भाजपाले गुमायो बहुमत
प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टी (भाजपा)ले लोक सभा निर्वाचनमा बहुमत गुमाएको छ।
५४३ लोक सभा सदस्यका लागि भएको निर्वाचनमा बहुमतका लागि २७२ सीट चाहिनेमा भाजपाले २४० सीटमा मात्रै विजय हासिल गरेको छ। यद्यपि भाजपा नेतृत्वको न्याशनल डेमोक्रेटिक अलायन्स (एनडीए)ले २९२ स्थानमा विजय हासिल गरेको छ। एनडीए गठबन्धनले यस पटक ४०० भन्दा बढी स्थानमा जित हासिल गर्ने भन्दै प्रचार गरेको थियो।
भारतीय राष्ट्रिय कंग्रेस नेतृत्वको गठबन्धन ‘इन्डियन न्याशनल डेभलपमेन्टल इन्क्लुसिभ अलायन्स’ (आईएनडीआईए)ले २०४ स्थानमा विजय हासिल गरेको छ।
यी गठबन्धन बाहेक एक्लै चुनाव लडेको तृणमूल कंग्रेसले २९ स्थानमा विजय हासिल गरेको छ भने अन्य विभिन्न दल र स्वतन्त्र उम्मेदवारले समग्रमा ७० सीट जितेका छन्।
यस निर्वाचन परिणामले भारतीय राजनीतिमा एक दशकदेखि राज गरिरहेको भाजपाको प्रभाव कमजोर हुँदै गएको देखाएको छ। सन् २०१४ को लोक सभा निर्वाचनमा भाजपाले २८२ सीट जितेको थियो भने उसको नेतृत्वमा एनडीए गठबन्धनले ३३६ स्थान हासिल गरेको थियो।
सन् २०१९ को निर्वाचनमा भाजपाले ३०३ स्थानमा जित्दा एनडीएले ३५१ स्थान सुरक्षित गरेको थियो। यस पटकको निर्वाचनमा भने भाजपा र उसको गठबन्धन दुवैको मत परिणाम खस्किएको छ।
सन् २०१४ मा जम्मा ४४ स्थानमा जितेसँगै ओरालो लागेको भारतीय राष्ट्रिय कंग्रेसको स्थिति भने सुधारिएको छ। उसले ९९ स्थानमा जित हासिल गरेको छ, जबकि सन् २०१९ मा जम्मा ५२ स्थानमा जित हात पारेको थियो।
कंग्रेस नेतृत्वको गठबन्धन आईएनडीआईएले पनि अघिल्ला दुई निर्वाचनको तुलनामा उल्लेखनीय रूपमा जित हासिल गरेको छ। सन् २०१४ र २०१९ मा कांग्रेस नेतृत्वको ‘संयुक्त प्रगतिशील गठबन्धन’ (यूपीए)ले क्रमशः ५९ र ९० स्थानमा जितेको थियो। यस पटक कंग्रेस नेतृत्वको गठबन्धन आईएनडीआईएले २०४ स्थानमा जित हासिल गरेको छ।
भाजपा अहिले पनि गठबन्धनका अन्य दलको सहयोगमा सरकार बनाउन सक्षम हुने देखिए पनि संसद्मा उसले यस पटक फरक दृश्यको सामना गर्नुपर्ने भएको छ।