तालहरूको बिग्रिएको ताल
टोपो नक्शाका आधारमा गरिएको गणनामा तीन हजार मिटर उचाइसम्म तीन हजार १३१ वटा ताल रहेकामा पछिको अध्ययनमा ६२६ वटा मात्र भेटिनुले ठूलो संख्याका ताल मासिइसकेको बुझिन्छ।
माईपोखरी मासियो भने इलाम इलामै रहन सक्ला कि नसक्ला!
मोरङका राजारानी र राजकुमारी पोखरी सुके भने तिनमा आश्रित अनेक थरी सुनाखरी अर्थात् सृष्टिका अनुपम वनस्पति कसरी बाँच्लान्! सराङकोट पुगेर तल हेर्दा पोखरा शहरको किनारमा फेवा ताल वा प्लेन चढेर पोखरा जाँदा बेगनास जस्ता ताल देखिएनन् भने पोखरा कस्तो हुँदो हो! अथवा ताल मासिए भने तालैतालको शहर पोखरा र त्यहाँका बासिन्दाको अवस्था कस्तो हुँदो हो!
रुपन्देही र कपिलवस्तुका तालतलैया मासिए भने तिनमा आश्रित जंगली धान र चराचुरुंगी कसरी बाँच्लान्!
अझ पश्चिम, कैलालीको घोडाघोडी र माथि कर्णालीको रारा ताल सुक्दा ती ठाउँ र त्यहाँका मानिस अहिले जस्तै रहन सक्लान्!
काठमाडौंको रानीपोखरी हुँदैनथ्यो भने रवीन्द्र शाहले ‘रानी तलाउ किनारा, चम्की रहेथ्यो नील नभमा सितारा’ गीत कसरी लेख्थे!
नातिकाजीले त्यस गीतमा सुन्दर संगीत कसरी दिन्थे अनि गौरी केसीको मुलायम स्वरमा हामीले त्यो गीत सुन्न कसरी पाउँथ्यौं!
फगत चिन्ता होइन यो, हाम्रो युगको वास्तविकता हो, किनभने इलामको माईपोखरी, पोखराका गुँदे, रुपा, मैदी र न्युरेनी अनि कैलालीको घोडाघोडी लगायत धेरै तालतलैयाको अवस्था खस्कँदो छ।
राष्ट्रिय ताल संरक्षण विकास समितिले गरेको पछिल्लो गणनाले नेपालमा तीन हजार मिटर उचाइसम्म ६२६ वटा ताल देखाएकामा तीमध्ये २१ वटा बिग्रिसकेका छन्। ३०० वटा अर्थात् आधाभन्दा बढी तालतलैयाको अवस्था खस्कँदो छ। राम्रो अवस्थाका ताल-पोखरी ९६ वटा मात्र छन्, बाँकी २०९ वटाको अवस्था थाहा छैन।
यस वर्षको वातावरण दिवसको नाराले भन्छ- जमीनलाई पहिलेकै जस्तो उर्वर बनाउने अनि मरुभूमीकरण र खडेरीको सामना गर्ने।
यसो गर्न नगरी नहुने काम होः कुण्ड, पोखरी, दह, तलाउ आदिको संरक्षण। तर हामी ठीक उल्टो काम गरिरहेछौं। जग मासेर घर बनाउँदै छौं।
झन्डै २० वर्ष पहिले तानसेन बजारभन्दा माथि श्रीनगरको डाँडामा पाल्पालीले एउटा ठूलो पोखरी बनाए। यसबाट दुई वटा ठूला फाइदा हुने आश उनीहरूले गरेका थिए। पहिलो, यो पोखरीले बर्खामा परेको पानी जम्मा गरेर तल्लो भेगमा ठूलो बाढी आउन दिंदैन। दोस्रो, यसरी जम्मा भएको पानी सुक्खा याममा बिस्तारै जमीनले सोस्छ र तल्लो भेगका मूलमा पानी आउँछ। पहाडको तिर्खा मेटिन्छ।
यसरी पाल्पालीले यस वर्षको वातावरण दिवसको नारालाई धेरै पहिले आत्मसात् गरिसकेका थिए।
श्रीनगरमा पोखरी बनाइएको ठाउँबाट केही किलोमिटर तल प्रभास ताल (सरकारी अभिलेखमा कमलपोखरी भनिएको) छ। यो प्राकृतिक तालको जमीनमा मानिसहरू घर बनाउँदै थिए, घरको फोहोर तालमा फ्याँक्दै थिए। ताल मास्दै थिए।
नभएको ठाउँमा ताल बनाउने बुद्धिमान् पाल्पाली भएको ताल चाहिं मास्दै थिए। तालबारे तालमेल नहुने यस्ता काम नेपालका प्रायः सबै जिल्लाका मानिसले गर्दै आएका छन्।
यो कुरा हेर्न नेपालका कुन ठाउँमा पोखरी र तालतलैया कति छन् भनी थाहा पाउनुपर्छ। सन् १९९२ देखि २००१ सम्म नापी विभागद्वारा प्रकाशित टोपो नक्शा हेरेर उकेशराज भुजू समेतले नेपालमा त्यो अवधिमा पाँच हजार ३५८ वटा ताल-पोखरी रहेको निर्क्योल गरेका छन्। यो संख्या प्राकृतिक तालतलैयाको मात्र हो। ती तालतलैया कुन कुन जिल्लामा छन् भन्ने कुरा यो नक्शामा देखाइएको छ।
उकेशराज भुजूले यो काम त्यति वेला राष्ट्रिय ताल संरक्षण विकास समितिका लागि गरेका थिए। यही समितिले सन् २०१२ देखि ६७ जिल्लाका तीन हजार मिटरसम्मका ताल, दह, कुण्ड, पोखरीको अवस्था अध्ययन गरेको थियो। सो अध्ययन अनुसार नेपालमा तालको विवरण तलको नक्शामा देखाइएको छ।
यी तालतलैया प्रदेश, जिल्ला र पालिकापिच्छे कतै धेरै त कतै थोरै छन्। तलको नक्शामा सबैभन्दा धेरै ताल भएका प्रदेश, जिल्ला र पालिका देखाइएको छ।
टोपो नक्शाले तीन हजार मिटर उचाइसम्म तीन हजार १३१ वटा ताल देखाए पनि पछिल्लो अध्ययनमा ६२६ वटा मात्र भेटिनुले संख्या ह्वात्तै घटेको बुझिन्छ। यसको एउटा कारण दार्चुला, धादिङ, डोल्पा, गुल्मी, हुम्ला, जाजरकोट, कालीकोट, मनाङ, रसुवा र स्याङ्जाका तालको गणना नहुनु हो। मुख्य कारण चाहिं धेरैजसो ताल मासिनु हो।
धेरै ताल तराई-मधेशका जिल्लामा छन् अनि मासिएका पनि त्यहीं धेरै छन्। उदाहरणका लागि टोपो नक्शाका आधारमा कपिलवस्तु पोखरी धेरै हुनेमा तेस्रो जिल्ला थियो। तर पछिल्लो गणनामा यो सबैभन्दा धेरै (३२७ वटा) ताल मासिएको जिल्ला बन्न पुग्यो। मधेशका जिल्लामा घटेका तालतलैयाको विवरण यो नक्शामा देखाइएको छ।
नेपालका तालतलैया स्थानीय बासिन्दा र राष्ट्रका लागि मात्र होइन, अन्तर्राष्ट्रिय समुदायका लागि पनि महत्त्वपूर्ण छन्। नेपालका कोशी टप्पु, रारा, माईपोखरी, फोक्सुन्डो, बीसहजारी, घोडाघोडी, गोक्यो, गोसाइँकुण्ड र तिनका वरिपरिका, जगदीशपुर जलाशय र पोखराका ताललाई अन्तर्राष्ट्रिय दृष्टिले महत्त्वपूर्ण मानिएका छन्। यीमध्ये माईपोखरी, बीसहजारी, पोखराका केही ताल र घोडाघोडीको अवस्था खस्केको छ।
(यसमा प्रयोग भएका जानकारी अलि पुराना हुन्। त्यसभन्दा पछिका विवरण उपलब्ध नभएकाले १० वर्ष जति पहिले अध्ययन गरी तीन वर्ष पहिले प्रकाशित रिपोर्टमा भर पर्नुपरेको हो। त्यसैले यस लेखमा उल्लेख भएका तालको हालको अवस्था फरक हुन सक्छ।)