदायमा सांस्कृतिक चेतना वृद्धि भएको बताउँछन्। ती संस्थाले आफ्ना संस्कृति र परम्परागत अभ्यासलाई प्राथमिकता दिएसँगै विभिन्न जातजातिले आफ्ना चाडपर्वका वेला मौलिक पहिरन र गहना प्रदर्शन गर्ने क्रम बढ्यो। जसले गर्दा १५-२० वर्षअघिबाट सांस्कृतिक गतिविधिमा तीव्रता आएको उनको भनाइ छ। “राई समुदायका युवा पुस्तामा पनि त्यही वेलादेखि मौलिक पहिरन र गहना लगाउने प्रचलन बढ्यो,” राजेन्द्र भन्छन्, “त्यति वेला कम प्रचलनमा रहेको धजुरा पेचुरी, बुन्छत जस्ता परम्परागत गहना लगाउने क्रम बढ्यो। अहिले आएर यो अनिवार्य जस्तै बनेको छ।”
केही वर्षयता यायोक्खाले सांस्कृतिक कार्यक्रममा अतिथिलाई खादाको विकल्पमा धजुरा पेचुरी र बुन्छत लगाइदिने गरेका छन्। “यस्ता गहना लगाउने प्रचलन अब हाम्रा कुनै पनि कार्यक्रममा अनिवार्य नै बनिसकेको छ,” उनी भन्छन्।
नेपाल पत्रकार महासंघ, सुनसरीका अध्यक्ष समेत रहेका सांस्कृतिक अभियन्ता जनकऋषि राई कुनै पनि कार्यक्रममा जाँदा छातीमा धजुरा पेचुरी र बुन्छत झुन्ड्याएर पुग्छन्। आफू मात्र लगाउने होइन, उनले पत्रकार महासंघको कार्यालयमा आउने विशिष्ट पाहुनालाई पनि यही मौलिक गहना लगाइदिने गरेका छन्। केही समयअघि महासंघको कार्यालयमा आएका सूचना प्रविधि तथा सञ्चारमन्त्री रेखा शर्मा, पूर्व पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती लगायतलाई यही गहनाले स्वागत गरेका थिए।
उनी अहिले कसैको जन्मदिन वा विवाहमा निम्तो मान्न जाँदा पनि यही कोसेली बोकेर जाने गरेको बताउँछन्। “बुङ अर्थात् धजुरा पेचुरीहरू बनाउन विशेषगरी रातो, पहेंलो, हरियो रङको धागो प्रयोग गरिन्छ,” उनी भन्छन्, “जसमा रातोको अर्थ रगतको समानता, पहेंलोको अर्थ सद्भाव र हरियोको अर्थ प्रकृतिसँग सम्बन्धित हुन्छ।”
बुन्छतमा तीन कुना हुने भएकाले यसलाई किरात राईको तीन चुलाको प्रतीकका रूपमा पनि लिइने जनकऋषिको व्याख्या छ। त्यस्तै, बुन्छत तयार भएपछि कहाँबाट शुरूआत भयो र कहाँ अन्त्य भयो भन्ने छुट्याउन मुश्किल हुने भएकाले त्यसलाई किराती मिथक अनुसार प्रकृति अनन्त तर निरन्तर छ भन्ने अर्थमा लिइने उनी बताउँछन्।
त्यस्तै, चिन्डो अर्थात वाबुलाई शुद्धताको प्रतीकका रूपमा छातीमा लगाउने गरिएको जनाउँछन्। उनी भन्छन्, “खासगरी यो सांस्कृतिक जागरण माओवादी सशस्त्र संघर्ष र २०६३ सालको राजनीतिक परिवर्तनपछि आएको हो। यसले नयाँ पुस्तामा पनि सांस्कृतिक चेतनाको विकास भइरहेको बुझ्न सकिन्छ।”
राई समुदायका पहिरन तथा गरगहना संकलन र बिक्रीवितरण गर्न ‘चोमोलुङ्मा कलेक्शन’ समेत सञ्चालन गरिरहेका किरात राई सांस्कृतिक कलाकार संघका निवर्तमान केन्द्रीय अध्यक्ष रामकर किरात राई समुदायमा भाषागत विविधता रहेकाले यस्ता गहनाका नाम पनि भाषा र ठाउँ अनुसार फरक हुने गरेको बताउँछन्। रामकरका अनुसार धजुरा पेचुरीलाई नै कसैले झोम्फा, कसैले चाम्फुरी भनेर पनि चिन्छन्। यसको बनोट पनि फरक फरक हुन्छ। धजुरा पनि सामान्य धजुरा, दुम्सीकाँडे धजुरा, नागबेली धजुरा, सुनाखरी धजुरा जस्ता अनेक बनोट र शैलीका पाइन्छन्।
त्यस्तै, बुन्छतलाई कसैले बुन्छेन त कसैले अन्य नामले चिन्ने गरेका छन्। यसलाई विशेषगरी खालिङ राई महिलाहरूले बनाउने प्रचलन रहेको उनी बताउँछन्।
विगतमा कुलुङ, बाहिङ, खालिङ, बाम्बुले लगायत राईहरूले भिन्नाभिन्नै प्रतीक बनाएर लगाउने गरे पनि नयाँ पुस्तामा आएको सांस्कृतिक जागरणसँगै सबै राईले धजुरा पेचुरी र बुन्छतको प्रयोग गर्न थालेका छन्। रामकर भन्छन्, “सबैले हाम्रो भनेर अपनत्व ग्रहण गरेपछि अहिले यो नलगाए त राई नै नहुने जस्तो भएको छ। राईले मात्र होइन, कार्यक्रममा अन्य समुदायलाई पनि लगाइदिने प्रचलनले यसको महत्त्व बढेको छ।”
नयाँ पुस्तामा सांस्कृतिक जागरण आएसँगै अहिले किरात राई समुदायका उभौली, उधौली जस्ता चाडपर्व र विवाह जस्ता शुभकार्यमा मौलिक पहिरन र गहना लगाउने प्रचलन बढेको छ। अझ पछिल्ला केही वर्षयता युवा पुस्तामाझ परम्परागत गहनातिर झुकाव बढेपछि गाउँमा यस्ता सामग्री बनाउन जान्ने मानिसको खोजी हुन थालेको राजेन्द्र बताउँछन्।
उनका अनुसार धरान, इटहरी, दमक, काठमाडौं मात्र होइन, विदेशतिर समेत यस्ता वस्तुको माग बढेको छ। “यस्ता मौलिक, सांस्कृतिक वस्तुहरू संकलन गर्न धेरै गाह्रो छ। बनाउन जान्ने मान्छे कम छन्, त्यसैले हामी व्यापारभन्दा पनि सांस्कृतिक जागरणकै लागि यिनको प्रवर्द्धन गरिरहेका छौं,” उनी थप्छन्, “यो किरातीको मात्र होइन, नेपालीको संस्कृति भएकाले यसलाई पर्यटनसँग जोडेर स्थानीय सरकारले प्रवर्द्धन गर्नु आवश्यक छ।”