भारतमा कसले बनाउला सरकार?
भारतमा लोक सभा निर्वाचनको मतगणना अन्तिम चरणतिर पुग्दा नयाँ सरकार गठनका विषयमा चर्चा शुरू भएको छ।
प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा चुनावमा गएको सत्तारूढ भारतीय जनता पार्टी (भाजपा)को बहुमत नपुग्ने देखिएको छ। यस पटक ‘४०० पार’ को नारा लगाएर चुनावमा होमिएका मोदीलाई एक्लै सरकार बनाउने सीट पनि नपुग्ने परिणाम आएको छ।
लोक सभाका ५४३ मध्ये बहुमतका लागि २७२ सीट आवश्यक पर्छ। प्रधानमन्त्री मोदीको पार्टी भाजपाले २३९ सीटसम्म जित्ने देखिन्छ।
भारतीय निर्वाचन आयोगका अनुसार मंगलबार राति ८ बजेसम्म २२० सीटको मतगणना सकिएको छ। जसमध्ये भाजपाले ११७ सीट जितेको छ। त्यस्तै, १२२ सीटमा अग्रता लिएको छ। अग्रता लिएका सबै जितेमा पनि २३९ सीट पुग्छ।
त्यस्तै, दोस्रो स्थानमा रहेको भारतीय राष्ट्रिय कंग्रेसले ५० सीट जितेको छ भने ४९ सीटमा अग्रता लिएको छ। कंग्रेसले अग्रता लिएका सबै सीट जितेमा ९९ सीट पुग्छ। गत निर्वाचनमा ५२ सीट मात्रै जितेको थियो।
भाजपा नेतृत्वको एनडीए गठबन्धनमा रहेका सबै दलले अहिलेसम्म १३० सीट जितिसकेका छन्। एनडीएमा आबद्ध दल १६३ स्थानमा अगाडि छन्।
यो गठबन्धनमा रहेका दलमध्ये नीतीश कुमार नेतृत्वको जनता दल (युनाइटेड) र चन्द्रबाबु नाइडू नेतृत्वको तेलुगु देसम पार्टी (टीडीएस) सरकार गठनका लागि निर्णायक देखिएका छन्। जनता दलले दुई सीट जितेको छ भने १० सीटमा अगाडि छ। त्यस्तै, टीडीएसले दुई सीट जितेको छ भने १४ सीटमा अगाडि छ।
यसैगरी, कंग्रेस नेतृत्वको इन्डिया गठबन्धनमा रहेका दलले अहिलेसम्म ७८ सीट जितिसकेका छन् भने १२६ सीटमा अगाडि छन्। अग्रता लिएका सबै सीट जितेमा २०४ सीट पुग्ने देखिएको छ।
इन्डिया गठबन्धनलाई नै समर्थन गरिरहेको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जी नेतृत्वको तृणमूल कंग्रेसले पाँच सीट जितिसकेको छ भने २४ सीटमा अगाडि छ। अग्रता लिएका सबै सीट जितेमा तृणमूल कंग्रेसको २९ सीट हुनेछ।
चुनाव हुनुअघि नीतीश कुमार र चन्द्रबाबु नाइडू पनि इन्डिया गठबन्धनमै थिए। अन्तिम समयमा आएर उनीहरू भाजपाको नेतृत्वको एनडीए गठबन्धनमा सामेल भएका थिए।
भाजपाले बहुमत प्राप्त नगर्ने देखिएपछि कंग्रेसले सरकार गठनका लागि प्रयास गर्ने भएको छ। सोमबार साँझ पत्रकार सम्मेलन गरेर कंग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गे र नेता राहुल गान्धीले इन्डिया गठबन्धनको सरकार बनाउन प्रयास गर्ने बताए। “नीतीश कुमार र चन्द्रबाबु नाइडूसँग कुराकानी भइरहेको छ, भोलिसम्म सरकार गठनको विषयमा निर्णय हुन्छ,” गान्धीले भने।
बुधबार बिहान इन्डिया गठबन्धनको बैठक बोलाइएको छ। त्यसमा नीतीश कुमार र चन्द्रबाबु नाइडू पनि सहभागी हुने भएका छन्। त्यही बैठकले नयाँ सरकारबारे निर्णय गर्ने गान्धीको भनाइ थियो।
त्यस्तै, तृणमूल कंग्रेस अध्यक्ष ममता बेनर्जीले पनि मोदीलाई सरकारबाट हटाउन पहल गर्ने बताएकी छन्। पश्चिम बंगालका अधिकांश सीटमा अग्रता लिएपछि मंगलबार साँझ उनले जनतालाई धन्यवाद दिएकी छन्। “इन्डियाले जितेको छ, मोदीले हारेका छन्,” बेनर्जीले भनिन्, “मोदीले जनताको विश्वास गुमाएका छन्, उनले तत्काल प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्छ।”
उनले नयाँ सरकार गठनका लागि पहल गर्ने पनि बताइन्। “म मोदीलाई सरकारबाट बाहिर निकालेर इन्डिया गठबन्धनको सरकार बनाउन प्रयास गर्नेछु,” उनले भनिन्।
भाजपा नेतृत्वको गठबन्धनमा गएका नीतीश कुमार र चन्द्रबाबु नाइडूले समर्थन गरेमा कांग्रेस नेतृत्वको इन्डिया गठबन्धनको सरकार बन्ने सम्भावना देखिएको छ। इन्डिया गठबन्धनको सरकार बन्छ त भन्ने प्रश्नमा गान्धीले भने, “भोलि बिहान गठबन्धनमा रहेका र नरहेका पार्टीको बैठक बोलाएका छौं। भोलिको बैठकले नै निर्णय गर्नेछ।”
प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्स मार्फत आफ्नो भनाइ राख्दै जनताले एनडीएमाथि विश्वास गरेको जनाएका छन्। उनले जनताको इच्छा अनुसार राम्रो काम गर्दै जाने प्रतिबद्धता जनाएका छन्।
लोक सभा निर्वाचनमा प्रमुख दलका नेताहरूले जितेका छन्। प्रधानमन्त्री मोदी बनारस सीटबाट निर्वाचित भएका छन्। उनले कंग्रेसका अजय रायलाई एक लाख ५२ हजार ५१३ मतले पराजित गरेका छन्।
त्यस्तै, कंग्रेस नेता राहुल गान्धी वायनाड सीटबाट अत्यधिक मतले विजयी भएका छन्। उनी तीन लाख ६४ हजारभन्दा बढी मतले विजयी भएका हुन्। अर्को क्षेत्र रायबरेलीमा पनि उनी तीन लाख ९० हजार मतान्तरले निर्वाचित भएका छन्।
त्यस्तै, गत निर्वाचनमा गान्धीलाई हराएकी भाजपा नेत्री स्मृति इरानी अमेठीबाट हारेकी छन्। उनलाई कंग्रेसका किशोरी लाल शर्माले एक लाख ६७ हजार १९६ मतले पराजित गरेका हुन्।
भाजपा नेता एवं गृहमन्त्री अमित शाह पनि गान्धीनगरबाट विजयी भएका छन्। उनी सात लाख ४४ हजार मतान्तरले निर्वाचित भएका हुन्।
यसैगरी, अभिनेत्री कंगना रनौत हिमाचल प्रदेशको मन्डी सीटबाट निर्वाचित भएकी छन्। उनी ७४ हजार ७५५ मतान्तरले विजयी भएकी हुन्।