एनसेल र नासा सेक्युरिटिजबीच सहकार्य
शेयरमा लगानी गर्ने ग्राहकका लागि नयाँ सेवा प्रदान गर्न एनसेल र नासा सेक्युरिटिज कम्पनी लिमिटेडबीच सहकार्य सम्बन्धी सम्झौता भएको छ।
एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ र नासा सेक्युरिटिजका प्रबन्ध सञ्चालक मदन पौड्यालबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। नासा सेक्युरिटिज शेयर ब्रोकरेज फर्म हो।
समझदारीका अनुसार एनसेल एपबाट नासामा डिम्याट खाता खोल्दा र नवीकरण गर्दा ५५ प्रतिशत छूट पाइनेछ। पहिलो पटक डिम्याट खाता खोल्न १०० रुपैयाँ र मेरोशेयरमा दर्ता हुन ५० रुपैयाँ लाग्ने गरेको छ। अब ६७ रुपैयाँ ५० पैसामै दुवै काम गर्न सकिनेछ।
शेयर कारोबारलाई डिजिटलाइज्ड बनाउन योगदान गर्ने यस कार्यमा नासा सेक्युरिटिजसँग सहकार्य गरिएको एनसेलका प्रमुख कार्यकारी अधिकृत कायुमोभले बताए।
यस सहकार्यबाट एनसेलका सिम कार्ड प्रयोगकर्तालाई अनलाइन शेयर कारोबारमा सहयोग पुग्ने नासा सेक्युरिटिजका प्रबन्ध सञ्चालक पौड्यालको भनाइ छ।